इजरायल–प्यालेस्टाइन आक्रमण र प्रतिकार : इजरायलभित्रै गृहयुद्धको सम्भावना !

इजरायल–प्यालेस्टाइन  आक्रमण र प्रतिकार : इजरायलभित्रै  गृहयुद्धको सम्भावना !

लोकसंवाद संवाददाता  |  विदेश  |  जेठ ४, २०७८

इजरायली सैनिक र प्यालेस्टाइन बिच जारी हिंसा गाजा हुँदै वेस्ट बैंकसम्म फैलिसकेको छ । वेस्ट बैंक र गाजा क्षेत्रमा इजरायली सेनाले गरेको कारबाहीका क्रममा हालसम्म २०० प्यालेस्टिनी र १० जना इजरायलीको मृत्यु भइसकेको छ । 

इजरायली आक्रमणमा मारिएकामध्ये ५९ जना बालबालिका, ३५ जना महिला छन्। हमास नेतृत्वको सरकारको स्वास्थ्य मन्त्रालयका अनुसार यो हमलामा १३ सयभन्दा बढी घाइते भएका छन्। इजरायलले भने १३० जना चरम पन्थी मारिएको बताएको छ । तर हमास प्यालेस्टिनीका लागि आतङ्कवादी नभएर भूमिको आफ्नो अधिकारका लागि लडिरहेको सङ्गठनका रुपमा बताउँदै आएको छ  । 

इजरायली सेनाले गाजा क्षेत्र र वेस्ट बैंकमा जारी आक्रमणमा गोला बारुद, ट्याङ्क, अश्रुग्याँस र रबरका गोली प्रयोग गरिरहेको छ भने प्यालेस्टिनीले पेट्रोल बम प्रयोग गरिरहेका छन् । गाजा क्षेत्रबाट हमासले इजरायलतर्फ रकेट हमला गरिरहेको छ । वेस्ट बैंकमा लगातार गम्भीर हिंसाका घटनाहरू भइरहेका छन्। सन् २०१७ पछि यो क्षेत्रमा सबैभन्दा  हिंसा र आक्रमण जारी छ । गत शुक्रवार इजरायली सेना र प्यालेस्टिनीबिच पूर्वी जेरुसेलममा हिंस्रक सङ्घर्ष सुरु भएको थियो । यो आक्रमण र प्रत्याक्रमण बिस्तारै अन्य इलाकामा पनि फैलिसकेको छ । 

अल–अक्सा मस्जिदमा इजरायली सेनाले जसरी कारबाही गरेको छ, त्यसबाट इजरायलमा बस्ने अल्पसङ्ख्यक अरब समुदाय आक्रोशित छन् । जसका कारण इजरायलले आन्तरिक तनावको पनि सामना पहिलो पटक गर्नुपरेको छ । इजरायल र प्यालेस्टाइनबिचको जारी विवादले जेरुसेलमको जमिनको विवाद र पवित्र धार्मिक स्थललाई लिएर इजरायल र प्यालेस्टाइनबीचको पुरानो विवादलाई पनि सतहमा ल्याइदिएको छ ।

गाजा क्षेत्रमा सरकार सञ्चालन गरिरहेको हमासले इजरायली सेनालाई जेरुसेलमको अल–अक्सा मस्जिदबाट पछि हट्न धम्की दिएको थियो । त्यसपछि हमासले इजरायली भूमिमा रकेट हमला गर्‍यो । त्यसको जवाफमा इजरायली सेनाले पनि हवाई हमला सुरु गरेपछि अन्तर्राष्ट्रिय समुदायको अपिलका बाबजुद यो क्षेत्रमा हिंसा बढी रहेको छ । 

इजरायलले गरिरहेको हमलाको विरोधमा जोर्डन, लेबनानसहित विश्वका मुस्लिम समुदायले विरोध गरेका छन्। मुस्लिम देशहरूको सङ्गठन पनि यसको विरोधमा उत्रिएको छ । त्यति मात्रै होइन इजरायलमा रहेका अरब समुदाय समेत प्यालेस्टिनीमाथि इजरायलले गर्ने बर्बर दमनको विपक्षमा छन् र कतिपय स्थानमा प्रतिकार समेत भइरहेको छ । यसै कारण इजरायली सेना देशभित्र चल्नस क्ने सम्भावित गृहयुद्धका बारेमा सचेत  देखिएको छ ।

 इजरायली रक्षामन्त्रीले केही दिनअघि मात्रै सुरक्षा फौजलाई आन्तरिक अशान्तिमा विशेष ध्यान दिन र त्यसलाई दबाउन निर्देशन दिएका छन्। इजरायलमा हालसम्म सयौँ अरब मूलका मानिसहरूलाई पक्राउ गरिसकिएको छ । इजरायली प्रहरीले देशमा रहेका अरब मूलका मानिसका कारण कानुन व्यवस्था कायम राख्न समस्या भइरहेको बताएको छ । द्वन्द्वका कारण इजरायली सीमा क्षेत्र नजिकै रहने प्यालेस्टिनीहरु आफ्नो घर छाडेर अन्यत्र सरिरहेका छन् । 

इजरायल–प्यालेस्टाइनबीच चलिरहेको यहुदी–अरबी सङ्घर्ष करिब १०० वर्ष पुरानो मुद्दा हो । तर यसपालीको सङ्घर्ष इजरायल स्वयमका लागि पनि सहज छैन । किनकि यति बेला वेस्ट बैंक र गाजा क्षेत्रमा मात्रै नभएर इजरायल भित्रै हिंस्रक सङ्घर्ष भइरहेको छ । लामो समयदेखि दुई देशबिच तनाव जारी रहे पनि यस्तो अवस्था यसअघि देखिएको थिएन। 

अल–अक्सा मस्जिदमा इजरायली सेनाले जसरी कारबाही गरेको छ, त्यसबाट इजरायलमा बस्ने अल्पसङ्ख्यक अरब समुदाय आक्रोशित छन् । जसका कारण इजरायलले आन्तरिक तनावको पनि सामना पहिलो पटक गर्नुपरेको छ । इजरायल र प्यालेस्टाइनबिचको जारी विवादले जेरुसेलमको जमिनको विवाद र पवित्र धार्मिक स्थललाई लिएर इजरायल र प्यालेस्टाइनबीचको पुरानो विवादलाई पनि सतहमा ल्याइदिएको छ । हमासले इजरायललले अल–अक्सामा कारबाही रोकेमा युद्ध विराम हुनसक्ने बताएको छ । यस पटक इजरायली सेनाले अल–अक्सामा कारबाही गरेका कारण इजरायलभित्र रहेका अरब मूलका मानिस समेत रुष्ट बनेका हुन् । किनकि मुस्लिम धर्मावलम्बीको मक्का मदिनापछि सबैभन्दा पवित्र स्थलका रुपमा मान्ने अल–अक्सा मस्जिद हो। यो क्षेत्रमा इजरायलको जबरजस्त गतिविधि अशान्तिको प्रमुख कारकका रुपमा रहँदै आएको छ । सन् २००५ मा इजरायलले गाजाबाट आफ्नो बस्ती र सेना हटाएपछि हमासले प्यालेस्टाइनको राजनीतिक प्रक्रियामा भाग लिन सुरु गरेको थियो । सन् २००६ मा प्यालेस्टाइनी इलाकामा चुनाव जितेको थियो भने गाजामा राष्ट्रपति महमुद अब्बासको प्रतिद्वन्द्वी समूह फतहलाई हराएर सत्ता हातमा लिएको थियो । तर त्यसयता इजरायलसँग हमासले तीन पटक युद्ध लडिसकेको छ । 

कसरी बन्यो इजरायल ?

प्रथम विश्वयुद्धसम्म मध्यपूर्वमा शासन गरिरहेको अटोमन साम्राज्य पराजित भयो र बेलायतले यो क्षेत्रमा नियन्त्रण कायम गर्‍यो । यो क्षेत्रमा यहुदीहरू अल्पसङ्ख्यक र अरबी समुदाय बुहसंख्यक थिए । सन् १९२० को दशकदेखि १९४० सम्म त्यहाँ आइपुग्ने यहुदीहरूको सङ्ख्या बढ्यो । दोस्रो विश्वयुद्धपछि युरोपमा उत्पीडनबाट बच्न भागेका यहुदीहरू प्यालेस्टाइन पुगे । सोही समयदेखि नै यो क्षेत्रमा यहुदी र अरब समुदायबिच सङ्घर्ष सुरु भयो । सन् १९४७ मा संयुक्त राष्ट्र सङ्घमा प्यालेस्टाइनलाई विभाजन गरी यहुदी र अरब राज्यका रूपमा स्थापित गर्ने र जेरूसेलमलाई अन्तर्राष्ट्रिय सहर बनाउने विषयको पक्षमा मतदान भयो । त्यो योजनालाई यहुदी नेताहरूले स्वीकार गरे । तर अरब पक्षले भने त्यसलाई स्वीकार गरेनन् र कार्यान्वयन हुन सकेन । समस्या समाधान गर्न नसकेपछि ब्रिटिस शासकहरू सन् १९४८ मा मध्यपूर्वबाट बाहिरिए । त्यसपछि यहुदी नेताहरूले इजरायल स्थापनाको घोषणा गरे । त्यसयता झनै चर्किएको सङ्घर्ष अझै जारी छ ।

जेरुसेलम र अल अक्सा मस्जिदको विवाद

सन् १९६७ को युद्धपछि इजरायलले पूर्वी जेरुसेलम नियन्त्रणमा लिएको हो । उसले पुरै जेरुसेलमलाई आफ्नो राजधानी मान्छ। यद्यपि अन्तर्राष्ट्रिय समुदायले यसलाई स्वीकार गरेको छैन । सो युद्धमा इजरायलले पूर्वी जेरूसेलम, वेस्ट बैंक, सिरियाको गोलन हाइट्सको अधिकांश क्षेत्र, गाजा र इजिप्टको सिनाइ प्रायद्वीप आफ्नो नियन्त्रणमा लियो । अधिकांश प्यालेस्टिनी शरणार्थी र उनीहरूका सन्तान गाजा, वेस्ट बैंक र छिमेकी जोर्डन, सिरिया, लेबननमा बसोबास गरिरहेका छन् । इजरायलले उनीहरूलाई आफ्नो घर समेत फर्कन दिएको छैन।

गत शुक्रवार मुस्लिम समुदायले मक्का मदिनापछि सबैभन्दा पवित्र स्थानका रुपमा मान्ने अल अक्सा मस्जिद नजिकै सन् २०१७ पछि भएको हिंसात्मक झडपले फेरि युद्ध निम्त्याएको छ । त्यसो त अल अक्सालाई यहुदीले पनि पवित्र स्थल मान्छन् । अक्टोरबर २०१६ मा संयुक्त राष्ट्र सङ्घको सांस्कृतिक सङ्गठन युनेस्कोको कार्यकारी बोर्डले जेरुसेलममा रहेको अल–अक्सा मस्जिदमा यहुदीको कुनै दाबी नहुने प्रस्ताव पारित गरेको थियो । जसमा अल–अक्सा मस्जिदमा मुस्लिमको अधिकार रहेको र यहुदीसँग कुनै ऐतिहासिक सम्बन्ध नभएको उल्लेख थियो । जबकि यहुदीहरू यसलाई ‘टेम्पल माउन्ट’ भन्छन् र महत्त्वपूर्ण धार्मिक स्थलका रुपमा मान्दै आएका छन् ।