अन्ततः काठमाडौं महानगरपालिकाले खुलामञ्च देख्याे

अन्ततः काठमाडौं महानगरपालिकाले खुलामञ्च देख्याे

लोकसंवाद संवाददाता  |  समाचार  |  बैशाख १४, २०७६

अन्ततः काठमाडौं महानगरपालिकाले खुलामञ्च देखेको छ । महानगरबाट मुश्किलले पाँच सय मिटरको दूरीमा रहेको खुलामञ्च देख्न किन उसलाई यति समय लाग्यो त्यो जिज्ञासाको विषय भएको छ । 

काठमाडौं महानगरपालिकाको उपमेयर स्वयं खुलामञ्च भएको वडा नं २८ निवासी हुन । 

हरेक सर्वसाधारणले साँझ बिहान टहल्दा देख्ने खुलामञ्च महानगरका मेयर, उपमेयर तथा वडाध्यक्षले नदेख्नुका पछाडी के छ ? मूल चासोको विषय यो हो । 

मेयरले उपमेयर दोषी देख्ने, उपमेयरले मेयर अनि वडाध्यक्ष । एक अर्काप्रति दोष थोपरेर सबै दायीत्वबाट पन्छिने कुरो कतै ‘तँ कुटेजस्तो गर म रोए जस्तो गर्छु’   भने जस्ताे त होइन ? सर्वसाधरणकाे प्रश्न हाे याे  । 

जहानियाँ राणाशासन, पञ्चायतकालीन एकदलीय व्यवस्था तथा पछि भनिएको बहुदलिय व्यवस्थासम्मले व्यवस्था विरुद्धका अन्याय अत्याचार, दमन र यातनाका विरुद्ध चर्को स्वरमा आवाज बुलन्द गर्ने एउटा साझा धरोहर तथा इतिहासलाई बिर्सेर आज खुलामञ्चको जुन दुर्दशा बनाइएको छ त्यसले सारा नेपालीको चित्त कुँडिनु स्वभाविकै  थियाे  । 

तर, प्रचण्ड,बाबुराम देखि केपी ओली, माधव नेपाल तथा शेरबहादुर, रामचन्द्र समेतलाई न्यानो आतिथ्यता प्रदान गरेर शान, शौकत, मान, इज्जत, पद, प्रतिष्ठा र नेता बनाएको खुलामञ्च आज खोला तर्यो लौरो बिर्स्योकाे नियति भोग्न वाध्य छ । 

यस्तो कदापी नहोस, कथंकदाचित कुनै अधिनायकवादीले हाम्रो आस्था र स्वतन्त्रता बन्दी बनाएका दिन जनता सडकमा ओर्लिएका दिन उहाँहरुले सम्बोधन गर्ने ठाउँ नपाएर भौंतारिने दिन नआओस । तर्क त सडकमै सम्बोधन गर्ने  भन्न पनि सकिएला, त्यसो त अब जनताले उहाँहरुबाट त्यो अपेक्षा राख्न छोडिसके भन्ने आभास त होईन ?  कतै राज्यस्तरमा देखिएको यो मौनताले । 

कुनैबेला अहिलेको रानीपोखरी रहेको स्थानदेखि दशरथ रंगशालासम्म फैलिएको टुँडिखेल एशिया महादेशकै ठूलो खुला चौरको रुपमा परिचित थियो । मल्लकालमा आएर राजा प्रताप मल्लले रानीपोखरी बनाए । यसले टुँडिखेल केही मात्रामा साँघुरियो । 

पछि राजा महेन्द्रले हाल नेपाल वायुसेवा निगम भएको स्थानमा रहेको सैनिक अखाडालाई अहिलेको सैनिक मञ्च भएको स्थानमा सारे । पञ्चायतकालमै शहिदको नाममा दशरथ रंगशाला बनाइयो जुन स्थानमा पोखरी थियो । यसले टुँडिखेललाई फेरि खुम्च्यायो । यसरी कुनै बेलाको एशिया महादेशको सबैभन्दा ठूलो खुला चउर खुम्चँदै खुम्चँदै साँघुरो घेरामा सीमित हुन पुग्याे । 

२०३६ सालको जनमत संग्रहदेखि ४६को जनआन्दोलन तथा ६२/६३को गणतान्त्रिक आन्दोलन सम्मको जनताको हरेक आन्दोलनको उद्गार देखि समापनसम्मको एक्लो साक्षि खुलामञ्च अहिले भने  भू–माफियादेखि व्यापारी तथा महानगरको कमाई खाने भाँडो बनेको छ । 

राजधानीको मुटुमा रहेको खुलामञ्चमा शटर निर्माण गरेर व्यापारीलाई भाडामा दिएर पसल संचालनमा आउँदासम्म महानगरले उसलाई जानकारी छैन भन्छ भने यो भन्दा भद्दा मजाक के होला र ? 

महानगरको मजाक बसन्तपूर दरबार परिसरको श्रेष्ठ कम्प्लेक्स तथा रानीपोखरीको दुर्दशाबाटै प्रष्ट झल्किन्छ ।  

खुलामञ्च भनिएको यस बन्द मञ्चमा, पूरानो बसपार्कको २३ रोपनी जग्गामा निर्माण गर्ने भनिएको भ्यु टावर निर्माण गर्ने जिम्मा पाएको मनोज कुमार भेटवालको स्वच्छन्द निर्माण सेवाले १५ करोड अग्रीम भुक्तानी लिएर ४० वटा सटर निर्माण गरेको हो । सटरका लागि उसले व्यापारीसँग पाँचलाख देखि पन्ध्रलाखसम्म सलामी  असुलीएकाे सार्वजिन भइसकेकाे छ । 

भ्यु टावर निर्माण गर्न वाधा पुगेको भन्दै भेटवालले महानगरसँग सम्झौता गरी पूरानो बसपार्कलाई खुलामञ्चमा सार्न सफल भएका थियाे। २२ फागुन २०७१ बाट काम गर्न शुरु गरिएको भनिएको भ्यु टावरको एक प्रतिशत काम पनि सकिएको छैन् । निर्माणका नाममा रोडा थुपार्ने बाहेक स्वच्छन्द निर्माण सेवाले अर्को  कुनै पनि काम गरेको छैन् ।

भ्यु टावर निर्माणका लागि लगानी गरेका अन्य लगानीकर्ताले रकम फिर्ता माग्न थालेपछि मनोज भेटवाल पाँच वर्ष म्याद थपिएको भन्दै अन्य  लगानीकर्तालाई  आश्वासन दिंदै हिंड्ने गरेका छन् । 

स्थानीय निकाय संचालन ऐनकाे धारा ११ को १० नं बुँदाले कुनै पनि निर्माण तथा करका सम्बन्धमा निर्णय गर्ने अधिकार स्थानीय तहलाई प्रदान गरेको छ । कानूनमा यस्तो व्यवस्था हुँदाहुँदै महानगरले हामीलाई जानकारी छैन भन्नु भनेको लाचारिपनको पराकाष्ठा नभए अर्को के हुन सक्छ ।