समकालीन भारतीय गद्य साहित्य : मूलभूत प्रवृत्तिहरूको सार-सङ्क्षेप

समकालीन भारतीय गद्य साहित्य :  मूलभूत प्रवृत्तिहरूको सार-सङ्क्षेप

रूपेश शर्मा  |  साहित्य  |  जेठ ७, २०७८

१. विषय प्रवेश

भारतीय नेपाली साहित्यको प्रारम्भिक यात्रा पद्य साहित्यबाट शुरू भएको पाइन्छ । तर आधुनिक गद्य साहित्यको जग बसाल्न भारतीय नेपाली साहित्यले महत्वपूर्ण योगदान दिएको छ । विभिन्न मत, विचार र विवादहरू भए पनि गुरुप्रसाद मैनालीको नासो कथाभन्दा अगाबै रूपनारायण सिंहको अन्नपूर्णा (सन् १९२७) कथा प्रकाशित भएको हो । भारतीय विद्वानहरू यसै कथालाई आधुनिक नेपाली कथाको थालनी मान्दछन् । यसरी नै आधुनिक नेपाली उपन्यासमा स्वच्छन्दतावाद भित्र्याउने श्रेय पनि रूपनारायण सिंहलाई नै जान्छ । उनको भ्रम र (सन् १९३६) यस दिशामा कोशेढुङ्गा हो । समकालीन भारतीय गद्य साहित्यका मूलभूत प्रवृत्तिहरूको सङ्क्षेप प्रस्तुति यो आलेखको सीमा हो । 

२. भारतीय नेपाली साहित्यमा समकालीनताको सन्दर्भ 

साहित्यमा समकालीनतालाई लिएर विभिन्न विचार र मतभेद रहने गरे तापनि भारतीय नेपाली साहित्यमा सन् १९७० पछि विभिन्न साहित्यिक धारा, नवप्रयोग अनि वैश्विक सिद्धान्त, चेतना र लेखन पद्धतिको विकास भएकोले सन् ७० को दशकपछिका साहित्यलाई समकालीन भनेर हेर्ने गरिएको छ । यस सन्दर्भमा इन्द्रबहादुर राईलाई प्रस्थानविन्दु मान्ने विद्वानहरूको सङ्ख्या बढी छ । यसरी हेर्दा, विगत ५० वर्षका साहित्यका विभिन्न धारा र प्रयोगहरूलाई समकालीनतामा समेट्नुपर्ने हुन्छ । समकालीनता निश्चयै समयसीमाको चस्माले मात्र हेर्ने अवधारणा होइन । यसै अवधिमा भारतीय नेपाली साहित्यमा लीलालेखन, सङ्क्र्रमण लेखन, विचलन, किनारीकरण, हस्तक्षेपी, समावेशी अवधारणाहरू पनि हुर्किएका छन् ।

समकालीन भारतीय नेपाली साहित्यमा एक प्रयोगधर्मी कथाकारका रूपमा इन्द्रबहादुर राई अग्रपङ्क्तिमा छन् । आयामेली लेखनबाट विकसित उनको कथास्था (१९७२) कथा सङ्ग्रहले उनलाई एक प्रयोगवादी कथाकारका रूपमा चिनाएको थियो भने आफ्नै आयामलाई विस्थापित गर्दै उनको लीलावादी कथा सङ्ग्रह कठपुतलीको मन (१९८९) प्रकाशित भयो ।

अर्कातिर, सामाजिक यथार्थवादी, प्रगतिशील तथा प्रगतिवादी धारा पनि सक्रिय रूपमा क्रियाशील रहेको पाइन्छ । यस अवधिमा साहित्यकारहरूमा नवीन कलाचेत, कालिक चेतना, समकालीन यथार्थप्रतिको गाम्भीरता, राजनैतिक घटनाक्रमको प्रभाव र प्रतिबिम्बन, वैश्विक साहित्यिक सिद्धान्त र चिन्तनको प्रभाव, इतिहासचेत र त्यससँगको सम्बद्धता एवम् निरन्तरता, समकालीन यथार्थ, समसामयिक मूल्यबोध, प्रगतिशील चेतना समकालीन भारतीय नेपाली साहित्यका प्रवृत्तिका रूपमा देखा पर्दछन् । 

३. समकालीन भारतीय नेपाली गद्याख्यान 
कथा 

आधुनिक नेपाली कथाको प्रारम्भमा दार्जिलिङले महत्वपूर्ण योगदान दिएको कुरा माथि उल्लेख भइसकेको छ । भारतीय नेपाली कथा साहित्यको विकास क्रममा रूपनारायण सिंह, परशुराम रोका, शिवकुमार राई, हायमनदास राई किरात, अच्छा राई ‘रसिक’, एम.एम. गुरुङ, इन्द्र सुन्दास, इन्द्रबहादुर राई, बद्रीनारायण प्रधान, कृष्णसिंह मोक्तान, वीरविक्रम गुरुङ, प्रकाश ‘कोविद’, जगत् छेत्री, सानु लामा, कितापसिंह राई, दुर्वासा छेत्री, गीता उपाध्याय, जय धमला, लीलबहादुर क्षेत्री, एस.एन. छेत्री, मल्टिडा राई, मायादेवी योञ्जन, विष्णु शर्मा अधिकारी, प्रेम प्रधान, अर्जुन निरौला, महान्दन पौड्याल, चन्द्रवीर प्रधान आदि महत्वपूर्ण नाम हुन् । 

समकालीन भारतीय नेपाली साहित्यमा एक प्रयोगधर्मी कथाकारका रूपमा इन्द्रबहादुर राई अग्रपङ्क्तिमा छन् । आयामेली लेखनबाट विकसित उनको कथास्था (१९७२) कथा सङ्ग्रहले उनलाई एक प्रयोगवादी कथाकारका रूपमा चिनाएको थियो भने आफ्नै आयामलाई विस्थापित गर्दै उनको लीलावादी कथा सङ्ग्रह कठपुतलीको मन (१९८९) प्रकाशित भयो । ज्याक डेरिडाको प्रभाव ग्रहण गरेका राईका यी कथाहरू विनिर्माणवादी पद्धतिमा संरचित छन् । लीलालेखनलाई विद्वान्हरूले सम्पूर्ण नेपाली साहित्यमा उत्तरआधुनिकतावादको प्रस्थानविन्दु मानेका छन् ।

प्रयोगवादी कथाकारका रूपमा शरद छेत्री, सूर्यकुमार सुब्बा आदि प्रमुख देखा पर्छन् । भारतीय नेपाली साहित्यमा नारी मनोविश्लेषणवादी धारालाई नेतृत्व गर्ने कथाकार हुन् विन्द्या सुब्बा । उनका तीनओटा कथासङ्ग्रह कथाक्रम (१९८४), हस्पिस (२००३) र शीतलहर (२०१३) प्रकाशित छन् । नारीमुखी स्वर र चिन्तनलाई मुखरित गर्दै कथा लेख्नेहरूमा लक्खीदेवी सुन्दास, इन्द्रमणि दर्नाल, कमला आँसु, राधिका राया, चन्द्रकला नेवार, माया ठकुरी, शान्ति छेत्री, गीता उपाध्याय आदि प्रमुख नाम हुन् । नयाँ पुस्तामा प्रयोगवादी र उत्तरआधुनिकतावादी लेखन शैली, सूत्र र पद्धतिमा कथा लेख्नेहरूमा सञ्जय विष्ट र प्रवीण राई ‘जुमेली’ प्रमुख छन् । विष्टका शब्दान्त (१९९३), अस्ताचलतिर (२००७) र जूनजस्तै घाम (२०१५) प्रकाशित छन् भने राईका आत्मदंश (१९९८), निनादको निम्ति निनाद (२००१), ऋतुखेल (२००८) जस्ता तीनओटा कथासङ्ग्रह प्रकाशित भइसकेका छन् ।

यी दुवै कथाकारका लेखन पद्धतिमा लीलालेखन तथा विनिर्माणवादी लेखनगत विशेषता पाइन्छ । समालोचकहरूले शरद छेत्री, प्रदीप गुरुङ, उदय थुलुङ, कालुसिंह रनपहेँली, निमा निची शेर्पा, निरज थापा आदिका कथाहरूमा पनि उत्तरआधुनिकतावादी प्रवृत्तिका अभिलक्षणहरू खुट्याएका छन् । प्रगतिशील, समाजमुखी तथा यथार्थवादी कथालेखन धारालाई अग्रता दिने समकालीन कथाकारहरूमा गुप्त प्रधान, नन्द हाङखिम, धनवीर पुरी, बद्रीनारायण प्रधान, पूर्ण राई, दिल साहनी, विक्रमवीर थापा, असित राई, समिरण छेत्री ‘प्रियदर्शी’, हरिप्रसाद गोर्खा ‘राई’, हरिश मोक्तान ‘अल्लरे’, श्रीनारायण प्रधान आदि प्रमुख छन् । सबैभन्दा ठूलो हाँच यसै धारामा कथा लेख्नेहरूको छ । कथाकारहरूको हाँचमा एउटा सबल नयाँ पुस्ता पनि देखिएको छ, जसमा सुरज धडकन, प्रकाश हाङखिम, सञ्जीव छेत्री, छुदेन काविमो, ऋतु साम्पाङ, युवा बराल, ध्रुव चौहान आदि प्रमुख नाम हुन् । 

उपन्यास 

दार्जिलिङबाट १९३६ मा प्रकाशित रूपनारायण सिंहको भ्रमर उपन्यास नै पहिलो आधुनिक स्वच्छन्दतावादी नेपाली उपन्यास हो । भारतीय नेपाली साहित्यमा उपन्यासको सन्दर्भ निस्कँदा हामी शिवकुमार राई, रविन्द्रकुमार मोक्तान, लैनसिंह बाङ्देल, इन्द्र सुन्दास, लीलबहादुर क्षेत्री, कृष्णसिंह मोक्तान, अच्छा राई ‘रसिक’, इन्द्रबहादुर राई, असित राई, गङ्गा कप्तान, भगीरथ रावत, हर्क योञ्जन ‘विरही’, ओकिउयामा ग्वाइन, जय धमला, प्रकाश ‘कोविद’, सुवास घिसिङ, समिरण छेत्री, अर्जुन निरौला, शरद छेत्री आदिका नाम महत्वका साथ लिने गर्दछौँ । 

भारतीय नेपाली उपन्यासमा दार्जिलिङकी पुष्प राई उल्लेखनीय नाम हो । उनका दुईओटा उपन्यास भोलिको प्रतीक्षा (१९९०) र मध्यान्तर (२००७) मा नारीवादी स्वरको सचेत उद्घाटन पाइन्छ । विन्द्या सुब्बा भारतीय नेपाली उपन्यासमा एक प्रमुख नाम हो । उनले नेपाली नारी मनोविश्लेषणात्मक धाराको प्रतिनिधित्व गर्दछिन् । उनका उपन्यास फूलहरू, पहाडहरू, धर्साहरू (१९८६), अथाह (१९९९), निर्गमन (२००६) र सीमान्त (२०१७) गरी चारओटा उपन्यास प्रकाशित छन् । भारतीय नेपाली गद्याख्यानमा उनी एक सशक्त हस्ताक्षर हुन् । नारीजनित समस्या र समानताका मुद्दाहरूलाई आफ्ना कृतिमा प्रखरताका साथ उठान गर्ने उपन्यासकारहरूमा असमकी गीता उपाध्याय, शान्ति थापा, रिजु देवी, नया देवी आदि उल्लेखनीय छन् ।

गीता उपाध्याय पूर्वोत्तरबाट नेपाली उपन्यासमा चर्चित नाम हो । उनको जन्मभूमि मेरो स्वदेश उपन्यासले २०१६ मा साहित्य अकादमी पुरस्कार प्राप्त गरेको छ । नेपाली उपन्यासमा एउटा महत्वपूर्ण नाम हो भीम दाहाल । सिक्किम निवासी दाहालका तीनओटा उपन्यास प्रकाशित छन् ः अभीष्टको खोज (१९९२), द्रोह (२००२) र विद्रोह (२००५) । उनका उपन्यासहरूमा नारी मुक्तिको चाहना र स्वतन्त्रताको खोज राजनैतिक विसङ्गति, सत्तालोलुप चरित्र र क्रान्तिका नाममा सिर्जित भ्रान्ति अनि राजनैतिक संघर्ष र वर्ग संघर्षमूलक प्रगतिशील चेतना पाइन्छ । आख्यानकार प्रदीप गुरुङको पोस्टर र लात (२०१०) पहिलो भारतीय नेपाली सूत्रउपन्यास हो । नेपालका ध्रुवचन्द्र गौतमबाट उनी प्रभावित देखिन्छन् । यसै गरी, नेपाली उपन्यासमा प्रगतिवादी धारा पनि प्रबल देखिन्छ, जसमा हर्क योञ्जन ‘विरही’ (को दुई मुहान एक स्रोत (१९७२), असित राईको यन्त्रणा (१९८३), नयाँ क्षितिजको खोज (१९८०) र डुवर्सका बद्रीनारायण प्रधानको मौली (१९९३) प्रमुख प्रगतिवादी औपन्यासिक कृति दरिएका छन् ।  समकालीन भारतीय नेपाली उपन्यासमा सानु लामा, मत्स्येन्द्र प्रधान, जयनारायण लुइँटेल, प्रेम प्रधान, विक्रमवीर थापा, इन्द्रमणि दर्नाल आदि प्रमुख नाम हुन् ।

समालोचना 

भारतीय नेपाली समालोचनाको कुरा गर्दा हामी रामकृष्ण शर्मा, गणेशलाल सुब्बा, गुमानसिंह चाम्लिङ, इन्द्रबहादुर राई, चन्द्रेश्वर दुबे, घनश्याम नेपाल आदि प्रतिष्ठित समालोचकहरूको एउटा दह्रो पङ्क्ति लामबद्ध देख्दछौँ । समालोचना क्षेत्रलाई समृद्ध बनाउन योगदान दिनेहरूमा हामी सूर्यविक्रम ज्ञवाली, पारसमणि प्रधान, ईश्वर बराल, डिल्लीराम तिमसिना, राजनारायण प्रधान, भाइचन्द प्रधान आदि समालोचकहरूलाई भुल्न सक्दैनौँ । 

नेपाली समालोचनामा इन्द्रबहादुर राई नयाँ सिद्धान्त र प्रस्थावनाहरूका साथ समालोचना गर्ने एक अग्रणी व्यक्तित्व हुन् । उनका नेपाली उपन्यासका आधारहरू (१९७४), सन्दर्भमा ईश्वर बल्लभका कविता (१९७६), साहित्यको अपहरणः माक्र्सवादी प्रतिबद्धता (१९८३), दार्जिलिङे नेपाली नाटकको अर्धशताब्दी (१९८४), भानुभक्तका कृति अध्ययनहरू (सम्पादन, १९७९), समयाङ्कन दैनिकीय (१९९०), अर्थहरूको पछिल्तिर (सन् १९९४), पृष्ठ पृष्ठ (१९९५), लेखहरू र झ्याल (२०००) र सम्पूरक (२०१४) जस्ता समालोचना कृति प्रकाशित छन् । उनको आयामेली कथासङ्ग्रह कथास्था (१९७२) मा आस्था खण्डको आयामेली अवधारणा समालोचकीय दृष्टिले महत्वपूर्ण मानिएको छ ।

यसैगरी १९७७ मा रूपरेखा पूर्णाङ्क २०० मा प्रकाशित लीलालेखनको बीस सूत्रीय घोषणा भ्रान्तिहरू र लीलालेखन मात्रलाई समालोचकहरूले नेपाली साहित्यमा उत्तरआधुनिकतावादको प्रस्थानविन्दु मानेका छन् । राईका पछिल्ला समालोचना कृतिहरू विनिर्माणवादी तथा संरचनावादी समालोचना पद्धतिद्वारा विश्लेषित छन् । गुमानसिंह चाम्लिङ भारतीय नेपाली साहित्यका एक दरा समालोचक हुन् । उनको मौलो (१९७८) चर्चित समालोचना कृति हो । उनका अन्य समालोचना कृति पनि प्रकाशित छन् । बौद्धिकता र तार्किकताका साथ निर्णयात्मकता प्रस्तुत गर्नु उनको विशेषता देखिन्छ । जीवन नामदुङ अन्वेषणात्मक तथा अनुसन्धानपरक समालोचनाका क्षेत्रमा अग्रणी नाम हो । उनका नेपाली साहित्यका भौप्वालहरू (१९७८), हरिभक्त कटुवाल (१९९०), पर्यवेक्षण (१९९२) र अगमसिंह गिरीका कविताको अध्ययन र आधार (२००२) जस्ता समालोचना कृतिहरू प्रकाशित छन् । उनका समालोचना पद्धति अन्वेषणात्मक, तुलनात्मक र निर्णयात्मक रहेका छन् । दार्जिलिङका अर्का प्रमुख समालोचक हुन् डा. जस योञ्जन ‘प्यासी’ । उनका समालोचना कृतिहरूमा प्यासीका केही समालोचना (१९८३), पारसमणि प्रधानः केही कृति कैरन (१९८७), परख (२०१२), भारतीय नेपाली गीतकार परिचायिक चर्चा (२०१४) र परिचर्चा (२०१५) आदि प्रमुख छन् । अन्वेषणात्मकता, मूल्याङ्कनपरकता र निर्णयात्मकता उनका समालोचनात्मक विशेषता हुन् । 

पूर्वोत्तर भारतबाट प्रतिनिधि समालोचक हुन् चन्द्रेश्वर दुबे । मणिपुर निवासी दुबे अनेपाली भए पनि नेपाली समालोचनाको विकासमा उनको अब्बल भूमिका रहेको छ । उनका समालोचना कृतिहरू हुन् : नेपाली साहित्यः एक सर्वेक्षण (१९८१), तेस्रो आयामको शवपरीक्षा (१९८१), एस्किलस, शेली र देवकोटा (१९९२), उर्वशी: महाभारतको पृष्ठभूमिमा (१९८२), देवकोटै देवकोटा (१९९१) । उच्च बौद्धिकता र तार्किकताको आधारमा कृतिको तुलनात्मक अध्ययन दुबेको समालोचकीय विशेषता देखिन्छ । पूर्वोत्तर (असम) का अर्का प्रतिनिधि समालोचक हुन् ज्ञानबहादुर छेत्री । उनका अवलोकन (२०००), पुष्पलाल उपाध्याय (२००६) र सर्जक र सिर्जना (२०१०) जस्ता समालोचना कृतिहरू प्रकाशित छन् । उनको सम्पादनमा प्रकाशित पूर्वाञ्चल भारतको नेपाली समालोचना यात्रा (२०१२) एउटा महत्वपूर्ण कृति हो । छेत्रीका परवर्ती समालोचना उत्तरआधुनिक साहित्यालोचनातर्फ प्रवृत्त देखिन्छन् । 

भारतीय नेपाली समालोचनामा एउटा विशिष्ट नाम हो घनश्याम नेपाल । उनका आख्यानका कुरा (१९८७), नेपाली साहित्यको परिचयात्मक इतिहास (१९९१), शैलीविज्ञान (१९९२), रूप र रेखाहरू (१९९६), विधा विविधा (१९९४) जस्ता समालोचना ग्रन्थ प्रकाशित छन् । समालोचकहरूले उनलाई ‘भारतीय समालोचनामा वस्तुवादी एवम् भाषावादी समालोचना प्रणालीका प्रवर्तक’ मानेका छन् । शैली वैज्ञानिक पद्धति एवम् संरचनावादी भाषिक पाठवादी समालोचना उनको समालोचनात्मक विशेषता देखिन्छ । उत्तरआधुनिकतावादी सैद्धान्तिक र प्रायोगिक समालोचनालाई गहिराइका साथ लेख्ने समालोचक हुन् सिक्किमका पेम्पा तामाङ । उनको आख्यानदेखि पराख्यानसम्म (२००५) समालोचना कृति प्रकाशित छ । उत्तरआधुनिकतावादी समालोचनाका अभिलक्षणहरू शान्तिराज शर्माको नेपाली साहित्यको इतिहासः उत्तरआधुनिक प्रस्तुति (१९९७), मनप्रसाद सुब्बा र रेमिका थापाद्वारा सम्पादित किनारा विमर्श (२०११) को भूमिकामा पनि पाइन्छ । भारतीय नेपाली समालोचनामा कविता लामा एक प्रतिष्ठित नाम हो । उनका भानुभक्तका काव्यकृतिहरूको भाषिक अध्ययन (सन् २००२), दिदृक्षा (२००५), अनुशीलन (२०१०) र भारतीय नेपाली बालसाहित्यमा नारी स्रष्टा (२०१४) जस्ता अध्ययनपरक समालोचना कृति प्रकाशित छन् ।

कृतिमा भाषा वैज्ञानिक एवम् तुलनात्मक अध्ययन, पाठकीय प्रतिक्रिया सिद्धान्त, विश्लेषणपरकता अनि नारीवादी समालोचनाको खोज उनका समालोचकीय विशेषता देखिन्छन् । कृतिमा नारीवादी चेतनाको खोज र समालोचना पद्धतिको विकासमा काम गरिरहेका समालोचकहरूमा डा. लक्खीदेवी सुन्दास (समय र समीक्षण– २००८) र रेमिका थापा (पठन विपठन–२०१४) उल्लेखनीय छन् । उत्तरआधुनिकतावादी बहुलवादी समालोचना पद्धतितर्फ आकृष्ट हुँदै गएका समालोचकहरूमा डा. राजेन्द्र भण्डारी, डा. हर्कबहादुर छेत्री, सुधिर छेत्री, मोहन सुवेदी, कमल सेढाईँ आदि प्रमुख छन् । समकालीन समालोचनामा दिवाकर प्रधान (कविताका कुरा– २०१३), दीपक तिवारी (सिक्किमको नेपाली साहित्यिक इतिहास परम्पराः स्वरूप र प्रवृत्ति– २०१३, नेपाली साहित्यमा नारीलेखन–२०१४) र जय क्याक्टस (महाकाव्य कर्मायण एक अध्ययन– २००८, भारतीय साहित्यका निर्माता विकास गोतामे– २०१६) सक्रिय, तिख्खर र अत्यन्त लगनशील साहित्यिक प्रतिभा हुन् । 

दार्जिलिङका गणेशलाल सुब्बाले बसाएको प्रगतिवादी समालोचनाको आधारशिलामा इँटा थप्ने समालोचकहरू हुन्: रत्न बान्तवा, बि. योञ्जन, मोहन पि. दाहाल, पुष्पलाल उपाध्याय, जस योञ्जन ‘प्यासी’, तुलसी भट्टराई, जनार्दन थापा, जमदग्नि उपाध्याय, रुद्र बराल, अविकेशर शर्मा, रूपेश शर्मा आदि । यसमध्ये रत्न बान्तवाको पहाडका कुइरोभित्र पहिलो लालतारा (१९९१), क्रान्तिकारी रचनाकार विकास गोतामे (१९९३), नारी सुरक्षा, अधिकार र मुक्ति (१९९९), हाम्रो बासभूमिमा चियाबारी मजदुर आन्दोलनको पहिलो चरण फेरि नयाँ चरण (२००२) स बि. योञ्जनको यथार्थवादी साहित्य र समालोचना (२००६) र पाँच उपन्यास र उपन्यासकार (१९९८) मोहन पि. दाहालद्वारा सम्पादित गणेशलाल सुब्बाका साहित्यिक समालोचना र अन्य लेखहरू (२००) र इतिहासको दर्शन (२००६), जमदग्नि उपाध्यायको जाति समस्या र नेपाली जाति (१९८९), टीका ‘भाइ’ (को हाम्रो जातीय मुक्ति संघर्षको सय वर्ष (२००८), अविकेशर शर्माकृत् नेपाली भाषाः पठनपाठन र असम (२०११), रूपेश शर्माकृत सिर्जना र दृष्टि (२०१७) आदि उल्लेखनीय कृति छन् ।

सन् असीको दशकमा इन्द्रबहादुर राईले साहित्यको अपहरणः माक्र्सवादी कमिटमेन्टका कुरा प्रकाशमा ल्याएपछि प्रतिष्ठित प्रगतिवादी साहित्यकार बद्रीनारायण प्रधानले त्यसमाथि दिएको चर्चित जवाफ तथा सैद्धान्तिक विवेचनालाई पनि प्रगतिवादी समालोचनाको क्षेत्रमा एक विशेष घटना र स्थापनाको रूपमा हेर्न सकिन्छ । यसबाहेक भारतीय नेपाली समालोचनाको क्षेत्रमा डा.कुमार प्रधान, रामलाल अधिकारी, प्रतापचन्द्र प्रधान, भीमकान्त उपाध्याय, डा. लक्ष्मीप्रसाद पराजुली, छविलाल उपाध्याय, मोहन सुवेदी, कमलकान्त सेढाईँ, शरद छेत्री, प्रेम प्रधान, नरेशचन्द्र खाती, अर्जुन प्रधान, नगेन्द्र, ममता लामा, राजकुमार छेत्री, नवीन पौड्याल, महेश प्रधान, गीता छेत्री, सपन प्रधान आदि उल्लेखनीय छन् । 

भारतमा अहिले कृतिगत विमर्शको एउटा प्रचलन नै चलेको देखिन्छ, जसमा मनप्रसाद सुब्बा र रेमिका थापाद्वारा सम्पादित किनारा विमर्श (२०११), नवीन पौड्यालद्वारा सम्पादित कविता विमर्श- जयन्तकृष्ण शर्माका कविताहरूको समसामयिक अध्ययन– २०१४) र कविता आलोकन (होमबहादुर छेत्रीका कविताहरूको विवेचना– २०१५) अनि दिवाकर प्रधानद्वारा सम्पादित यात्रा साहित्यमा एम.बि. प्रधान : एक विवेचनात्मक अध्ययन (२०१४) प्रमुख छन् । यिनमा सम्बन्धित पुस्तक बारे विभिन्न कोणबाट समालोचना गरिएका लेखहरू पाइन्छन् । क्रमश:

'समकालीन भारतीय नेपाली साहित्यमा गद्य साहित्यको अवस्था' अलेखको पहिलाे भाग 

 

 रूपेश शर्मा, डुवर्स, भारत