तरल अक्सिजन आयात गर्ने तयारी

तरल अक्सिजन आयात गर्ने तयारी

लोकसंवाद संवाददाता  |  स्वास्थ्य  |  जेठ २, २०७८

काठमाडौं । कोरोना महामारीका बेला अक्सिजनको अभाव देखिएपछि नेपाल आयल निगमले तरल अक्सिजन आयात गर्ने तयारी अघि बढाएको छ । पेट्रोलियम पदार्थको आयात र बिक्री वितरण गर्दै आएको निगमले वर्तमान अवस्थालाई ध्यानमा राखी तरल अक्सिजन आयातमा समन्वय गर्न लागेको जनाइएको छ ।

भारतबाट तरल अक्सिजन खरिदका लागि नेपाल आयल निगमले इन्डियन आयल कर्पोरेसनलाई पत्राचार गरेको छ । यस्तै निगमले खरिद गर्नका लागि सरकारको अनुमति चाहिने भएकाले अनुमतिका लागि निगमले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा पनि पत्राचार गरेको जनाएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँग पनि छलफल गरिएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिनुभयो । प्रवक्ता उपाध्यायका अनुसार महामारीमा अहिले अक्सिजनको अभाव छ । त्यसो भएको हुनाले निगमले तरल अक्सिजनका लागि समन्वय र  सहजीकरण गर्न खोजेको उपाध्यायको भनाइ छ ।  आपूर्ति मन्त्रालयले अनुमति दिनुपर्छ, सरकारले अनुमति दिए हामीले ल्याउन पहल गर्ने उहााको भनाइ थियो । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।