अज्ञात रोगका कारण हुम्लामा आठजनाको मृत्यु

अज्ञात रोगका कारण हुम्लामा आठजनाको मृत्यु

लोकसंवाद संवाददाता  |  समाचार  |  बैशाख १४, २०७६

हुम्ला । अज्ञात रोगले हुम्लाको ताँजाकोट गाउँपालिकामा आठ जनाको मृत्यु भएका छन् भने सोहीे रोगबाट एक दर्जनभन्दा बढी बिरामी परेका छन ।

एक साताभान्दा अघिदेखि फैलिएको अज्ञात रोगका कारण शुक्रबारसम्म मर्नेको संख्या ८ पुगेको मैला स्वास्थ्य चौकीका अहेब मोतीलाल जैशीले जानकारी दिएका छन । 

हालसम्म पनि बिरामीको रोगको पहिचान र उचित उपचार  नभएका कारण रोग फैलिँदै गएको छ । रोगबाट गाउँपालिका मैला, मदान लगायतका गाउँका मानिस बिरामी पर्न थालेकोे स्थानीय बासिन्दाले जानकारी दिएका छन् ।

यो विरामी लाग्दा शुरुमा बिरामीको टाउको दुख्ने, वाकवाकी लाग्ने, छाती दुख्ने, ज्वरो आउने र अन्त्यमा मृत्यु  समेत हुने गरेको छ ।

ग्रामीण भेगमा रहेका स्वास्थ्य संस्थामा औषधि नहुनुका साथै स्वाथ्यकर्मी समेत नबस्नुकै कारण उपचारमा समस्या हुँदै आएको स्थानीयवासीले गुनसो गर्दै आएका छन् । एक हप्ताअघि पानी परेसँगै रोग फैलिएको हो । यो रोगबाट मृत्यु हुनेमा साहीे गाउँपालिका–१ का ७० वर्षीय कुशुमा रिठाल र ६० वर्षीय सुरजित खड्का, सोही गाँउपालिका वडा नं २ का ५५ वर्षीय रङ्गे कोली र पाँच वर्षकी सुनकेसा सुनार, वडा नं ३ का ७० वर्षीय अम्मकली मल्ल, ७५ वर्षीय बज्जीरे सुनार, ५५ वर्षीय लक्ष्य सुनार र १० महीनाका बालक सञ्जिव थापा रहेको मैला स्वास्थ्य चौकीका अहेब मोतीलाल जैशीले जानकार दिएका छन् ।  

स्वास्थ्यचौकीमा पर्याप्त मात्रामा औषधि उपलब्ध नभएको र स्वाथ्यकर्मी नबसेकाले बिरामीको संख्या बढेको गाउँपालिका अध्यक्ष बागचल छत्याल मल्लले बताए । मृत्यु हुनेको श्वासप्रश्वास र दमसम्बन्धी समस्या रहेको उनको भनाइ छ । घटनास्थल सदरमुकाम सिमकोटदेखि ४५ कोश टाढा भएकाले के रोगका कारणले ज्यान गएको हो भन्ने जानकारी नभएको प्रमुख जिल्ला अधिकारी धोलकराज ढकालले बताए ।

औषधि र स्वास्थ्यकर्मीको अभाव हुन नदिन र उक्त रोगको रोगथामका लागि प्रदेश सरकार सामाजिक विकास मन्त्रालयबाट औषधिसहित स्वास्थ्यकर्मीको टोली घटनास्थलमा जाने तयारी भइरहेको गाउँपालिकाका अध्यक्ष मल्लले बताए । अहिले रोग सक्रमित गाउँमा शिविर सञ्चालन भइरहेको र कुनै पनि स्वास्थ्य संस्थाका कर्मचारीलाई कार्यक्षेत्र नछाड्न पनि निर्देशन दिएको अध्यक्ष मल्लले जानकारी दिएको कुरा राससको समाचारमा उल्लेख छ ।