राष्ट्रपतिको भनाइ-दुबै नेताको दाबी पुगेन: प्रतिनिधि सभा विघटन र कात्तिक २६ र मङ्सिर ३ मा मध्यावधि निर्वाचन !

राष्ट्रपतिको भनाइ-दुबै नेताको दाबी पुगेन: प्रतिनिधि सभा विघटन र  कात्तिक २६ र मङ्सिर ३ मा मध्यावधि निर्वाचन !

लोकसंवाद संवाददाता  |  समाचार  |  जेठ ८, २०७८

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारले मध्यरातमा प्रतिनिधि सभा विघटन गर्दै मध्यावधि निर्वाचनको मिति घोषणा गर्न सिफारिस गरेको छ ।

शुक्रबार मध्यरातमा बसेको मन्त्रिपरिषद् बैठकले प्रतिनिधि सभा विघटन गरेर आउँदो कात्तिक २६ र मङ्सिर ३ गते दुई चरणमा मध्यावधि निर्वाचन गर्नेगरी राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको हो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीमा एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाको दाबी नपुग्ने भन्दै खारेज गर्ने निर्णय गरेपछि प्रधानमन्त्री ओलीले मध्यरातमा मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाउनु भएको थियो ।

राष्ट्रपति कार्यालयबाट जारी विज्ञप्तिमा राष्ट्रपति भण्डारीले दुवैजनाले संविधानको धारा ७६ को उपधारा ९५० बमोजिम प्रतिनिधि सभामा विश्वासको मत प्राप्त गर्न सक्ने आधार नदेखिएको समेत उल्लेख गर्नु भएको छ । 

राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ को उपधारा ५ बमोजिम प्रधानमन्त्री पदमा दाबी पेस गर्न बिहीबार आह्वान गर्दै शुक्रबार बेलुकी ५ बजेसम्मको समय दिनु भएको थियो । 

निर्धारित समयभित्र कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी, राष्ट्रिय जनमोर्चा र नेकपा एमालेको माधवकुमार नेपालपक्षको समेत समर्थनमा देउवाले १४९ जनाको हस्ताक्षरसहित राष्ट्रपतिसमक्ष प्रधानमन्त्रीको दाबी प्रस्तुत गर्नु भएको थियो । त्यस्तै प्रधानमन्त्री ओलीले पनि एमाले र जसपाका १५३ जना सांसदको समर्थन आफूलाई रहेको दाबी पेस गर्नु भएको थियो ।