'सत्ता लोभ', लोभ शास्त्र र लेनदेनवाद: 'म त खोजि रहेछु, हरेक पल, केवल पद, मात्र पद !'
जेठ ५, २०७८

मानिसको लोभ प्रशान्त महासागरभन्दा गहिरो र सगरमाथाभन्दा अग्लो हुन्छ भनेर कहीँ पनि नभनिएको वा नलेखिएको छैन। तर हाम्रो वास्तविक जीवनमा नभनिएको वा नलेखिएको काम भई रहेको छ । अध्यात्मवादले लोभलाई पाप कर्म मान्दछ भने भौतिकवादी आदर्शवादले यसलाई नैतिकतासँग गाँसेर हेर्दछ। प्राचीन युगदेखि पौराणिक युगसम्म आफ्नो वचनबद्धता भन्दा बाहिर जानुलाई लोभ मात्र नभनेर खराब कार्यको रूपमा चित्रित गरेको पाइन्छ।

कुनै पनि शास्त्रले लोभ, लालच, चोरी, ईर्ष्या र निजी स्वार्थलाई खराब कामको रूपमा  किटानी गरेको पाइन्छ। आधुनिक विधि विधानको सामाजिक व्यवस्थामा यसलाई अस्वीकार गरिएको छ। धर्मशास्त्र, नीति शास्त्र र सामाजिक मूल्य मान्यताहरूमा जे भनिएता पनि हरेक मानिससँग आफ्नै लोभ शास्त्र हुने रहेछ । यही अलिखित लोभ शास्त्रले हामीलाई लोभ, लालच, चोरी, ईर्ष्या र स्वार्थको दलदलमा जीवनभर फसाइ रहेको छ। धन, सम्पत्ति, प्रेम, सुख, प्रतिष्ठा र पदको लोभ सबैलाई हुने गरेको छ ।  सबै लोभहरू छाडेर यहाँ पदको लोभ सम्बन्धी कुरा गर्न खोजिएको छ। त्यो पनि हाम्रो नेपालको आफ्नै राजनीतिको सन्दर्भमा।

वर्तमान नेपालको राजनीतिक अवस्था इतिहासको सबैभन्दा जटिल र कठिन मोडमा छ । केही थान पदका कुर्सीहरू यो मोडमा राखिएका छन्। राजनीतिक खेलाडीहरूलाई लाग्छ कि म नै त्यसको असली हकदार हुँ । हारेर, किनेर, षडयन्त्र गरेर,  घात प्रतिघातको छुरा चलाएर वा जसरी भए पनि त्यो पद मैले नै पाउनु पर्दछ। म बाहेक अरूले पाउने हो भने त्यो असंवैधानिक, निरङ्कुश, अप्रजातान्त्रिक र अन्यायपूर्ण हुन्छ भनेर सडकसम्म आउने काम भएको छ। अझ आफूले पद नपाएसम्म देशको सम्पूर्ण शासन व्यवस्था प्रतिगमनतर्फ गइरहेको भनिँदै छ ।

एउटालाई पदबाट नहटाएसम्म र आफू पदमा नपुगेसम्म प्रतिगमन र निरङ्कुशताको बाटोमा देश अघि बढ्यो भन्न छाडिएको छैन। यो लज्जास्पद खेल पद नपाएसम्म रोकिने पनि छैन। अरू सबै खेलका नियमहरू हुन्छन् र त्यसै अनुरूप पूरा हुन्छन् । तर सत्ता लोभको खेलमा कुनै नियम हुँदैन । त्यसैले यसमा जे भन्न र गर्न पनि छुट छ ।  बोल्न, रुन र कराउन छुट छ । कुनै पनि खेलमा जिती रहेको र गोल गरी रहेको खेलाडीलाई प्रोत्साहित गरिन्छ, प्याराफीटमा बसेर ताली बजाइन्छ र जति जति जित्यो उति उति मनोबल बढाइन्छ । तर राजनीति र सत्ता लोभको खेलमा जति गोल गर्‍यो उति छिर्के लगाएर लडाउने प्रयत्न भइरहन्छ ।

बितेको तीन वर्षमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र  पार्टी अध्यक्ष र प्रधानमन्त्री पदको लोभमा केही मानिसहरूले यती घिन लाग्दो खेल खेले कि नेपाली जनताले यसलाई कहिल्यै बिर्सन सक्ने छैनन्। पार्टी कार्यकर्ताबाट निर्वाचित अध्यक्ष र जनताबाट निर्वाचित बहुमत प्राप्त संसदीय दलको नेतालाई बिना कुनै कारण पदबाट हटाएर आफू पदमा पुग्न विपक्षीभन्दा सयौँ कदम अगाडि बढेर अनेक किसिम प्रहार भइरहे र भइरहेका छन् । 

गोल गर्नेको खुट्टा तानेर पछार्ने काम स्वाभाविक रुपमा लिइन्छ र लिन बाध्य पारिन्छ। अहिले नेपालको राजनीतिक खेलमा त्यही भइरहेको छ। गोल गर्न नसकेकाहरूले गोल गर्नेको सत्ता सराप गर्दै खुट्टा तानेर पछार्ने अनेकन् प्रयत्न   भई रहेको छन् । जित्नेहरूले नै टाउको निहुर्‍याएर बस्नु पर्ने अवस्था सृजना गरिँदै छ । कसैले सडक, मन्दिर, भवन, अस्पताल, विध्युतगृह, स्कुल र अन्य संरचना बनाउँछ अनि अर्कोले त्यसमा प्वाल, दाग, रङ रोगन र अन्य कुरामा खोट निकाली हाल्ने प्रचलनहरू संस्थागत गरिँदै छ । तर यति चाहिँ बनेछ है भनेर कुनै पनि हालतमा भन्दै भन्दैन अर्थात्  मान्न तयारै हुँदैन । 

भनिन्छ 'माया, प्रेम र विवाह कानुनभन्दा माथि हुन्छ ' त्यसरी 'सत्ता लोभ' संविधानभन्दा अझ माथि हुँदो रहेछ। त्यसैले लोभ शास्त्रका हिमायतीहरू कानुनबाट निर्वाचित प्रधानमन्त्री, मन्त्री, सांसद र न्यायाधीशहरूको राजीनामा माग्नुलाई आफ्नो कर्तव्य ठान्दछन् । आफू वा आफूले चाहेकोलाई पदमा पुर्‍याउन र पुग्नको लागि लोभको रथ नै तयार गरेर बसी रहको देख्न पाइन्छ । मौका पाउनासाथ उक्त रथमा सके आफै सवार  भइहाल्ने नसके आफ्नै अन्योलपूर्ण भविष्यको सवारी चलाउन तयार हुने गरेको दृश्य देख्न पाइन्छ । अलिकति न्यानोको लोभमा आफ्नो घर जलाएर न्यानो सकिए पछि शत्रुको घरमा बास माग्न जान तम तयार हुने गरेका छन् । यसरी तम तयार हुनेहरू नै लोभ शास्त्रका हिमायती हुन् । यिनीहरूको पथ प्रदर्शक सिद्धान्त लेनिनवादी नभई केवल लेनदेनवादी मात्र हो । लोभ शास्त्रले पद र अवसरको लेनदेनलाई मात्र मलजल गरिरहेको छ ।

बितेको तीन वर्षमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र  पार्टी अध्यक्ष र प्रधानमन्त्री पदको लोभमा केही मानिसहरूले यती घिन लाग्दो खेल खेले कि नेपाली जनताले यसलाई कहिल्यै बिर्सन सक्ने छैनन्। पार्टी कार्यकर्ताबाट निर्वाचित अध्यक्ष र जनताबाट निर्वाचित बहुमत प्राप्त संसदीय दलको नेतालाई बिना कुनै कारण पदबाट हटाएर आफू पदमा पुग्न विपक्षीभन्दा सयौँ कदम अगाडि बढेर अनेक किसिम प्रहार भइरहे र भइरहेका छन् । 

शक्तिशाली वामपन्थी पार्टीको विभाजन गर्ने, बहुमत प्राप्त दललाई अल्पमतमा झार्ने र दक्षिणपन्थी विपक्षी दललाई आफ्नो समर्थनमा सरकार बनाउन स्वागत गर्ने सम्मका गतिविधि भए ।  यस्तो गर्ने गराउने काम कसैको लोभ र लालचको परिणाम बाहेक केही थिएन भन्ने कुरा समय क्रमसँगै पुष्टि हुँदै गएको छ ।  कसैको लोभ र लालचमा मलजल गर्ने जो सुकै भए पनि यसको मुख्य पात्र भने लोभमा डुबेको मानिसहरू नै हुन् । हिजो मात्रै एक जना ठुला नेता र पूर्व मन्त्रीले फेसबुक स्ट्याटसमा लेखेका थिए 'आफ्नो भविष्य नभएको पार्टीमा बसी रहनु भन्दा त स्वतन्त्र रूपमा लेखन कार्य गर्नु उचित होला' । उनको लोभ त्यही एक थान मन्त्रीमा थियो, जुन नपाएर उनले तीन वर्ष पार्टी अध्यक्ष र प्रधानमन्त्रीलाई तल्लो स्तरको गाली गलोज गरेर समय बेतित गरिरहेका छन् । संविधानमा एक प्रधानमन्त्री र पच्चीस जना मन्त्री मात्र रहने व्यवस्था भएपछि कसरी सबैलाई मन्त्री बनाउन सक्छ जो सकै प्रधानमन्त्री भए पनि ।  अनि आफूले भनेको पद नपाएपछि वा आफूले भने जस्तो नभए पछि प्रतिगमन र निरङ्कुशता हुने तर्क आफैमा हास्यास्पद छ ।

भनिन्छ वर्तमानका गतिविधिले भविष्यको रूपरेखा तयार गर्दछन् । वर्तमान आफू अनुकूल नभए पनि भविष्यको लागि वातावरण तयार गर्नु बुद्धिमानी हुन्छ भन्ने कुरा पुरै भुलेको अवस्था छ । नत्र भने 'आफ्नो गोजीमा भएकोले नपुगेर अरूको खोस्न जाँदा भएको पनि भुईँमा पोखिन्छ' भन्ने कुराको चरितार्थ भइरहेको छ । के पनि भुल्नु हन्न भने  लोभ मानिसको जन्मजात गुण हो । हरेकलाई सानो ठुलो लोभ लालच हुन्छ नै, तर त्यसको सीमा पनि हुन्छ । सीमा नाघेर गरिएको लोभलाई समाज र समुदायले घृणा गरेको न हो । एउटा पदको लोभमा नियम, कानुन, विधि, नैतिकता र लोक लाज उतारेर सडकमा हिँड्नु 'कपडा खोलेर सडकमा हिँड्नु सरह हो । यसमा अलिकति भए पनि लाज हुनु पर्ने हो। 

वर्तमान प्रधानमन्त्री केपी शर्माको कुन कामले देशलाई बरबाद पारेको छ ? उहाँलाई पदबाट हटाउँदैमा  के पाउँछौँ ? आफ्नै पार्टी अध्यक्ष र प्रधानमन्त्रीलाई पदबाट हटाएर विपक्षी दललाई सघाउने जस्तो घृणित काम किन गर्नु पर्‍यो ?  के समाजवाद तीन वर्षमै आउन सक्ने आर्थिक राजनीतिक व्यवस्था हो ? किन रुस चीन लगायत अनेक देशहरूमा सत्तरी असी वर्षको प्रयासमा पनि पूर्ण समाजवाद आई सकेको छैन ? अनि विश्वमै सबैभन्दा पिछडिएको नेपालमा तीन वर्षमै समाजवाद लागू गरेर त्यसका नतिजाहरू आउनु पर्ने समय भई सक्यो र ?  यस्ता प्रश्नहरूको उत्तर काठमाडौँका सेकुवा पसलमा साँझ भेला हुने बुद्धिजीवी, चौबीसै घण्टा 'न्युज भ्रम' फैलाउने टेलिभिजनहरू र पत्रपत्रिका र अनलाइनहरूलाई दिएर हुँदैन । तर  बाली लगाउँदै गरेका दूर दराज गाउँका किसान र सहरमा कोरोनाले गर्दा काम लुटिएका मजदुरहरूलाई भने अवश्य दिनु पर्छ। 

आगामी चुनावमा मत माग्न जाँदा मतदाताले यस्ता प्रश्न सोधे भने के ? मलाई माफ गरिदेऊ मेरा लोभी नजर  म त खोजी रहेछु,  हरेक पल, केवल पद, मात्र पद भनेर गीत गाउने हो र ? यो त तपाईँको गीत होला । तर यो आम नेपाली मजदुर, किसान र मध्यम वर्गको गीत होइन। आफ्नो गीत गाउन छाडेर जनताको गीत, सम्बृद्धिको गीत र स्थिरताको गीत गाउन सुरु गर्नु होस् । पदको गीत, लोभ र लालचको गीत जनतालाई बढी भई सक्यो। 'इनफ् इज इनफ्' स्थिरतापूर्वक काम गर्न दिनु नै बाँकी भविष्य तपाईँहरूकै सुनिश्चित हुनेछ ।  एकताको भविष्यप्रति विश्वास गर्दा देश, जनता र हामी सबैको हित यसैमा छ।


भट्टराई दर्शनशास्त्रका जानकार हुनुहुन्छ ।