नेपाल–चीन सीमापार रेलमार्ग विश्व नजरमा

नेपाल–चीन सीमापार  रेलमार्ग विश्व नजरमा

लोकसंवाद संवाददाता  |  समाचार  |  बैशाख १५, २०७६

काठमाडाैं । नेपाल–चीन सीमापार रेलमार्गसहितका परियोजना औपचारिक रूपमा नै विश्व नजरमा परेका छन् । बेइजिङमा बेल्ट एन्ड रोड (बिआरआई) फोरमको गोलमेच सम्मेलनमा सहभागी ३८ देशका राष्ट्रप्रमुखद्वारा शनिबार जारी संयुक्त वक्तव्यमा ‘नेपाल–चीन हिमालयपार बहुआयामिक सम्पर्क सञ्जाल’ले स्थान पाएको छ । यसअघि बिआरआईअन्तर्गत नेपाल र चीनका कुनै परियोजना थिएनन् ।

गत वर्ष परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली चीन भ्रमणमा आउँदा दुई देशबीच हिमालयपार बहुआयामिक सम्पर्क सञ्जालमा आधारित द्विपक्षीय सहकार्य गर्ने सैद्धान्तिक सहमति भएको थियो । ‘३८ देशका राष्ट्रप्रमुखहरूको संयुक्त वक्तव्यमा यो विषय परेपछि अब विश्वले हाम्रो र चीनको सम्पर्क सञ्जालको योजनाबारे थाहा पायो,’ चीनस्थित नेपाली दूतावासका उपप्रमुख सुशीलकुमार लम्सालले नयाँ पत्रिकासँग भने, ‘तर, सञ्जाललाई अघि बढाउन धेरै प्रक्रिया बाँकी नै छन्, संयुक्त वक्तव्यमा परेपछि कम्तीमा एउटा रेकर्ड भएको छ ।’

बिआरआई सम्मेलनको दोस्रो दिन शनिबार राष्ट्रसंघको २०३० ऐजेन्डा कार्यान्वयन गर्न हरित तथा दिगो विकास प्रवद्र्धन विषयक गोलमेच सम्मेलन भएको थियो । सम्मेलनलाई सम्बोधन गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले चीनले अघि सारेको बिआरआईको मर्म र भावना संयुक्त राष्ट्रसंघीय दिगो विकासका लागि २०३० एजेन्डासँग मेल खाएको बताइन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।