योगी कुलचन्द्र | साहित्य | जेठ ७, २०७८
के लेखूँ म कविता
तीतो सत्यको लेखौँ या
सत्य नाङ्गो छ,
राजा त नाङ्गै छन् भन्नेको
स्वदेशको लेखूँ या विदेशको
राष्ट्रको लेखौँ या जनताको
रोजगारीको लेखौँ या बेरोजगारीको
मित्र मानवहरूको लेखूँ या दानव शत्रुहरूको
के लेखूँ म कविता ?
पूर्व क्षितिज हेर्दै, सूर्य नमस्कार गर्दै
म आफैलाई सोध्दै छु के लेखूँ म कविता
ए कविता भनन, म कविता जीवनको लेखूँ कि
बढ्दै गएको महँगीको, जीवन मृत्युको
ईश्वर भगवानको लेखौँ या दानव मानवहरूको लेखौँ
भावहरू शून्य छन् नैराश्यमा, प्रकृति नै दुःखेको बेला
कोरोनाको कहरमा बिस्तारै
मानवता हराउँदै गएको सहरमा
सत्य हराएको बेला, जीवन रोएको बेला
देश रोग, भोक, शोक र बेरोजगारीले डुबेको बेला
हाँसो र मुस्कान, हराएको बेला
एकसँग अर्को तर्किएको बेला तर्साइएको बेला
मानव अस्तित्व नै बन्धक बनेको बेला
यो देशको शान्तिको कविता लेखौँ या द्वन्द्वको
बुद्धको कविता लेखौँ या युद्धको
उज्यालोको कविता लेखौँ या अँध्यारोको
कविता सत्यको लेखौँ या मिथ्या ढोगीहरुको
के लेखूँ म कविता
महाभारतको पाण्डवको लेखौँ या कौरवहरूको
कविता शकुनीहरूको लेखौैं या विद्धान विदुरको
के लेखूँ म कविता युधिष्ठिरको या दुर्योधनको
के लेखूँ म कविता अश्वत्थामा या बर्बरीको
कोरोनाको कहरमा, राजनीति भरिएको सहरमा
कुर्ची बचाउने खेलको कविता लेखौँ या कोरोना
भ्याक्सिनको,
कविता अक्सिजनको लेखौँ या अक्सिजन सिलिन्डरको
जीवनको कविता लेखौँ या मृत्यु वा पुनर्जन्मको
के लेखूँ म कविता भोकको लेखौँ या भित्ताहरूको
कविता फुटपाथको लेखौँ वा आलिसान बङ्गलाहरूको
मानवता हराउँदै गएको बेला, के लेखूँ कविता
कविता जनताको लेखौँ या देशको इतिहास,
बर्तमानको
अक्सिजन नपाएर छटपट्टीएको बर्तमानको
के लेखूँ म कविता, परिश्रमी हातहरूको की
औषधी भ्याक्सिन, अक्सिजनका कमिशनखोरहरुको
सद्भाव, विश्वास र आत्मबल चाहिएको बेला
भक्कानिएको बेला प्रकृति नै रोएको बेला
के लेखूँ कविता देशको साहित्यको की
राजनीतिको ?