चेन्नईलाई हराउँदै मुम्बई अंकतालिकामा दोस्रो

चेन्नईलाई हराउँदै मुम्बई अंकतालिकामा दोस्रो
तस्बिर : आइपिएलटिट्वान्टी डट कम ।

लोकसंवाद संवाददाता  |  खेलकुद  |  बैशाख १४, २०७६

काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल)अन्तर्गत शुक्रबार राती सम्पन्न खेलमा मुम्बई इण्डियन्सले चेन्नई सुप किंग्सलाई ४६ रनले पराजित गरेको छ । 

१५६ रनको सामान्य लक्ष्य पछ्याएको चेन्नई १०९ रनमै अलआउट भएपछि मुम्बईले चालू सिजनमा सातौं जित दर्ता गरेको हो । चेन्नईका मुरली विजयले सर्वाधिक ३८ रन जोडे । ३५ बल सामना गरेका उनले तीन चौका र एक छक्का प्रहार गरे । यस्तै, मिचेल स्यान्टरले २२ र ड्वेन ब्राभोले २० रन जोडे । अन्य ब्याट्सम्यानले दोहोरो अंकको रन जोड्न सकेनन् । 

चेन्नईको ब्याटिङ ध्वस्त गर्न लासिथ मालिंगाले चार विकेट लिए । यस्तै, कुर्नाल पाण्ड्या र जसप्रित बु्रमराहले समान दुई तथा हार्दिक पाण्ड्या र अंकुल रोयले समान एक विकेट लिए । 

त्यसअघि टस हारेर ब्याटिङ गर्न आएको मुम्बईले निर्धारित २० ओभरमा चार विकेट गुमाएर १५५ रन जोडेको थियो । कप्तान रोहित शर्माले ६७ रनको पारी खेलेपछि मुम्बईले मध्यम स्कोर बनायो । मुम्बईका इभन लुइसले ३२, हार्दिक पाण्ड्याले २३ र क्विन्टन डि ककले १५ रन जोडे । 

मिचेल स्यान्टरले दुई तथा इमरान ताहिर र दीपक चहरले समान एक विकेट लिए । 

खेलको प्लेअर अफ दि म्याच रोहित शर्मा घोषित भए ।

मुम्बई अंकतालिकामा दोस्रो 

चेन्नईविरुद्ध जित दर्ता गरेसँगै मुम्बई इण्डियन्स अंकतालिकामा एक स्थान सुधार गर्दै दोस्रोमा पुगेको छ भने चेन्नई शीर्ष स्थानमा यथावत छ । 
मुम्बईको ११ खेलबाट १४ अंक छ भने चेन्नईको १६ अंक छ ।