घट्न थाल्यो संक्रमण र मृत्यु

घट्न थाल्यो संक्रमण र मृत्यु

लोकसंवाद संवाददाता  |  समाचार  |  जेठ ३, २०७८

काठमाडौं । कोरोना भाइरसबाट हुने दैनिक संक्रमण र मृत्युदर केही दिनयता घट्न थालेको छ। यससँगै निको हुनेको संख्या बढ्न थालेको छ। पछिल्लो २४ घण्टामा मुलुकभर आइतबार ७ हजार ३ सय ६८ संक्रमित थपिएका छन्। यही अवधिमा १ सय ४५ जनाको मृत्यु भएको छ। ६ हजार ६ सय ४८ जना निको भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

यसअघि शनिबार ८ हजार १ सय ६७ जनामा कोरोना पुष्टि भएको थियो। १ सय ८७ जनाको ज्यान गएको थियो। ५ हजार ४ सय ५५ जना निको भएका थिए। मन्त्रालयको तथ्यांकअनुसार आइतबारसम्म सक्रिय संक्रमितको संख्या १ लाख १० हजार २ सय ६३ पुगेको छ। मृतकको संख्या ५ हजार १ पुगेको छ। ३ लाख ३९ हजार ७ सय ५६ जना निको भएका छन् ।

मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले निषेधाज्ञामा कडाइका कारण संक्रमण र मृत्यु हुनेको संख्या घट्न थालेको बताउनुभएको छ । । ‘एक सातायताको तथ्यांक हेर्ने हो भने कोरोना संक्रमण र मृत्युदर घट्न थालेको छ’, प्रवक्ता डा.गौतमले भन्नुभयो , ‘सहरी क्षेत्रमा निषेधाज्ञा गरेका कारण संक्रमित हुने र मृत्यु हुनेको दर घट्न थालेको छ।’ 

ओम अस्पतालका डा. परशु घिमिरेले भने कोरोनाको ग्राफ घट्यो भनेर अहिले नै ढुक्क हुन नसकिने बताउनुभएको छ । ‘म संक्रमित र मृत्यु हुनेको संख्या घट्यो भन्ने मान्न तयार छैन। जो मानिस घर वा अस्पताल आउनुभन्दा अगाडि नै बितेका छन्। उनीहरूको गणितीय संख्या अहिले आइरहेको संख्यामा गणना हुँदैन’, डा.घिमिरेलेभन्नुभयो , ‘जसलाई लक्षणहरू देखिएका छन्। उहाँहरू मात्रै परीक्षणका लागि आइरहनुभएको छ।’

डा.घिमिरेले अहिले पनि नेपाल कोरोना संक्रमणको ‘पिक’मै रहेको दाबी गरे। यो समाचार अन्नपूर्ण पोस्टमा छ ।