माकुरीकी आमा

माकुरीकी आमा

नन्दु उप्रेती  |  साहित्य  |  जेठ १, २०७८

'आमा π
भोक लाग्यो ।' 
फुलबाट निस्कने बित्तिकै 
सबै बच्चाहरूले एकै स्वरमा  आर्तनाद गरे 
सयौँ नानीहरूलाई एकैचोटी कसरी  खुवाउने  ?
के खुवाउने उनीहरूलाई ?
मायासँगै खोलिदिइन् आमाले
मुटुभित्र जोगाइ राखेकाे  महजस्तै मीठो अमृतको भाँडो ।

सिध्दिएपछि अमृत 
भोलिपल्ट पनि भोक लाग्यो नानीहरूलाई 
'ल बिस्तारै   यसैलाई खाऊ' 
आफ्नै  शरीरको एउटा अङ्ग दिइन् आमाले 
अर्को दिन फेरि भोक लाग्यो नानीहरूलाई 
खुशी हुँदै अर्को अङ्ग पनि दिइन् आमाले ।
 
आमाका अङ्गहरू खाएर  हुर्कदै गए नानीहरू
 रमाउँदै दौडन थाले वरपर 
अब आमाको सानो टाउको मात्र बाँकी रह्यो 
नानीहरू आत्तिए,
'अहो π
आमा π
टाउको मात्र बाँकी छ 
तपाईँ त सकिनै लाग्नु भयो ।'

आमाले मुस्कुराउँदै  भनिन् 
'म एक्ली थिएँ 
अब हेर त तिमीहरू सयौँ छौ 
म सकिएकी हैन 
म स्वयम् तिमीहरू भइरहेकी छु
ल  अब अलिकति बाँकी रहेको यो टाउको पनि खाऊ ।'  

सृजनानगर, भक्तपुर