कोभिड अस्थायी अस्पताल चिकित्सकबिना नै सञ्चालनमा

कोभिड अस्थायी अस्पताल चिकित्सकबिना नै सञ्चालनमा

लोकसंवाद संवाददाता  |  स्वास्थ्य  |  जेठ ७, २०७८

बैतडी । बैतडीका स्थानीय तहमा स्थापना भएका कोभिड अस्थायी अस्पताल चिकित्सकबिना नै सञ्चालनमा रहेका छन् । सङ्घीय सरकारले गत वर्ष नै बजेट विनियोजन गरेर स्थापना गर्न लगाएका ती कोभिड अस्थायी अस्पताल चिकित्सकबिना नै सञ्चालनमा रहेका हुन् । 

सङ्घीय सरकारले गत माघमै स्थानीय तहमा पाँच शय्याको अस्थायी कोरोना अस्पताल सञ्चालनका लागि बजेट पठाए पनि पुर्चौँडी नगरपालिका, पाटन नगरपालिका र दोगडाकेदार गाउँपालिकाबाहेकका स्थानीय तहले मेडिकल अधिकृत पाउन नसकेका हुन् । अस्थायी कोरोना अस्पतालमा भनेअनुसारको जनशक्ति नहुँदा समस्या भएको हो ।

जिल्लाको सिगास गाउँपालिकाले अस्थायी कोरोना अस्पतालमा चिकित्सकका लागि तीनपटक आवेदन आह्वान गरेको भए पनि हालसम्म चिकित्सक पाउन नसकेको जनाएको छ । चिकित्सकका लागि तीनपटकसम्म आवेदन आह्वान गरेको भए पनि हालसम्म पनि चिकित्सक पाउन नसकेको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख घनश्याम बोहराले बताउनुभयो । 

अस्थायी अस्पतालमा एक चिकित्सक, दुई स्टाफ नर्स, एक सहयोगीको दशरबन्दी रहेको तर सिगासमा अहिले एक स्टाफ नर्स कार्यरत रहेको बताइएको छ । चिकित्सक पाउनै मुस्किल भएपछि गाउँपालिकामा भएकै जनशक्तिबाट अस्पताल सञ्चालन गरिरहेको बोहराको भनाइ छ ।

जिल्लाको मेलौली नगरपालिकाले पनि अस्थायी कोरोना अस्पतालका लागि पटकपटक जनशक्ति माग गरिएको भए पनि चिकित्सक नपाइएको जनाइएको छ । सुर्नया गाउँपालिकाले वासुलिङ्ग स्वास्थ्यचौकीमा अस्थायी कोरोना अस्पताल सञ्चालनमा ल्याएको भए पनि चिकित्सक नपाउँदा एक स्टार्फ नर्समात्रै रहेको स्वास्थ्य शाखा प्रमुख रामसिंह महराले बताउनुभयो । 

जिल्लाको शिवनाथ गाउँपालिका, पञ्चेश्वर गाउँपालिका र डिलाशैनी गाउँपालिकाले पनि अस्थायी कोरोना अस्पतालका लागि आवश्यक जनशक्ति नपाएको जनाएका छन् । कोभिडका बिरामी बढ्दै गए पनि स्थानीय तहमा सञ्चालनमा आएका अस्थायी कोरोना अस्पतालमा चिकित्सक अभाव छ । यसले गर्दा उनीहरूको उपचारमा समेत समस्या भइरहेको छ ।

स्थानीय तहहरूमा चिकित्सकसहित कोभिड अस्पताल सञ्चालनमा आएको भए जटिल खालका सङ्क्रमितको पनि स्थानीयस्तरमै उपचार गर्न सहज हुने स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले बताउनुभयो । कोरोना भाइरसको जोखिम बढ्दै गएकाले कोरोनाका बिरामीको उपचारका लागि गत वर्ष नै अस्थायी कोभिड अस्पताल निर्माणको अवधारणा ल्याइएको थियो । 

अस्थायी कोभिड अस्पताल सञ्चालनका लागि आएको १० लाख बजेटमध्ये स्थानीय तहहरूले रु पाँच लाख शय्यालगायत सामग्री खरिदमा खर्च गर्न भनिएको थियो भने  ५० हजार बराबरको औषधि खरिद गर्नुपर्ने थियो । 

यस्तै चार लाख ५० हजार जनशक्ति परिचालनमा खर्च गर्नुपर्ने जनाइएको थियो । बैतडीका दशरथचन्द नगरपालिकाबाहेकका अन्य सबै स्थानीय तहमा ती अस्पताल सञ्चालनमा रहेका हुन् । बैतडीमा हाल ८०० बढी कोरोनाका सक्रिय सङ्क्रमित छन् भने १३ जनाको मृत्यु भइसकेको छ ।