‘कोभिड नियन्त्रणमा स्थानीय तहले सक्रियता बढाऔँ’ : प्रतिनिधिसभा सदस्य भट्टराई

‘कोभिड नियन्त्रणमा स्थानीय तहले सक्रियता बढाऔँ’ : प्रतिनिधिसभा सदस्य भट्टराई

लोकसंवाद संवाददाता  |  समाचार  |  जेठ ३, २०७८

ताप्लेजुङ । नेकपा ९एमाले०का नेता तथा प्रतिनिधिसभा सदस्य योगेश भट्टराईले कोरोना सङ्क्रमणको रोकथाम तथा नियन्त्रणका लागि गृह जिल्लाका स्थानीय तहलाई सक्रियताका साथ लाग्न आग्रह गर्नुभएको छ । 

कोभिड रोकथाम तथा व्यवस्थापनसम्बन्धी आज जिल्लाका सरोकारवालासँगको भर्चुअल अन्तरक्रिया कार्यक्रममा उहाँले सङ्क्रमणको रोकथामका लागि स्थानीय स्तरबाट हुन सक्ने सबै किसिमका गतिविधि सञ्चालन गर्न आग्रह गर्नुभयो । 

सङ्क्रमणको दर बढ्दो अवस्थामा रहेकाले आइसोलेशन निर्माण गर्नेदेखि लिएर यसबाट बच्ने उपायका सन्दर्भमा घरघरमा पुगेर जनचेतना फैलाउनुपर्ने आवश्यकता देखिएको समेत उहाँको भनाइ छ । प्रत्येक वडाका वडाध्यक्षले आफ्नो नेतृत्वमा स्वास्थ्यकर्मीसहितको टोली तयार गरी घरघरमा गएर सङ्क्रमणबाट बच्ने उपायका सन्दर्भमा जानकारी गराउन सके नागरिक सङ्क्रमणबाट बच्न सक्ने बताउनुभयो । 

अहिलेको परिस्थितिमा आवश्यक बजेट व्यवस्थापन गरी आइसोलेशन निर्माणलगायत कोभिडको रोकथामका लागि अन्य कार्यक्रम बन्न सके भयाभव अवस्थाबाट बच्न सकिनेमा उहाँको विश्वास छ । 

यस्तै जिल्ला अस्पतालमा बिरामीको चाप बढेको खण्डमा स्थानीय तहका स्वास्थ्यका कर्मचारीलाई लिएरसमेत काम गर्न सकिने पूर्वमन्त्रीसमेत रहनुभएका उहाँले बताउनुभयो । कोभिड नियन्त्रण तथा व्यवस्थापनका लागि एकीकृत आइसोलेशन निर्माण, छिटोछरितो रुपमा परीक्षण, स्वास्थ्य क्षेत्रमा आवश्यक स्वास्थ्य उपकरणको व्यवस्थापनलगायतमा प्रदेश तथा केन्द्र सरकारसँग समन्वय गरेर सहयोग गर्ने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।