ओली-नेपाल 'वान टु वान' भेटवार्ता : एमालेमा विवाद मिलाउन १० सदस्यीय कार्यदल

ओली-नेपाल 'वान टु वान'  भेटवार्ता : एमालेमा विवाद मिलाउन १० सदस्यीय कार्यदल

लोकसंवाद संवाददाता  |  समाचार  |  जेठ २, २०७८

काठमाडौँ ।सत्तारुढ नेकपा (एमाले) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीचको आज भेटवार्ताबाट पार्टीको विवाद समाधानका लागि १० सदस्यीय कार्यदल गठन गरिएको छ ।

कार्यदलमा अध्यक्ष ओलीका तर्फबाट संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङको नेतृत्वमा विष्णु पौडेल, प्रदीप ज्ञवाली, शङ्कर पोखरेल र विष्णु रिमाल हुनुहुन्छ भने नेता नेपालका पक्षबाट उपाध्यक्ष भीम रावलको नेतृत्वमा घनश्याम भुसाल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे र रघुजी पन्त रहनुभएको एमाले बरिष्ठ नेता माधव नेपालले सञ्चारकर्मीलाई जानकारी दिनुभएकाे छ ।

नेपालका अनुसार  कार्यदललाई तीन दिनको समय दिइएको र आवश्यकतानुसार थप्न सकिने बताउनुभयो । भेटवार्ताबाट निस्किएपछि अध्यक्ष ओलीले संक्षिप्त प्रतिक्रिया दिँदै छलफल ‘सकारात्मक’ भएको बताउनुभयो । पार्टीलाई सर्वोच्च अदालतको गत फागुन २३ को फैसला बमोजिम नेकपा (माओवादी केन्द्र) सँगको एकतापूर्व (२०७५ जेठ ३) को अवस्थामा पार्टीका सङ्गठन र संरचनालाई सञ्चालन गर्नुपर्ने आवाज नेता नेपाल पक्षले उठाउँदै आएको थियो ।