आशाको वर्ष २०७६ : विकासका कामले गति लिने अपेक्षा

आशाको वर्ष २०७६ : विकासका कामले गति लिने अपेक्षा

लोकसंवाद संवाददाता  |  समाचार  |  बैशाख १४, २०७६

काठमाडाैं । आर्थिक वर्ष ०७६/७७ देशको १५औँ योजना कार्यान्वयनको पहिलो वर्ष हो । सरकारले १५औँ योजना अवधिभर आर्थिक वृद्धिदर औसत वार्षिक ९.२ प्रतिशत पुर्‍याउने लक्ष्य लिएको छ । ०७६ को सुरुमै नेपालकै पहिलो स्याटेलाइट प्रक्षेपण, भेरी–बबई सुरुङको ब्रेक थ्रु र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको रनवे तयार भयो । निजी क्षेत्रले निर्माण गरेका दुई पाँचतारे होटेल मारियोट र सोल्टी पनि नयाँ वर्षको सुरुदेखि औपचारिक सञ्चालनमा आए । प्रधानमन्त्री केपी ओली र अर्थमन्त्री डा. युवराज खतिवडाले अब विकासले गति लिने दाबी गर्दै आएका छन् । निर्माणका क्रममा रहेका र यसै वर्ष सम्पन्न हुने सूचीमा रहेका परियोजनाको प्रगतिले पनि वर्ष ०७६/७७ आशालाग्दो देखिन्छ ।

इन्डियन आयल कर्पोरेसन (आइओसी)को सहयोगमा निर्माणाधीन मोतीहारी–अमलेखगन्ज पाइपलाइन दुई महिनाभित्रै सम्पन्न हुँदै छ । आइओसीको बिहार पाइपलाइन परियोजना हेर्ने महाप्रबन्धक एनके पन्डाका अनुसार १५ असारभित्रै पाइपलाइनबाट तेल ढुवानी हुनेछ । दक्षिण एसियाकै पहिलो अन्तरदेशीय यो पाइपलाइन ६९ किलोमिटर लामो हुनेछ ।

पाइपलाइनबाट डिजेल ल्याउन सुरु गरिएपछि वार्षिक दुई अर्ब ढुवानी खर्च जोगिने निगमका पेट्रोलियम पाइपलाइन परियोजना प्रमुख तथा अमलेखगन्ज डिपो प्रमुख प्रदीप यादवले बताए । त्यसपछि पेट्रोल ढुवानीको प्रक्रिया पनि सुरु हुनेछ । ढुवानी खर्च र तापक्रमका कारण हुने क्षति घट्दा उपभोक्ताले प्रतिलिटर तीनदेखि चार रुपैयाँ कममा डिजेल पाउने सम्भावना हुने यादवले बताए । परियोजनाको लागत पाँच अर्ब १८ करोड रुपैयाँ पुगेको छ । यो समाचार नयाँ पत्रिका दैनिकले प्रकाशित गरेको छ ।