वीर अस्पतालमा खरिद अनियमितता : १ पैसामा अण्डा

वीर अस्पतालमा खरिद अनियमितता : १ पैसामा अण्डा

लोकसंवाद संवाददाता  |  समाचार  |  बैशाख १४, २०७६

काठमाडौं । अहिलेको बजार भाउअनुसार एक पैसामा अण्डा किन्न पाइन्छ ? चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) अन्तर्गतको वीर अस्पताल खरिद इकाईले पत्याउनै नसकिने भाउमा खाद्यान्न खरिद गरेको भेटिएको छ  । अस्पतालले चिनी, बिस्कुट, तेललगायत खाद्य सामग्री एक रुपैयाँमा खरिद गरी बिरामीलाई खुवाइने खानाको गुणस्तरमै शंका उब्जाइदिएको छ  ।

अस्पतालले वैशाख १ गते रासन सामग्री खरिदका लागि न्यु सुयोग इन्टरप्राइजेजको टेन्डर स्वीकृत गर्‍यो । टेन्डरका लागि निवेदन दिने तीन फर्ममध्ये सबैभन्दा सस्तो मूल्यमा सामान दिने सम्झौताअनुसार अस्पतालले सुयोगको टेन्डर स्वीकृत गरेको थियो । सस्तोमा दिए पनि सुयोगको योग्यता भने अस्पतालले तोकेअनुरुप थिएन ।

सुयोगले अस्पताललाई बुझाएको रासन परिणामसहितको मूल्यसूची हेर्दा पत्याउनै नसकिने छ । अहिलेको बजारभाउ अनुसार एउटा अण्डाको मूल्य १० देखि १२ रुपैयाँ पर्छ । सुयोगले अस्पताललाई प्रतिअण्डा एक पैसा तोकेको छ ।

चना प्रतिकिलो एक रुपैयाँ त्यस्तै जिरा, अदुवा ,बेसारको मूल्य पनि एकै रुपैयाँ तोकेको छ । तोरीको तेल प्रतिलिटर एकै रुपैयाँ छ भने नुन, गहुँको आँटा, चिनीको मूल्य पनि प्रतिकिलो १ रुपैयाँ नै छ । पत्याउनै नसकिने मूल्यको खाद्यान्न खरिद सम्झौता गर्न नहुने भन्दै पटकपटक विरोध गर्दा पनि अस्पतालले सुयोगकै टेन्डर स्वीकृत गरेको इकाईका एक कर्मचारीले बताए । यो समाचार आजको कान्‍तिपुर दैनिकमा छ ।