कोरोनाका कारण माओवादी केन्द्रकी प्रदेश कमिटी सदस्यको निधन

कोरोनाका कारण माओवादी केन्द्रकी प्रदेश कमिटी सदस्यको निधन

लोकसंवाद संवाददाता  |  स्वास्थ्य  |  जेठ ७, २०७८

दाङ । कोरोनाका कारण नेपाल कम्युनिष्ट पार्टी ९माओवादी केन्द्र०को लुम्बिनी प्रदेश कमिटी सदस्य हरिहरा घर्तीमगरको ज्यान गएको छ । घर्तीको आज बिहान ५ बजे दाङ बेलझुण्डीस्थित कोरोना विशेष अस्पतालमा निधन भएको हो ।

माडी गाउँपालिका–५ भावाङ  स्थायी ठेगाना भई  घर्तीगाउँ बजारमा अल्लो व्यवसाय गर्दै आएकी घर्ती कृषि सहकारीलगायत सङ्घसंस्थामार्फत सामाजिक सेवामा पनि आबद्ध हुनुहुन्थ्यो । 

कोरोना सङ्क्रमणपछि उहाँलाई गत जेष्ठ ४ गते रोल्पा अस्पतालमा भर्ना गरिएको थियो । रोल्पा अस्पतालमा उपचार सम्भव नभएपछि जेठ ६ गते दाङ बेलझुण्डीस्थित कोरोना अस्पतालमा सिफारिश गरिएको  थियो । 

बेलझुण्डी कोरोना विशेष अस्पतालमा उपचाररत घर्तीको आज बिहान ५ बजे मृत्यु भएको नेकपा ९माओवादी केन्द्र०का जिल्ला कमिटी सदस्य मानसिंह विकले जानकारी दिनुभयो ।

कोरोनाको दोस्रो लहरसँगै रोल्पामा मृत्यु हुने घर्ती हालसम्मकै उच्च तहको राजनीतिक नेतृ हुनुहुन्छ । यससँगै रोल्पामा कोरोनाको दोस्रो लहरबाट १० जनाले ज्यान गुमाएका छन् । 

जिल्ला प्रशासन कार्यालय रोल्पाले दिएको जानकारीअनुसार जिल्लामा सक्रिय सङ्क्रमितको सङ्ख्या ५३८ रहेको छ । तीमध्ये ८३ जिल्लाभित्र रहेका विभिन्न आइसोलेशनमा रहेका छन् भने ४५० जना होमआइसोलेशनमा रहेका छन् । 

सङ्क्रमितमध्ये ६५ निको भइसकेका छन् । जिल्लामा आइसीयू  र भेन्टिलेटरको व्यवस्था भने हालसम्म हुनसकेको छैन । जिल्ला अस्पतालका साथै सबै स्थानीय तहहरुले आइसोलेशन स्थापना गरे पनि अक्सिजन सिलिण्डरको समस्या देखिँदै आएको छ ।