नेकपामा प्रदेश पदाधिकारीलाई पोलिटब्युरोमा समेट्ने तयारी

नेकपामा प्रदेश पदाधिकारीलाई  पोलिटब्युरोमा  समेट्ने तयारी

लोकसंवाद संवाददाता  |  समाचार  |  बैशाख १५, २०७६

काठमाडाैं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले प्रदेश र जिल्लाको सन्तुलन मिलाउन प्रदेश पदाधिकारी सबैलाई पोलिटब्युरो कमिटीमा समेट्न छलफलको तयारी गरेको छ । पोलिटब्युरो सदस्यलाई जिल्ला इन्चार्ज बनाउने गरी कार्यविभाजनको तयारी भएकाले प्रदेशका सबै पदाधिकारी, इन्चार्ज, सहइन्चार्ज, अध्यक्ष र सचिवलाई पनि समेट्न लागेको हो ।

प्रदेश कमिटीका केही सचिवहरू पोलिटब्युरो सूचीबाहिर परेपछि सचिवालयबाटै टुंग्याउन छलफलको तयारी भएको सचिवालयका एक नेताले बताए । वरिष्ठ नेता माधवकुमार नेपाल आइतबार चीन भ्रमणबाट स्वदेश फर्किएपछि सोमबारसम्म सचिवालय बैठक बोलाउने तयारी छ ।

पूर्वएमालेबाट ८१ र माओवादीबाट ६६ जना रहेको १ सय ४७ सदस्यीय पोलिटब्युरो गठन गर्ने गरी शीर्ष नेताहरूले कमटीको सूची तयार पारेका छन् । सूचीमा सात प्रदेशका २८ पदाधिकारीमध्ये २४ जना वरिष्ठताको मापदण्डअनुसार स्वतः पोलिटब्युरो सदस्य बन्दै छन् । तर, बाँकी पदाधिकारी वरिष्ठताको मापदण्डअनुसार नसमेटिने देखिएपछि उनीहरूसहितलाई समेट्ने उपायबारे सचिवालय बैठकले निकास निकाल्ने सचिवालयका एक सदस्यले बताए । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।