काँग्रेसको आकस्मिक बैठक बस्दै

काँग्रेसको आकस्मिक बैठक बस्दै

लोकसंवाद संवाददाता  |  समाचार  |  जेठ ७, २०७८

काठमाडौं । राष्ट्रपतिले वैकल्पिक सरकार गठनका लागि आह्वान गरेपछि प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसको आकस्मिक बैठक बस्दै छ । काँग्रेस सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बिहान ९ बजे पार्टी पदाधिकारी, पूर्वपदाधिकारी र संसदीय दलका पदाधिकारीको बैठक बस्न लागेको हो ।

काँग्रेस नेता रमेश लेखकका अनुसार बैठकमा राष्ट्रपतिलाई महाअभियोग, प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव र नयाँ सरकार गठनका सन्दर्भमा छलफल हुने छ । राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार बेलुकी ५ बजेसम्म संविधानको धारा ७६ उपधारा ५ बमोजिम नयाँ सरकार गठनको दाबी प्रस्तुत गर्न आह्वान गरेकी छिन् ।

विहीबार बसेको मन्त्रीपरिषदको बैठकले प्रधानमन्त्रीले विश्वासको मत नलिने र बैकल्पिक सरकारका लागि बाटो खुला गर्ने निर्णय गरेसँगै सरकारको सिफारिसमा राष्ट्रपतिले वैकल्पिक सरकार गठनका लागि आह्वान गरेकी थिइन् । जसलाई काँग्रेसले संविधान विपरीत र अलोकतान्त्रिक भनेको छ ।