दुई देशमा अन्तर्राष्ट्रिय उडान खोल्ने मन्त्रिपरिषद निर्णय

दुई देशमा अन्तर्राष्ट्रिय उडान खोल्ने मन्त्रिपरिषद निर्णय

लोकसंवाद संवाददाता  |  समाचार  |  जेठ ४, २०७८

काठमाडौँ ।  सरकारले दुई देशमा उडान खोल्ने निर्णय गरेको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद बैठकले कतार र ग्वान्जाउमा हवाई उडान खोल्ने निर्णय गरेको हो । परराष्टमन्त्री प्रदीप ज्ञवालीले अन्तर्राष्ट्रिय उडान बन्द हुँदा कोभिड–१९ विरुद्धका स्वास्थ्य सामग्री र मानवीय आपूर्ति नै रोकिएपछि दुई देशमा सातामा एक–एक उडान हुने गरी उडान खोल्ने निर्णय भएको बताउनुभयो । यसैबीच, मन्त्रिपरिषद बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले चाँडै विश्वासको मत लिने विषयमा पनि छलफल भएको छ ।

संविधानको धारा ७६ को उपधारा ३ अनुसार नियुक्त भएका प्रधानमन्त्री केपी शर्मा ओलीले छिट्टै विश्वासको मत लिने तयारीमा आफू रहेको बताएका छन् । सोमबार बसेको मन्त्रीपरिषद् बैठकमा उनले सरकारको नीति तथा कार्यक्रम र बजेट अगामै विश्वासको मत ल्याउने दाबी गरेको बैठक पश्चात एक मन्त्रीले जानकारी दिनुभयो । वैशाख ३१ गते राष्ट्रपति विद्यादेवी भण्डारीबाट संसदको ठूलो दलको हैसियतमा प्रधानमन्त्री ओलीले संवैधानिक प्रावधान अनुसार एक महिनाभित्र विश्वासको मत लिनुपर्ने हुन्छ । सोमबारको बैठकमा कोभिड–१९ को रोकथाम, नियन्त्रण र उपचारको सन्दर्भमा पनि छलफल भएको थियो ।

बैठकमा स्वास्थ्य संकटकाल लगाउने भन्नेबारेमा छलफल भएको थियो ।कोरोना सङ्क्रमणको दोस्रो लहर विस्तार भएपछि रोकथामका लागि मुलुकका ७३ जिल्लामा निषेधाज्ञा जारी रहेको छ । निषेधाज्ञाका कारण जनजीवन ठप्प छ भने कोरोना संक्रमितहरुको मृत्यु पनि भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्