क्रिस्चियन धर्म प्रचारक विदेशी नागरिकसहित पाँचजना पक्राउ

क्रिस्चियन धर्म प्रचारक विदेशी नागरिकसहित पाँचजना पक्राउ

लोकसंवाद संवाददाता  |  समाचार  |  बैशाख १४, २०७६

दाङ । क्रिस्चियन धर्म प्रचारप्रसारमा संलग्न दुई विदेशी नागरिकसहित प्रहरीले घोराहीबाट बुधबार पाँचजनालाई नियन्त्रणमा लियो। अमेरिकी नागरिक सिनक्वान्टा ओलिएना मे, भारतीय नागरिक गौरव श्रीवास्तवसहित पोखराका डिल्लीराम पौडेल, संखुवासभाका कुन्साङ तामाङ र नेपालगन्जका प्रमोद काफ्लेलाई प्रहरीले ठूलो मात्रामा क्रिस्चियन धर्म प्रचार सामग्रीसहित नियन्त्रणमा लिएको थियो। जिल्ला प्रहरी कार्यालयका प्रमुख रहेका एसपी बेलबहादुर पाण्डेका अनुसार प्रहरीले उनीहरूको साथबाट एक कार्टुन बाइबल पुस्तक, पैसा राखिएका खाम, दमका उपचार सामग्री, ल्यापटप, पेनड्राइभलगायत सामग्री बरामद गरेको छ।

बिनाअनुमति नेपालमा आएर धर्मको प्रचारमा खटिएकी सिनक्वान्टालाई प्रहरीले आफ्नै रोहवरमा काठमाडौं अध्यागमन कार्यालयमा पठायो। अमेरिका फिर्ताका लागि अनुरोधसहित अध्यागनमा पठाइएकी उनलाई त्यत्तिकै छाडिएको खबर आफूले पाएको एसपी पाण्डेले बताए। ‘हामीले प्रहरीकै रोहवरमा उनलाई अमेरिका फिर्ताका लागि अध्यागमन कार्यालयमा पठाएका हौँ,’ उनले भने, ‘मलाई लाग्छ, उनलाई त्यत्तिकै छाडिएको छ।’ पक्राउ परेका भारतीय नागरिकसहित चारजनालाई भने धर्म परिवर्तन गराएको अभियोगमा मुद्दा चलाइएको छ।

यसअघि अनलाइन स्टडीका लागि भन्दै जिल्लामा धर्म प्रचार गर्दै आएका दुई जापानी नागरिकलाई प्रहरीले निगरानीमा राखेको थियो। ‘हामीले उनीहरूलाई प्रहरीको सम्पर्कमा रहनू भनेर भनेका थियौं,’ एसपी पाण्डे भन्छन्, ‘कारबाही हुने डरले उनीहरू डेरै छाडेर भागे। हामीले उनीहरूबारे अनुसन्धान गरिरहेका छौं।’ यस्तै प्रहरीको निगरानीमा रहेकी अर्की एक अमेरिकन नागरिक पनि भागिरहेको उनको भनाइ छ। यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।