अक्सिजन उत्पादन बढाउन सैनिक जनशक्ति परिचालन

अक्सिजन उत्पादन बढाउन सैनिक जनशक्ति परिचालन

लोकसंवाद संवाददाता  |  समाचार  |  जेठ ५, २०७८

काठमाडौं । पूर्ण रूपमा सञ्चालनमा आउन नसकेका ५ वटा अक्सिजन प्लान्टको उत्पादन क्षमता बढाउन आवश्यक सहयोगका लागि नेपाली सेनाले प्राविधिक सैनिक जनशक्ति खटाएको छ । काठमाडौंको थानकोटको अक्सटिच, काभ्रेको पनौतीको नवज्योति, रुपन्देहीको छिपागढको शंकर अक्सिजन, ठुटीपीपलको लुम्बिनी र लुम्बिनी अक्सिजन प्लान्ट सञ्चालनका लागि जनशक्ति खटाइएको हो ।

सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार कोभिड–१९ संक्रमण नियन्त्रण तथा व्यवस्थापन केन्द्र (सीसीएमसी) सँगको सहकार्यमा अधिकृतको कमान्डमा ५० जनाको दक्ष जनशक्ति खटाइएको छ । थानकोटस्थित अक्सटिच अक्सिजन प्लान्टको ८ घनमिटर क्षमता छ ।

प्लान्टको उत्पादन क्षमता बढाउन आवश्यक सहयोगका लागि सात जना खटाइएको छ । पनौतीस्थित नवज्योतिमा रहेका दुइटा प्लान्टको उत्पादन क्षमता १५० घनमिटर रहेको छ । त्यसका लागि आठ जना सैनिक जनशक्ति पठाइएको सेनाले जनाएको छ ।