सरकारको ७५ प्रतिशत र वन समुहको २५ प्रतिशत लगानीमा काठ उद्योग सञ्चालमा

सरकारको ७५ प्रतिशत र  वन समुहको २५ प्रतिशत  लगानीमा काठ उद्योग सञ्चालमा

लोकसंवाद संवाददाता  |  कारोबार  |  जेठ ६, २०७८

जाजरकोट । सामुदायिक वन उपभोक्ता समुहको २५ प्रतिशत र स्थानीय तथा प्रदेश सरकारको ७५ प्रतिशत लगानीमा रुकुम पश्चिमको आठबीसकोट नगरपालिका–१० झिनचौरमा काठ उद्योग सञ्चालनमा ल्याइएको छ । खेर गएका काठलाई व्यवस्थापन गर्न उद्योग सञ्चालमा ल्याइएको हो ।

विभिन्न सामुदायिक वनबाट प्रत्येक वर्ष ठूलो मात्रामा काठ खेर गएको भन्दै नगरपालिकाले उद्योगमा लगानी गरी रोजगारी सिर्जना गरेको हो । उद्योगमार्फत काठको उपयोग गरी खेर गइरहेका काठबाट आम्दानी गर्ने योजना अघि सारिएको नगरप्रमुख गोर्खबहादुर केसीले बताउनुभयो  । सामुदायिक वनबाट हरेक वर्ष बूढा रुखहरु ढलेमा र आगलागीबाट नष्ट हुँदा खेर जाने गरेको उहाँले बताउनुभयो ।

विभिन्न चोरी निकासी गरेर व्यक्तिगत नाफा लिने कार्यलाई नियन्त्रण गर्नका लागि पनि काठ उद्योग सञ्चालनमा ल्याइएको केसीको भनाइ थियो । उद्योगका लागि भवन निर्माण, उद्योगको क्षेत्र परिसर तारबार र मेसिन खरिद गरी सकिएको नगरपालिकाले जनाएको छ । नगरपालिकाका अनुसार अहिलेसम्म उद्योगमा झन्डै दुई करोड रुपैयाँ खर्च भइसकेको छ । रु १ करोड २७ लाखमा मेसिन खरिद गरिएको छ  । सबै मेसिन चीनबाट ल्याइएको हो ।

वनबाट निकालिएका काठबाट फर्निचरका सामग्री तथा प्लाइउडको कच्चा पदार्थ बनाइनेछ । चौध वडाका सबै सामुदायिक वनको वैज्ञानिक वन व्यवस्थापन गर्दा वार्षिक करिब २० हजार रूख उद्योगका लागि प्रयोगमा आउने अनुमान गरिएको छ । “एक वर्षमा २० हजार रूख उद्योगमा प्रयोग गर्दा त्यसको मूल्य झन्डै रु दुई अर्ब हुन जान्छ, उद्योगले वार्षिक रु चार अर्बको कारोबार गर्ने लक्ष्य राखेका छ”, नगरप्रमुख केसीले भन्नुभयोे ।