स्वास्थ्य मन्त्रालय दिन्छ बेड खालीको सुचना :अस्पतालमा बेड नपाएर बिरामीको भुइँमै उपचार

स्वास्थ्य मन्त्रालय दिन्छ बेड खालीको सुचना :अस्पतालमा बेड नपाएर बिरामीको  भुइँमै उपचार

लोकसंवाद संवाददाता  |  समाचार  |  जेठ ५, २०७८

काठमाडौं । कोरोना संक्रमण तीव्र गतिमा बढेसँगै उपत्यकाका सरकारी अस्पतालले भुइँमा राखेर उपचार गरिरहेका छन् । ठूला निजी अस्पतालले भने बिरामीसमेत भर्ना लिइरहेका छैनन् । तर, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपत्यकामा मंगलबार १९ अस्पतालमा तीन सय ९१ आइसोलेसन बेड, ४९ आइसियू र भेन्टिलेटर खाली रहेको तथ्यांक सार्वजनिक गरेको छ । मन्त्रालयले आइसियू र भेन्टिलेटरको संख्यासमेत छुट्टाछुट्टै राख्दा उपत्यकाका १९ अस्पतालमा ६४ वटा भेन्टिलेटर मात्रै खाली रहेको देखिन्छ ।

सोमबार अस्पतालको क्षमता र बिरामीको संख्याको सूची सार्वजनिक गर्दा उपत्यकाका १९ अस्पतालमा गरी सात सय ५० आइसोलेसन बेड, दुई सय २१ आइसियू बेड र ६९ भेन्टिलेटर खाली थिए । स्वास्थ्य मन्त्रालयले गलत सूचना दिँदा अस्पतालहरूले हैरानी खेप्दै आएको जनाएका छन् । मन्त्रालयले बेड संख्या पनि गलत दिएको अस्पतालहरूले जनाएका छन् ।

अस्पतालमा आफ्नै कर्मचारी बिरामी भए पनि राख्ने ठाउँ नभएको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका प्रवक्ता   नवराज गौतमले जानकारी दिनुभयो ।  बिरामीलाई बाहिरै राखेर सेवा दिइरहेको गैतमले बताउनु भयो ।  शुक्रराज ट्रपिकल सरुवा रोग टेकु अस्पतालमा वार्डमा बेड खाली नहुँदा इमर्जेन्सीमा आइसियूमा राख्नुपर्ने २१ जना बिरामी छन् । जसमध्ये आधाभन्दा धेरै बिरामीलाई भुइँ र कुर्सीमा राखेर अक्सिजन दिँदै आएको छ । तर, मन्त्रालयले अस्पतालमा १६ वटा आइसोलेसन बेड खाली भएको सूचना दिएको छ ।

अन्य कोभिड अस्पतालको हालत पनि उस्तै
नेपाल प्रहरी अस्पतालमा पनि सोमबार ५१ वटा बेड खाली भएको तथ्यांक सार्वजनिक भएपछि अस्पतालका कर्मचारीलाई बेड खाली नभएको सूचना दिनै खटिनुपर्‍यो । प्रहरी अस्पतालमा ५० वटा एचडियो र २० वटा भेन्टिलेटरसहितका आइसियू बेड छन् । तर, मन्त्रालयले ९३ वटा उल्लेख गरेको छ । अस्पतालमा अक्सिजन नभएको केही बेडहरू भने खाली छन्, जुन बेडमा अक्सिजन नभई बिरामी राख्न मिल्दैन । मन्त्रालयले हावाको भरमा तथ्यांक सार्वजनिक गर्‍यो ।’

निजामती कर्मचारी अस्पतालमा तीनवटा भेन्टिलेटरसहित १५ वटा आइसियू छन् । मन्त्रालयले २४ वटा आइसियू बेड रहेको तथ्यांक सार्वजनिक गर्दै आएको छ । बिरामीका आफन्तहरूले बेड खाली भएर पनि भर्ना नलिएको भन्दै फोन गरिरहेका छन् । यो सँगै १५ वटा एचडिओ गरी ५५ वटा बेड छन्, मन्त्रालयको डाटामा ७० छ । हामीले १२ बेड क्षमता भएको इमर्जेन्सीमा मात्रै २२ जना बिरामी राखेर उपचार गरिरहेका छौँ, त्यति बेड खाली भएको भए बिरामी किन अस्पतालबाट बेड नपाएर फर्किन्थे ?

भक्तपुर अस्पतालमा ६ वटा भेन्टिलेटरसहितको आइसियू बेड सञ्चालनमा छन्, जुुन सबै बिरामीले भरिएका छन् । मन्त्रालयले हरेकदिन आठवटा बेड देखाउँदै आएको छ ।  अक्सिजन नभएर जनरल बेडहरू अलिअलि खाली भइरहन्छन् । तर, अस्पतालमा उपलब्ध एचडिओ र भेन्टिलेटर खाली छैनन् ।’

राष्ट्रिय आयुर्वेद अनुसन्धान केन्द्रमा कोभिड बिरामीका लागि दुई सय १४ वटा बेड छुट्याएको छ । अस्पतालमा आइसियू बेड भने उपलब्ध छैनन् । २५ वटा एचडिओ र नौवटा अब्जर्भेसनका लागि छुट्याएका बेडहरू बिरामीले भरिएका छन् । अस्पतालमा अक्सिजन नभएर ८० देखि ९० बेड खाली छन् । अस्पतालका कोभिड संयोजक डा.जितेन्द्र श्रेष्ठका अनुसार स्वास्थ्य मन्त्रालयले अस्पतालमा उपलब्ध बेड संख्या नै एक सय ८९ देखाएको छ, जुन गलत हो ।

यस्तै, मन्त्रालयले आइसियू र भेन्टिलेटर छुट्याउँदा खाली भएको गलत सूचना प्रवाह भएको बताउनुहुन्छ । सशस्त्र प्रहरी अस्पतालका कोभिड संयोजक डा.प्रवीण नेपाल । मन्त्रालयले गलत सूचना दिइरहेको छ । अस्पतालमा बारम्बार फोन आइरहेका छन्, बिरामीका लागि बेड उपलब्ध छैनन् । नौवटा भेन्टिलेटरसहितका २० वटा आइसियूका बेडहरू सबै भरिएका छन् ।

वीर अस्पतालमा अक्सिजन अभावमा नयाँ भवनमा रहेका बेडहरू सञ्चालनमा ल्याइएको छैन । अस्पतालमा रहेका अन्य बेडहरू खाली छैनन् । सोमबार आठवटा एचडिओ, तीनवटा आइसियू र तीनवटा भेन्टिलेटर खाली रहेको देखाइएको रहेछ । अस्पतालमा एउटा पनि बेड खाली छैन ।

टिचिङ अस्पताल वार्डमा बेड खाली नहुँदा बरन्डामा राखेर बिरामीको उपचार हुँदै आएको छ । तर, स्वास्थ्य मन्त्रालयले सोमबार आइसोलेसनमा २१ र आइसियूमा १७ बेड खाली रहेको तथ्यांक सार्वजनिक गर्‍यो । यस्तै, मंगलबार पनि मन्त्रालयको तथ्यांकअनुसार १६ वटा बेड खाली छन् । अस्पतालमा बेड खाली भएको हामीलाई जानकारी छैन । बिरामीको चाप थेग्न नसकेर बेड थप्दै जाँदा पनि बेड र अक्सिजन मुस्किल परिरहेको छ ।’

स्वास्थ्य मन्त्रालयले बिहान १० देखि ११ बजेसम्म सूचना संकलन गरेर दिउँसो ४ बजे मात्रै सार्वजनिक गर्छ । बिहानको समयमा बिरामी डिस्चार्ज भएर कहिलेकाहीँ संख्यामा थपघट आउने भए पनि मन्त्रालयले बारम्बार गलत सूचना दिइरहेको अस्पतालहरूले जनाएका छन् । नयाँ पत्रिका दैनिबाट ।