नेपालकाे आर्थिक वृद्धि ७ प्रतिशतनजिक

नेपालकाे आर्थिक वृद्धि  ७ प्रतिशतनजिक

लोकसंवाद संवाददाता  |  समाचार  |  बैशाख १४, २०७६

काठमाडाैं । केन्द्रीय तथ्यांक विभागले चालू आर्थिक वर्ष ०७५/७६ मा ६ दशमलव ८१ प्रतिशत (आधारभूत मूल्यमा) आर्थिक वृद्धि हुने प्रक्षेपण गरेको छ । यससँगै नेपालले लगातार तेस्रो वर्ष ६ प्रतिशतभन्दा उच्च आर्थिक वृद्धिदर हासिल गर्ने देखिएको छ । नेपालले गत आर्थिक वर्ष ०७४/७५ मा ६ दशमलव ३ प्रतिशत र त्यसअघि ०७३/७४ मा ७ दशमलव ७४ प्रतिशत वृद्धिदर कायम गरेको थियो । 

शुक्रबार विभागको तथ्यांक सार्वजनिक गर्दै राष्ट्रिय योजना आयोगका सदस्य डा. रामकुमार फुयाँलले आर्थिक क्रियाकलापमा निरन्तर वृद्धि भइरहेकाले त्यसले अर्थतन्त्रको विकासमा सकारात्मक योगदान गरिरहेको बताए । सरकारले यस आर्थिक वर्षमा आठ प्रतिशत आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्य बजेटमा लिएको थियो । तर, अर्थमन्त्री डा. युवराज खतिवडाले बजेटको मध्यावधि समीक्षामा सातदेखि आठ प्रतिशतको आर्थिक वृद्धिदर प्राप्त हुने बताएका थिए । विभागको प्रक्षेपण पनि सात प्रतिशतको नजिक हुने देखिएको छ । 

बजार मूल्यअनुसार मुलुकको आर्थिक वृद्धिदर ७ दशमलव ०५ प्रतिशत हुने प्रक्षेपण पनि तथ्यांक विभागको छ । आधारभूत मूल्यको कुल गार्हस्थ उत्पादन (जिडिपी)मा कर र अनुदान जोडेपछि आउने वास्तविक जिडिपी बजार मूल्यमा आउने गर्छ । अन्तर्राष्ट्रिय रूपमा आर्थिक वृद्धिदर तथा प्रतिव्यक्ति आम्दानीको गणना तथा तुलना गर्न यही जिडिपी प्रयोग गरिन्छ । बजार मूल्यका आधारमा मुलुकमा गत आवमा ६ दशमलव ६६ र त्यसअघिको वर्षमा ८ दशमलव २२ प्रतिशत आर्थिक वृद्धि भएको पनि तथ्यांक विभागले सार्वजनिक गरेको छ । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।