जीवन मुकारुङ अर्थात् लाहुरे सर्जक
जेठ १, २०७८

सामान्यतया हेर्दा लाहुरे र सिर्जना बिल्कुल फरक फरक आधार तथा क्षेत्र हुन । तर, जीवन मुकारुङका सन्दर्भमा भने यो कुरा लागू हुँदैन । 

एउटा सामान्य लाहुरे तथा किसान परिवारको पृष्ठभूमि भएको मानिस लाहुरे हुँदै गायक, गीतकार, संगीतकार, लेखक अनि निर्देशकसम्म हुनुले उहाँको आफ्नो क्षमताको राम्रो परिचय दिन्छ । 

मानिस केही हुनका लागि पारिवारिक पृष्ठभूमि भन्दा पनि उसको आफ्नो लगन, मेहनत र चाहनामा भर पर्छ भन्ने कुरा मुकारुङको यो  जीवन कथा पढेपछि थप प्रष्ट्याइ रहनु पर्दैन होल, सायद । 

पारिवारिक अवस्था

उहाँको बुवा इण्डियन आर्मी । आमा भने गाँउघरमा सामान्य खेतीपातीदेखि घरधन्दामा नै व्यस्त । गाउँको सामान्य किसान परिवार नै हो उहाँको । बुवा पनि रिटायर्ड भएर गाउँमा आएपछि भने पुनः खेतीपातीमा नै व्यस्त रहनु भयो । 

जन्म र बाल्यकाल

उहाँको जन्म २०३० सालमा भएको हो । सविक पाँचथरको सराङ डाँडा  हाल भने मिक्लाजुङ गाउँपालिका । उहाँका एक दिदी तथा एक बहिनी साथै तीन भाइ दजुभाइ ।  गाउँको बालकको बाल्यकाल जसरी सामान्य तरिकाले बित्नुपर्ने हो, उहाँको पनि त्यसैगरि बितेको हो बाल्यकाल । तर, अन्तर के रह्यो भने घरमा खेतीपातीको काममा भने अलि धेरै नै व्यस्त रहनु पर्ने हुन्थ्यो । कहिले काँही त काम गर्ने मान्छे नहुँदा स्कुल छोडेर भएपनि पाकेको बाली भित्र्याउनु पर्ने वाध्यता थियो, उहाँ भन्नुहुन्छ । 

प्रारम्भिक शिक्षा

उहाँको प्रारम्भिक शिक्षा घर नजिकै रहेको भगवती प्राविबट भएको हो । कक्षा एकदेखि पाँचसम्म । अन्यत्र भन्दा उहाँले प्रारम्भिक शिक्षा हासिल गरेको भगवती प्रावि भने भवन तथा फर्निचरका हिसाबले राम्रो थियो । 

बस्ने डेस्क बेञ्च पनि निकै राम्रा थिए । यसको कारण भने काठपात प्रशस्त पाइने तथा गाउँलेले श्रमदान पनि गरेकाले विद्यालय राम्रो भएको रहेछ ।  उहाँको कक्षामा झण्डै तीस जना हुन्थे । गाउँमा अन्यत्र नजिक विद्यालय नभएका कारण यस्तो भएको रहेछ । छोरीलाई पनि पढाउनु पर्छ भन्ने चेतना आइसकेको हुनाले छात्राहरु पनि आठ दश जनाको संख्या  हुने गर्थ्यो। 

उहाँको बसाइ भने लास्ट बेञ्चमा  हुने रहेछ । यसो फट्याँइ गरिहाले पनि सरहरुले नदेखोस भन्ने कारणले त्यसो भएको रहेछ । प्राथमिक तह भने निःशुल्क नै रहेछ ।  कक्षा छ देखि भने उहाँ जयनारायण आर्दश मावि मेलबोटेमा पढ्नु भएको हो । विद्यालय भने घरबाट झण्डै दुइ घण्टाको दूरीमा थियो । टाढा भएका कारणले नै उहाँले आवासीय रुपमा नै विद्यालयमा पढ्नु भएको हो । 

उहाँको कक्षामा झण्डै पचास, साठी जना विद्यार्थी हुन्थे । छात्राहरु भने झण्डै पन्ध्र, सोर्ह जना । उहाँ पढाइमा त्यति अब्बल होइन । र, सार्है लद्दु पनि होइन । रोल नम्बर झण्डै चार पाँचमा आउँथ्यो । बस्न भने यही बेञ्च भन्ने रहेन । कहिले अगाडी, कहिले पछाडि । फी भने तीस रुपियाँ तिरेजस्तो लाग्छ उहाँलाई । 

स्कुलमा हुने अतिरिक्त क्रियाकलापमा भने उहाँ फुटबल, भलिबल तथा एथलेटिक्समा सहभागी हुनुहुन्थ्यो । एथलेटिक्सका एकसय, दुइसय र चारसय मिटरका सबै प्रतियोगितामा उहाँ भाग लिनुहुन्थ्यो । 

एउटा सुपर मार्केटमा घुम्न पनि निस्कनु भएको थियो । उक्त स्टोर भारतीयको रहेछ । मालिकले हिन्दीमै बोलाएर काम गर्ने हो भनेर सोधे पनि । उहाँलाई पनि एक मन त गरौं कि जस्तो नलागेको होइन । तर, अर्को मनले के कामका लागि गएको के गर्ने भन्यो । अहिले उहाँको पेन्सन भएको छ । अरु सबै सुविधा पाउनु भएको छ । अलि भने त्यतिखेर उक्त सुपर मार्केटमा नबसेर सही निर्णय गरिएछ भन्ने लाग्छ रे उहाँलाई । 

उहाँले २०४७ सालमा एसएलसी दिनुभएको हो । तर, उहाँ उर्तीण हुन सक्नुभएन र कम्पार्टमेण्ट परीक्षा दिनुभयो अंग्रेजी विषयको । यसपटक भने उहाँ पास हुनुभयो । त्यसबेला एसएलसी दिने उनान्साठी जना थिए । त्यसमध्ये फस्र्टब्वाई एकजना मात्र पास भए । कम्पार्टमेण्ट दिने नौ जना थिए । ती सबै पूरक परीक्षामा पास भए । 

उहाँ इलाम बहुमूखी क्याम्पस पढ्ने सुरसारमा हुनुहुन्थ्यो । तर, पढाइमा भन्दा लाहुरे हुने इच्छाले बढी गाँज्यो । त्यसको कारण एक त बुवा पनि लाहुरे । अनि गाउँमा हुने लाहुरेको जीवन शैलीका कारण पनि त्यसबखत धेरै युवालाई लाहुरे हुन प्रेरित गर्ने उहाँ बताउनुहुन्छ । 

लाहुर यात्रा

उहाँ २०५० सालमा सिंगापुर पुलिसमा भर्ना हुनुभएको हो । पहिले यसका लागि गाउँको गल्लावालले छनौट गर्थ्यो । त्यसपछि 'एरो सेलेक्सन' भन्ने हुन्थ्यो । त्यो भने दुइ तीनवटा जिल्लाको एकै ठाउँमा हुने गर्थ्यो । अनि त्यसपछि 'गेटपास' पाइसकेपछि भने पोखरामा छनौट हुने गर्थ्यो। उहाँ भने पहिलो पटक नै छनौट हुनुभएको हो । 

उहाँ त्यसभन्दा अगाडि काठमाडौँ पनि आउनु भएको थिएन । छनौट भइसकेपछि पोखराबाट काठमाडौँ आउनु भयो । करिब पन्ध्र दिन काठमाडौँमा ब्रिटिश क्याम्पमा बस्नुभयो । खासै घुमाइ भएन । क्याम्पबाट जता लग्यो उतै मात्र घुमाइ भयो । 

त्यसपछि भने उहाँ जानुभयो सिंगापुर । त्यसभन्दा अगाडि जाने सिनियर साथीहरुले सिंगापुर गर्मी हुन्छ भनेका थिए । तर, एअरपोर्टमा भने एअर कण्डिसनका कारण चिसो थियो । त्यो कुरा उहाँलाई थाहा भएन । उहाँलाई सिनियरहरुले त झुटो पो बोलेछन् । तर, जब सिंगापुरको एअरपोर्ट बाहिर निस्कनुभयो, एकैपटक हप्प गर्मी भयो । 

उहाँलाई सिंगापुरको एअरपोर्ट देखेरै छक्क लागेको थियो त्यसबेला । विकास त के कुरा गर्नु, त्यसको तुलना नै हुन सक्दैन उहाँ भन्नुहुन्छ । सडक, यातायात, भवन जे हेरेपनि उत्तिकै सफा र सुन्दर । 

उहाँले त्यसपछि नौ महिना तालिम गर्नुभयो । तालिम भने निकै गार्हो रह्यो । तर, त्यसपछाडि आ-आफ्नो कम्पनीमा आएपछि भने काम सँगै घुम्न फिर्न पनि पाइने हुँदा रमाइलो भयो, उहाँ भन्नुहुन्छ । 

सिंगापुर पुलिस भने प्यारा मिलिट्रि जस्तो फोर्स हो, उहाँ भन्नुहुन्छ, जसले पुलिस तथा आर्मी दुवैको काम गर्नुपर्ने हुन्छ । उहाँले पच्चीस वर्ष सिंगापुर पुलिसमा काम गर्नुभयो । सन् २०१८ मा अवकाश प्राप्त गरेर उहाँ आफ्नो पच्चीस वर्षे सेवाबाट निवृत हुनु भएको हो । 

स्मरणीय घटना 

यस दौरान भएका केही स्मरण योग्य घटना यस्ता छन् । कुरो सन् १९९९ को हो । उहाँ त्यसबेला तालिमका लागि अमेरिका जाँदै हुनुहुन्थ्यो । त्यसबेला मास्टर कार्ड र भिसा कार्डको प्रचलन थिएन । पैसा जति चाहिने हो खल्तीमै बोक्नुपर्थ्यो । 

उहाँ लस एन्जेल्सदेखि सिग्नोलिस गएपछि फ्लाइट छुट्यो । अमेरिकामा फ्लाइट समात्नु भनेको यहाँ बस समात्नु जस्तै रहेछ, उहाँले भन्नुभयो । त्यो गैरहने अनुभवी मान्छेलाई भने ठीक हुने अन्यलाई भने यसो सोधखोज गर्दागर्दै छुट्ने । 

तीनघण्टा पछि मायामी त पुग्नुभयो । तर, फेरि बेलिज जाने फ्लाइट छुट्यो । त्यसपछि त्यहाँ दुई हप्ता बस्नुपर्ने भयो । भातको १६ डलर । एक बोतल पानीलाई एक डलर तीस सेन्ट । तर, बियर भने एक डलर मात्रै । एक हप्ता त बियर खाएर मात्रै बसियो उहाँ भन्नुहुन्छ । दुइ हप्तामा लगेको गोजीको पैसा सबै सकियो । 

त्यसबेला उहाँ एउटा सुपर मार्केटमा घुम्न पनि निस्कनु भएको थियो । उक्त स्टोर भारतीयको रहेछ । मालिकले हिन्दीमै बोलाएर काम गर्ने हो भनेर सोधे पनि । उहाँलाई पनि एक मन त गरौं कि जस्तो नलागेको होइन । तर, अर्को मनले के कामका लागि गएको के गर्ने भन्यो । अहिले उहाँको पेन्सन भएको छ । अरु सबै सुविधा पाउनु भएको छ । अलि भने त्यतिखेर उक्त सुपर मार्केटमा नबसेर सही निर्णय गरिएछ भन्ने लाग्छ रे उहाँलाई । 

बेलिजबाट फर्कँदाको फ्लाइट ३२ घण्टाको हो । खल्तीमा एक पैसा थिएन । अनि फ्लाइटमा जे खान दियो त्यतिले मात्र गुजारा गरेर उहाँ सिंगापुर फर्कनु भएको रहेछ, जसलाई उहाँ जीवनकै अविस्मरणीय घटनाको रुपमा चित्रण गर्नुहुन्छ । 

उहाँले पच्चीस वर्ष सिंगापुर पुलिसमा सेवा गरेर सन् २०१८ मा सेवा निवृत हुनु भयो ।  सिंगापुर सानो भएपनि बहुजाती, बहुभाषी र बहुधार्मिक मुलुक हो । त्यहाँ मलेसियन, सिंगापुरियन, चाइनिज, , भारतीय लगायतकाहरुको बसोबास छ । भाषाको सन्दर्भमा पनि जात जस्तै बेग्लै बेग्लै रहेको छ र धर्म पनि हिन्दु, मुस्लिम, क्रिस्चियन आदि रहेका छन् । 

वास्तवमा गोर्खा कन्टिन्जेन्ट त्यहाँ राख्नुको कारण भने यदि जात, भाषा अनि धर्मका कारण दङ्गा भैहालेका खण्डमा त्यसलाई नियन्त्रण गर्न अर्को एउटा तटस्थ सैन्य बल आवश्यक पर्छ भन्ने हिसाबले राखिएको हो । साथै भिभिआइपीको निवास तथा अफिसको सुरक्षा प्रबन्धका लागि पनि गोर्खाली अर्ध सैन्य बल राखिएको हो । 

उहाँको ड्युटी पनि यस्तैमा रहेको थियो । ड्युटीका क्रममा त्यहाँ हुने अन्तराष्ट्रिय बैठकमा भाग लिन आएका विश्वका ठूला नेताहरुलाई उहाँले प्रत्यक्ष देख्ने अवसर समेत पाउनु भएको छ । जसमा पूर्व अमेरिकी राष्ट्रपति जर्ज बुश तथा बाराक ओबामा, सि जिन पिंग आदि ।

उहाँले नेपालका पूर्व प्रधानमन्त्री गिरिजा प्रसाल कोइरालालाई प्रत्यक्ष देखेको पनि सिंगापुमा ड्युटी गर्ने क्रममा नै हो । उहाँलाई कसैले आज तिम्रो देशको प्रधानमन्त्री आउँदैछन भनेर भन्यो । सिंगापुरका प्रधानमन्त्रीले अक्सर कसैलाई पनि उनको अफिसमा तल झरेर लिफ्टमा लिन आउँदेनन् ।  तर, गिरिजा प्रसाद कोइरालाको समयमा उनी तल झरेर लिन आए । अनि त्यसबेला नेपालको झण्डा समेत फहराइएको थियो । त्यस बेला उहाँको आँखामा हर्षको आँसु थामिएन । यो घटना पनि उहाँको स्मरणमा ताजा रहिरहने अर्को घटना हो । 

गीत / सङ्गीत तर्फको यात्रा

उहाँ सिंगापुरमा कार्यरत रहँदा नै गीत लेख्न थाल्नु भएको हो । २०५२ सालमा उहाँको गीत पहिलो पटक रेकर्ड भएको हो । जुन शम्भु राइको स्वरमा रेकर्ड भएको हो । पछि २०५४ सालमा उहाँले एल्बम समेत निकाल्नु भयो । त्यसपछि उहाँले २०५९, २०७१ तथा २०७५ मा अरु एल्बम निकाल्नुभयो । 

उहाँ सङ्गीत समेत गर्नुहुन्छ । २०५८ सालमा उहाँको सङ्गीतमा गायक अशोक मुकारुङले एउटा गीत गाउनु भएको छ ।उहाँले २०७१ सालमा एउटा गीतको पुस्तक समेत प्रकाशन गर्नुभएको छ । भने एउटा संस्मरणको पुस्तक समेत अर्को वर्ष प्रकाशन हुने क्रममा रहेको बताउनु हुन्छ । 

उहाँलाई भिडियोग्राफी तथा एडिटिङ्गमा समेत रुचि रहेको छ । सिक्न त उहाँले सिंगापुरमा कार्यरत रहँदा नै यो सबै सिक्नुभएको हो । तर, काम एकातिर अनि यी सबैका लागि समय नभएका कारण यसको रुचि तथा शौख भने हाल पुरा गर्दै हुनुहुन्छ ।  उहाँले दश, बाह्रको संख्यामा म्युजिक भिडियो निर्देशन समेत गर्नुभएको छ । त्यतिकै संख्यामा गीत समेत गाउनु भएको छ । 

पुरस्कार  

२०६१ सालमा आदिवासी गीतकार संघबाट उहाँले युवा गीतकार पुरस्कार प्राप्त गर्नुभएको थियो । २०७२ सालमा उहाँले गीतकार संघबाट पुस्तक पुरस्कार समेत प्राप्त गर्नुभएको छ ।