नेपालमा पुष्टि भएको कोरोनाको तेस्रो भेरियन्ट कस्तो हो ?

नेपालमा पुष्टि भएको कोरोनाको तेस्रो भेरियन्ट कस्तो हो ?

लोकसंवाद संवाददाता  |  स्वास्थ्य  |  जेठ ५, २०७८

काठमाडौं । विश्वभर तीव्र गतिमा संक्रमण फैलिइरहेको र अत्यन्तै घातक रहेको वैज्ञानिकहरुले दावी गरेको कोरोना भाइरसका नयाँ भेरियन्टहरु नेपालमा फैलिरहेको पुष्टि भएको छ । जनसंख्या तथा स्वास्थ्य मन्त्रालयले मंगलबार विज्ञप्ति निकालेर दिएको जानकारी अनुसार पहिलो पटक भारतमा देखिएको बी १.६१७.२ र बी १.६१७.१ भेरियन्टका भाइरसको संक्रमण नेपालमा पनि पुष्टि भएको जनाएको हो ।

देशभरबाट संक्रमितको नमुना संकलन गरी ३५ नमूनाको जिन स्क्वीन्सिग गर्दा ९७ प्रतिशतमा बी १.६१७.२ र बाँकी तीन प्रतिशत (एक नमूना) मा बी १.६१७.१ भेरियन्ट भाइरसको संक्रमण पुष्टि भएको मन्त्रालयले विज्ञप्ति मार्फत जनाएको छ ।

बी १.६१७.२ भेरियन्ट
कोरोना भाइरसको बी १.६१७.२ भेरियन्ट ट्रिपल म्युटेन्ट अर्थात तीनवटा उत्परिवर्तित कोरोना भाइरसको मिलनबाट बनेको नयाँ भेरियन्ट हो ।स्वास्थ्य मन्त्रालयले यो भेरियन्ट सबै उमेर समूहका लागि संक्रामक र घातक हुन सक्ने बताएको छ ।

यी हुन् नेपालमा पुष्टि भएका तीन भेरिएन्ट

बी १.६१७.१ भेरियन्ट
कोरोना भाइरसको बी १.६१७.१ भेरियन्ट पनि भारतमा गएको डिसेम्बरमा पहिलोपटक भेटिएको थियो । मार्चसम्म पुग्दा यो भेरियन्टको संक्रमण उच्च देखिएको थियो । अप्रिलदेखि भने यसको संक्रमण कम हुँदै गएर ट्रिपल म्युटेन्ट बी १.६१७.२ भेरियन्टको संक्रमण बढ्न थालेको हो ।

बी १.६१७.१ भेरियन्ट मा एल ४५२ आर र इ ४८४ क्यू म्युटेन्टको उत्परिवर्तनबाट बनेको हो ।

बी १.१.७ भेरियन्ट
बेलायतमा पहिलोपटक देखिएको कोरोना भाइरसको बी १.१.७ भेरियन्टको संक्रमण पनि नेपालमा यसअघि नै पुष्टि भएको छ ।