कलाकारको आवरणमा मानव तस्करी : सुदर्शन गौतमविरुद्ध रेड कर्नर नोटिस

कलाकारको आवरणमा मानव तस्करी : सुदर्शन गौतमविरुद्ध रेड कर्नर नोटिस

लोकसंवाद संवाददाता  |  समाचार  |  बैशाख १४, २०७६

काठमाडाैं । नेपाली नागरिकलाई अमेरिकाको सपना देखाएर मानव तस्करी र ठगी गरेको आरोपमा फरार रहेका सुदर्शन गौतमविरुद्ध अन्तर्राष्ट्रिय प्रहरी अपराध संगठन (इन्टरपोल)ले रेड नोटिस जारी गरेको छ । नेपाल प्रहरीको पटक–पटकको आग्रहपछि इन्टरपोलले बिहीबार नोटिस जारी गरेको हो । 

आठ महिनादेखि नेपाल प्रहरीको फरार सूचीमा रहेका गौतम अब जुनसुकै देशमा पक्राउ पर्न सक्छन् । हाल उनी क्यानडा बस्दै आएका छन् । उनी क्यानेडियन नागरिक भइसकेकाले नेपाल ल्याउन भने कठिन हुन सक्ने प्रहरी अधिकारीहरू बताउँछन् । ‘उनीविरुद्ध रेड नोटिस जारी गर्न हामीले आठ महिनादेखि प्रयास गर्दै आएका थियौँ,’ प्रहरीको इन्टरपोल शाखा प्रमुख एसएसपी उमेशराज जोशीले भने, ‘लामो प्रयासपछि रेड नोटिस जारी गर्न हामी सफल भएका छौँ । उनलाई नेपाल ल्याएर अब कारबाही गर्न सहज भएको छ ।’ गौतम विदेशी नागरिक भएकाले उनीविरुद्धका प्रमाण पटक–पटक इन्टरपोलले मागेको थियो । उनीविरुद्ध काठमाडौं जिल्ला अदालतले गत साउनमै वारेन्ट जारी गरेको थियो । 

घटना दुई वर्षअघिको हो । सो समूहले तीन युवतीलाई कलाकार बनाएर हाइटी पुर्‍याएको थियो । दिल्लीबाट रसिया, स्पेन, बोगोटा, डोमेनिकन रिपब्लिका हुँदै हाइटी लगिएको थियो । हाइटीमा एक कम्पनी खडा गरी फिल्मको सुटिङका लागि भनेर उनीहरूलाई सहजै त्यहाँसम्म पु¥याइएको थियो । हाइटीबाट सामान्य किसिमको पानीजहाजमा उनीहरूले अमेरिकाको सीमामा पुर्‍याउँथे । उनीहरूलाई पनि सोही पानीजहाजमा राखियो । जसमा तीन नेपालीसहित १५ जना थिए । सबैजना सोही समूहमार्फत अमेरिका जाने प्रयासमा थिए । 

तर, समुद्रको बीचमा पानीजहाज बिग्रियो । उनीहरूसँग भएको खानेकुरा पनि सकियो । धेरै दिनसम्म समुद्रमै उनीहरूले पानीजहाजमा रुँदै बिताए । तिर्खा खप्न नसकेपछि भक्तपुरकी सुमित्रा कुँवरले समुद्रकै पानी पिइन् । सोही कारण पानीजहाजमै मृत्यु भएको थियो । केही दिनपछि सो पानीजहाज समुद्री बहावसँग बग्दै बहमास देशको किनारमा पुगेको थियो । सो देशका सुरक्षाकर्मीले पानीजहाज नियन्त्रणमा लिएका थिए । त्यहाँबाट करिब एक महिनापछि अन्य दुई नेपाली महिला फर्किएका थिए । उनीहरूकै उजुरीका आधारमा महानगरीय अपराध महाशाखाले अनुसन्धान गरेको थियो । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।