कोरोना भाइरस हावाको माध्यमबाट १० मिटरसम्म फैलिनसक्ने

कोरोना भाइरस हावाको माध्यमबाट १० मिटरसम्म फैलिनसक्ने

लोकसंवाद संवाददाता  |  समाचार  |  जेठ ७, २०७८

काठमाडौं । कोरोना भाइरसको संक्रमण हावाको माध्यमबाट समेत सर्ने तथ्य सार्वजनिक भएको छ । हावाको माध्यमबाट १० मिटरको दुरीसम्म कोरोना भाइरस सर्नसक्ने विज्ञहरुको भनाइ छ । थोपायुक्त संक्रमण भने २ मिटरको दुरीसम्म जानसक्ने बताइएको छ । भारतको सरकारले विहीवार जारी गरेको कोरोना निर्देशिकामा बताइए अनुसार कुनै लक्षण नभएका व्यक्तिबाट समेत कोरोना भाइरस फैलिनसक्ने खतरा रहन्छ ।

भारत सरकारका प्रमुख वैज्ञानिक सल्लाहकार के विजय राघवनले जारी गर्नुभएको निर्देशिकामा कोरोना संक्रमणबाट बच्न स्वास्थ्य निर्देशिकाको पूर्ण पालना उपर्युक्त विकल्प रहेको बताइएको छ । उहाँका अनुसार यसमा भेन्टिलेशनको महत्वपूर्ण भूमिका रहन्छ । अर्थात राम्रोसँग हावा आउजाउ गर्न भेन्टिलेशन भएको ठाउँमा कोरोना संक्रमण सर्ने सम्भावना न्यून हुन्छ ।

झ्याल ढोका बन्द गरेर बस्दा संक्रमित वायु एकीकृत भएर बस्ने भएकोले संक्रमणको खतरा बढी हुन्छ । त्यसैले भेन्टिलेशनको राम्रो उपयोग गरी बाहिरको हावा कोठाभित्र आउन दिनुपर्ने भारत सरकारले जारी गरेको निर्देशिकामा उल्लेख छ ।

यस्तै संक्रमितको थुक,र्याल र सिंगानमा रहेको भाइरस थोपायुक्त अवस्था लामो समयसम्म सतहमा रहनसक्ने भएकोले झ्याल,ढोका, लक,ह्याण्डिल,मेच,टेबुल जस्ता बस्तुहरुलाई राम्रोसँग स्यानिटाइजेशन गर्न सुझाव दिइएको छ । डबल लेयरयुक्त मास्क लगाउनु सबैभन्दा उत्तम हुने उल्लेख छ ।