बिन्दु अधिकारी ढकाल | साहित्य | जेठ ७, २०७८
यस बेलासम्म जागा छु
र त जाग्दैछु
मेरो मुटुको धड्कन
निरन्तर यस कारण चल्दैछ
र त ढुकढुकी बन्दैछु
परिणामतः प्रहरहरु थाहा पाउँदैछु ।
अविरल इन्द्रावतीझैं जिन्दगी
बुँद–बुँद कुन आकृति
बिम्ब प्रतिबिम्व र प्रकृति
कसरी थन्किएला श्रीगणेशाय नमः
कसरी थच्किएला
पुग्ने बाटो
छुट्ने/भेट्ने दोबाटो
विश्रामलाई चौतारो
खाने आँटो उब्जाउने माटो
लडीबुडी गन्तव्य कस्तो होला तगारो ?
हतार,
मृत्युलाई अँगालेर बाँचेको जिन्दगी
मृत्युलाई अँगालेर हाँसेको जिन्दगी
म स्वयम्लाई कति खाँचो छ
हो, म स्वयम्लाई कति रहर छ
आफ्नै जिन्दगी ।
जे होस्–
त्यो दिन नआउन्जेलसम्म
जन्मदिन मनाउँछु
बाँचेर हिंडेको हरेक पल
उत्सवले नहारेसम्म जयजयकार गर्छु
चन्द्र–सूर्य भाकामा जून–तारा गाउँछु
हर्षविभोर पाना
इन्द्रेणी सजेको छाया
हिमाल, पहाड, तराई, मधेस गल्ली र गौंडा
गाउँ, बेंसी र शहर कति छन् छहरा
दूरदराजका लहरापहरा
शोकाप्ती पहिल्यै सप्तरङ्गी सपना !