प्रा.डा.चन्दा कार्की | साहित्य | जेठ १, २०७८
बुझाऊँ यो मनका कुरा म कसरी,
नबोली तिमीले नि बुझ्ने गर न,
म नै कति बह पोखिरहूँ सधैँ,
तिमी पनि कहिलेकाहीँ प्रस्ट खुलिदेउन्।
बाटो किन हाम्रो छुट्टिएछ यस्तरी,
शायद फेरि अब कहिले भेट नहोला,
आँचल तिम्रो फुस्किएछ हातबाट नजानी,
फेरि त्यो माया पकड्मा आउला नाउला ।
सम्हालूँ म यो आफ्नो मनलाई कसरी,
कसैले मलाई अब त सम्झाइ देउन्,
म नै सधैँ कति फकाइ रहूँ तिमीलाई,
तिमीले नि कहिले मलाई मनाउने गरन् ।
अचानक उछिट्टिएर पर तिमी पुग्यौ जसरी,
अपशब्द कहिले मबाट निस्कन्नन् त्यसरी,
छाती भित्र मेरो खोजेर हेर तिमी बेस्करी,
तिम्रै सुन्दरता पाउँछौ त्यहाँ यसका हर खण्ड भरी।
पर पुगी मबाट तिमी बेखबर भयौ जसरी,
सायद मलाई तिमीले अब चिन्दैनौ होला त्यसरी ,
उभिएर मौन दर्शक बनी रह्यौ तिमी नसोची,
फेरि यी आँसु तिमीले पुछ्न सक्दैनौ घरीघरी ।
सोच्छु टाढा बसी अब सधैँ म बाँचूँ कसरी,
नजिक आउने कुनै बाटो तिमीले नै कोर न,
म नै पहिले तिमीसँग रिसाएको भए नि,
अधिकार जताई तिमीले बल गरी फकाई देउन्।
नङ र मासुको नाता म बिर्सनु कसरी,
तिमीले नै मलाई आज बुझाई देउन्,
नोक झोँक त परि नै रहन्छ नि जीवनीमा,
सम्बन्ध यो च्वाट्टै यसरी तिमीले न चुँडाली देउन् त्यसरी ।