तल्लो डुंगेश्वर जाने बाटो भुलेर जङ्गलमा चिच्याउँदै र झोर छिचोल्दै : साक्षात् ‘भगवान्’ नै प्रकट भए !

सुर्खेतको बुलबुल तालदेखि सेतीको किनारसम्म पैदल यात्र

तल्लो डुंगेश्वर जाने बाटो भुलेर जङ्गलमा चिच्याउँदै र झोर छिचोल्दै : साक्षात् ‘भगवान्’ नै प्रकट भए !

डा. सदानन्द कडेल  |  साहित्य  |  जेठ ८, २०७८

‘सुर्खेत बुलबुल ताल माया मै सानो हुनाले छुट्यो मायाजाल’ म सानै हुँदा देखी यो गीत रेडियोमा बज्ने गर्थ्यो ।  मेरो गाउँ अमिल्टारमा एउटा मात्र रेडियो थियो ‘नेशनल पानासोनिक’ । त्यो पनि ठुलाकान्छा काकाको घरमा  । हिउँदमा साँझको बेला बारीमा ढोड पोल्ने चलन थियो ।  काकाले ढोड टिप्ने ठाउँमा अंकुसे भएको एउटा लट्ठी गाडेर रेडियो झुन्ड्याई दिनु हुन्थ्यो  बाल कार्यक्रम आउने बेलामा ।  हामी रेडियो सुन्दै काकाको लाम्पाटोमा ढोड टिप्न रमाउने गर्थ्यौं ।  थुपारेको ढोडमा आगो लगाउँदाको मज्जा एकातिर हुन्थ्यो भने अर्कातिर बाल कार्यक्रमको आकर्षण ।  मलाई त्यति बेला उक्त गीत सुन्दा लागेको थियो, ‘कहाँ होला त्यो सुर्खेत बुलबुल ताल  ? त्यहाँ जान पाए त कत्ति रमाइलो होला ?’   

जीवनमा पच्चीस वसन्त पार गरीसक्दा पनि बुलबुल ताल हेर्ने धोको पूराहुन सकेको थिएन ।  अहिले जस्तो छोराछोरीले ‘म घुम्न जान्छु’ भने पछि अविभावकले सजिलै पठाई दिने वा अविभावकले नै घुमाउन लैजाने भन्ने कुरा कल्पनासम्म गर्ने अवस्था थिएन हाम्रो बाल्यकालमा ।  

युनेस्को सेती परियोजनाको जागिरले मलाई आफ्ना रहर पुरा गर्ने मौका दिलायो बिदा लिएर घर आउनु अगाडी तालिमको योजना तयार गरिएको थियो अफिसमा । जस्अनुसार,  अछाम जिल्लाको तुर्माखाँदमा तालिम चलाउने जिम्मेवारी मेरो भागमा परेको थियो । 

दिपायलबाट हिड्दा चार दिन लाग्ने र सुर्खेतबाट हिड्दा दुई दिनमा तुर्माखाँद पुग्न सकिने जानकारी पाएपछि नै मैले नयाँ ठाउँ सुर्खेत घुम्ने,  बुलबुल ताल पनि हेर्ने र त्यतैबाट तुर्माखाँद जाने योजना बनाएँ ।  

अघिल्लो दिन अपरान्ह तीन बजे काठमाण्डौबाट हिंडेको रात्रीबसबाट वि.सं. २०४६ माघ १९ गते बिहान १० बजे म सुर्खेतको सदरमुकाम वीरेन्द्रनगरमा ओर्लिएँ ।  सुर्खेत उपत्यका निकै सुन्दर रहेछ ।  मानव निर्मित सुन्दरता त खासै केही लागेन ।  तथापी प्राकृतिक सुन्दरता चाही मनै लोभ्याउने रहेछ ।  

पोखरा होटेलमा रुक्स्याक बिसाएँ । फ्रेस भएर एक कप चियाको चुस्की लगाएँ । त्यसपछि खाना खान लाग्दा बुलबुल ताल हेर्ने रहरका हल्काहरू निकै सक्रिय भइसकेको  थियो मेरो मन ।

बाटोमा लालीगुराँसको रुख देखेपछि इन्द्रले भने, ‘सौडी, तमी पर्ख त ! लालीगुराँसको पृष्ठभूमिमा फोटो खिचौं ।’ उनको र मेरो सम्बोधन पनि बडा गज्जबको छ । उनी मलाई छिन छिनमा फरक शब्दले सम्बोधन गर्छन्, ‘सौडी’, ‘साइबो’, ‘सोम्बे’, ‘साथी’, ‘लम्बु’ आदि आदि ।  त्यसैगरी म पनि उनलाई ‘सौडी’, ‘साइबो’, ‘सोम्बे’, ‘साथी’, ‘दारी’ आदि शब्दले बोलाउँछु । 

हतार हतार गर्दै म पुगें बुलबुल उद्यान तथा तालमा ।  ‘आहा कत्ति राम्रो बुलबुल ताल’ ! धाराहरूबाट पानी झरिरहेको, तालमा सफा तथा कन्चन पानी ! वरपरको सुन्दर, शान्त र मनोरम वातावरण ।    

जमिन मुनिबाट बुलबुल गर्दै पानी माथि आउने भएकोले नै यसलाई बुलबुले ताल भनिएको रहेछ भन्ने अनुमान लगाएँ ।  बर्षौंदेखिको बुलबुल ताल हेर्ने सपना पुरा भएकोमा म अत्यन्तै हर्षित भएँ । तर त्यो हर्षलाई क्यामेरामा कैद गरिदिने कोही नहुँदा क्यामेरा नै घाँडो भए जस्तो लाग्यो मलाई  त्यसबेला ।  धारामा मुख धोएँ ।  तालमा हातले चलाएर हल्का निकाल्न थालें ।  ढोड पोल्दा घन्किएको ‘सुर्खेत बुलबुल ताल’ बोलको गीत कानमा गुन्जीरहे झैं भान भयो ।  

पहिले सानो हुँदा गीतका अघिल्ला शब्दहरू ‘सुर्खेत बुलबुल ताल’ मलाई बढी घत परेको थियो ।  अहिले तालमा हातले चलाउँदा मलाई पछिल्ला शब्दहरू झन् मार्मिक लागे ‘छुट्यो मायाजाल’ ।  शायद,  बाल्यकालमा मायाजाल छुट्ने कुराको अर्थ नबुझेर होला ।  

‘जे सुकै भएपनि मायाजाल चाही कसैको नि नछुटोस्’ भन्ने के सोच्दै थिएँ, एकजना सज्जन आइपुगे ।  वीनित भावले अनुरोध गरें फोटो खिचिदिनको लागि ।  खिच्ने बेला उनको हात हल्लिएकाले फोटो राम्रो नआउने पो हो कि भन्ने चिन्ताले भने सताई नै रह्यो  मलाई ।  

शहर मज्जाले घुम्ने र काँक्रेबिहार तिर पनि घुम्न जाने मन थियो । तर भोली बिहान सबेरै दुई दिनको पैदल यात्रा सुरु गर्नु पर्ने र रात्रीबसको यात्रामा निन्द्रा नपरेकोले होटेलमा आराम गर्नु पनि अत्यावस्यक थियो ।  

झिसमिसेमा सिंगो शहर मस्त निन्द्रामा भए जस्तो देखिन्छ ।  शहर शान्त र सुनसान छ ।  घरीघरी घडी चरोको आवाज सुनिन्छ,  ‘कुखुरी काँ’ । खच्चडका घाँटीमा झुन्डीएका घन्टीहरुको आवाज पनि कानमा ठोकिदैछ ।   

रातो रुक्स्याक बोकेको छु अफिसले दिएको ।  त्यसको एकापट्टी पानीको तुम्लेट घुसारेको छु भने अर्कोतिर छाता ।  महिलाले जन्तर लगाए जस्तै गरी नेशनल पानासोनिक रेडियो झुन्ड्याएको छु घाँटीमा ।  छड्के तिलहरीको झल्को दिनेगरी सानो यासिका क्यामेरा पनि झुन्डेकै छ  साथमा ।  साथी कोही पनि छैन ।  यो बाटो कहिल्यै हिडेको पनि छैन ।  तथापी ती कुराहरू गौण भएका छन् मेरा लागि ।  पहिलो दिनको गन्तब्य तल्लो डुंगेश्वर ।  निरन्तर पाइला बढाईरहेछु । तर बाटा तथा गोरेटा बारे अनभिज्ञ छु ।  आशा छ बाटामा पथ प्रदर्शकहरू भेटिनेछन् ।

जब उकालो चढ्दै गएँ । भारी गह्रुङ्गो हुँदै जान थाल्यो । रुकस्याकको पिंधमा ‘स्लिपिंग ब्याग’, त्यसमाथि केही कितावहरू तथा नोटबुकहरू छन् । त्यसमाथि लुगाफाटा, ‘सेभिंङ किट’, ‘मेडिसिन किट’ सहित ग्लुकोभिटा, जीवनजल, केही खानेकुरा, टर्च लाइट आदि छन् । सबैभन्दा माथि छ तौलिया । तौलियालाई ओच्छ्यान बनाएको छ रमेश विकलको पुस्तक अविरल बग्छ इन्द्रावतीले । पुस्तकको बुई चढेर दङ्ग छ मेरो सुख-दुख पोख्ने साथी यात्रा डायरी !

यात्रा सुरु गर्नु अघि धेरै चिज हाल्न मन लाग्छ । उकालोमा गह्रुङ्गो भए पछि केही चिज फाल्न मन लाग्छ ।  यसो गम खान्छु, तौल कसरी कम गर्न सकिन्छ भनेर ।  तर अनावश्यक चिज केही नै छैन । रेडियोमा बिहानै शास्त्रीय संङ्गीत आइरहेछ ।  त्यसैको तालमा उक्लीरहेछु ‘लादेको उकालो’ ।  

यात्रामा म जहिले उकालो चढ्न थाल्छु, सम्झन पुग्छु डा. ताना शर्मालाई अनि उहाँले चढेको घनघस्याको उकालोलाई । ‘२०२४ सालमा इलामको मान्छे बैतडी पुगेर कष्टकर घनघस्याको उकालो त चढे भने म किन उकालो चढ्न नसक्ने ?’ जब यो प्रश्न मनमा आउँछ, उकालोमा पनि मेरा खुट्टाहरू अर्जापेको हतियार जस्तै फुर्तिला बन्न थाल्छन् ।  साधुबाद छ, घनघस्याको उकालोलाई अनि नियात्राकारलाई ।

स्वाँ स्वाँ उकालो चढीरहेको बेला घाँटीमा झुण्डीएको रेडियोमा बज्यो फेरी उही गीत ‘सुर्खेत बुलबुल ताल’ ।  बारीमा ढोड पोल्ने बेलाको जस्तो कौतुहलता ममा बाँकी रहेन अब । मैले देखेको ताल, हातले चलाएको ताल बिल्कुल आफ्नै जस्तो लाग्यो ।

बाटोको छेउमा एउटा ढुंगा माथि बसें ।  गीत सुन्दै फर्किएर सुर्खेत उपत्यकालाई नियालेर हेरें ।  अग्ला होचा पहाडले घेरिएको छ ।  वादल रुपी सेतो मजेत्रो ओढेको छ सुर्खेतले । मुस्कुराउन लागे जस्तो उज्यालो पूर्वी आकाश ।  मलिन अनुहारमा देखिने पश्चिमी आकाश ।  सूर्योदय नभएकोले देखिन्न रवि प्रकाश ।  बिछट्टै रमाइलो अनुभूति भयो ।  

लादेको उकालो सकिए पछि रानीमता तिर लागियो ।  बाटोमा रहेको सानो पसलमा अन्य यात्रुसँगै मिसिएर खाना खाने अवसर मिल्दा हर्षको सिमा रहेन ।  ‘तल्लो डुंगेश्वर जाने बाटो यही त हो नी, हैन र ?’ बाटोमा जसलाई भेटे पनि यही प्रश्न दोहोर्याउनु मेरो बाध्यता थियो ।  ओरालो झर्दै गर्दा एउटा जङ्गलमा पो पुगियो ।  जाँदा जाँदै बाटो बुच्चियो ।  सोध्ने मान्छे पनि कोही थिएन ।  अलिक अगाडि एकजनाले मलाई भनेका थिए, ‘दुइटा बाटा छन्, छोटो बाटो अलि गाह्राे छ ।  भुल्लिने सम्भावना पनि हुन्छ ।’ 

मेरा पथ प्रदर्शकलाई धन्यबाद दिएर मैले छोटो तर कठिन बाटो रोजेको थिएँ ।  सानो छँदा मैले राजकुमार दिक्पालको कथा पढेको थिएँ । जसमा सक्कली राजकुमारले मात्र कठिन र छोटो बाटो रोज्ने प्रसङ्ग उल्लेख गरिएको थियो ।  त्यसबाट प्रभावित मान्छे म सजिलो र लामो बाटो रोज्ने त कुरै भएन ।  

वनमा जङ्गली जन्तुहरू पनि हुनसक्ने कुरालाई मध्यनजर गरेर मैले एउटा जुक्ति लगाएँ ।  सोचें, ‘मसँग भएको रेडियोलाई ठुलो आवाज आउने गरी बजाएर हिंडेमा जन्तुहरूले परैबाट सुनेर उनीहरू नै भाग्नेछन् ।  आखिर जन्तुले आफु अप्ठ्यारोमा पर्दा न आक्रमण गर्ने हुन् ।’ 

रेडियो घन्काउँदै, कतै काँडा पन्छाउँदै, कतै कान्लाबाट हाम्फाल्दै सहि बाटो पत्ता लगाउन कोशिस गरें । सम्भव नै भएन । बाटोको दुःख त मलाई पर्वाह थिएन तर बाटो भुलिएर समय घर्केमा धेरै रात पर्ने र बासबस्न तल्लो डुंगेश्वर पुग्न नसकिने कुराले मलाई पिडा दिईरहेको थियो । टावरसँगको सम्पर्क बिच्छेद भएर आँधी बेहरीमा हराईरहेको हवाईजहाजको जस्तै अवस्थामा पुगेको थियो मेरो एकल यात्रा । 

अन्यौलका विच मनमा एउटा अर्को जुक्ति फुर्यो । ‘मैले तल्लो डुंगेश्वर जाने बाटो भुलें, कोही हुनहुन्छ जङ्गललमा ?’ कंकलाशब्दमा जङ्गलमा चिच्याउँदै, झोर छिचोल्दै म निरन्तर हिडीरहें ।  दर्जनौ पटक चिच्याए पछि माथि कतैबाट एकजना पुरुषको आवाज आयो, ‘त्यता बाटो छैन- 'यता आउ यता ’ ।साक्षात् ‘भगवान्’ नै प्रकट भए जस्तो लाग्यो मलाई । ‘खोलाको तिरमा अवस्थित तल्लो डुंगेश्वर आखिर उँधोतिरै त होला नि’ भन्ने सोचेर म तलतिरै पुगिसकेछु गलत बाटोमा । धन्न कोही दिशा निर्देश गर्ने भेटिनु भयो र मैले मूलबाटो भेट्न समर्थ भएँ । 

तुम्लेटको पानी पहिल्यै सकियो । बाटोमा कतै पानीको धारो पनि भेटिएन । जाडो मौसम भए पनि पसिनै पसिना भएको थिएँ । मुख सुकेर प्याक प्याक । जङ्गलको बिचमा एउटा खोरिया जस्तोमा खेतीपाती लगाइएको ठाउँ देखियो ।  त्यही एउटा सानो छाप्रो पनि । म मूलबाटो छोडेर पानीको खोजीमा त्यतैतिर हानिएँ ।

‘कोही हुनहुन्छ ? साह्रै तिर्खा लाग्यो । खाने पानी दिन सक्नु हुन्छ  ?’ अनुनय विनयको भावभङ्गीमा मैले अनुरोध गरें । 

‘पानी त छ । तपाईँ बाहुन जस्तो लाग्यो ।  हामी त दलित हो ।  कसरी पानी दिनु र ? ’ एकजना बुढा मान्छे फुत्त बाहिर निस्केर भन्नुभयो । 

छुवाछुतको विभेदकारी धारणाको बारेमा धेरै कुरा भन्ने भन्दा पनि छिटो पानी खाने उपाय निकाल्ने तिर मेरो ध्यान केन्द्रित भयो ।  एउटा काठको मुढोमा थ्याच्च बस्दै मैले भनें, ‘म पनि दलित नै हो हजुर ।  छिट्टो पानी दिनुस् न ?’ 

बिना बिश्राम एकलोटा पानी सिध्याएँ । अर्को एक लोटा पानी तुम्लेटमा भरें । दाईले मेरो बाटोको बारेमा राम्रोसँग बताउनु भयो ।  सानो गोजी डायरीमा लेखेर राखें । दुई पुरिया बिस्कुट झिकेर दाईलाई दिएँ । अनि गम्लङ्ग अंगालो हालेर धन्यबाद पनि ।  उहाँ बिस्कुट लिन इन्कार गर्दै हुनुहुन्थ्यो ।  नमस्कार गरेर म दौडिन खोज्दा उहाँले ‘पख्नुस् पख्नुस्’ भन्दै एउटा गज्जबको लट्ठी दिनुभयो । 

‘फेरी बाटो भुल्लिने पो हो कि ?’ चिन्तित मुन्द्रामा लट्ठी टेकेर बाटो लागें।  पानीदाता दाइको नाम र ठेगाना टिपेर राख्नेतिर ध्यान दिन नसकेको र फोटो पनि नखिचेकोमा आत्मग्लानी भयो ।

ओरालो मूलबाटोमा मेरो हिडाइको गतिले उग्र रुप लियो ।  म गुडुङडुङ दगुर्न थालें । मेरो बुईमा रुक्स्याक मच्चिदै ससैला खेलीरहेको थियो ।          

तेह्र घन्टाको हिडाई पछि दैलेख हुँदै आएको लोहोरेखोला र कर्णालीको संगम स्थल नजिकैको तल्लो डुंगेश्वर पुग्दा झमक्कै साँझ परिसकेको थियो । दुई तीनवटा स-साना छाप्रे घर रहेछन्  । चिया पसलमै खाना खुवाउने र सुताउने पनि प्रबन्ध हुने कुरा सुन्न पाउँदा म दङ्ग परें ।

‘फिदर’ वाला न्यानो ‘स्लिपिंग ब्याग’ भित्र अर्को ‘लाइनर’ राख्दै त्यसमा आफु पसेर गुडुल्किए पछि लोहोरेखोला सुसाएको आवाजमा कति बेला निदाएछु पत्तै भएन ।  बिहानै डुंगाबाट कर्णाली नदी तर्दा मज्जा आयो । यस अघि कर्णालीको सहायक नदी तिला र सेतीमा पौडी खेल्ने अवसर जुरेको थियो । बुढीगंगा तर्ने र मुगु कर्णाली टाढाबाट हेर्ने मौका मिलेको थियो । कर्णाली खासै ठुलो त हैन तर पानीको रफ्तार चाही तीब्र रहेछ । जाडो महिना भएकोले यो पटक नदि देख्दा पौडी खेलौं जस्तो चाही लागेन ।   
 

कर्णाली तर्दा मलाई कक्षा ९ को नेपालीमा पढेको ‘भाँड कुकायो’ भन्ने पाठको स्मरण भयो । जसमा विसजना भाँडहरूसँगै हिडेर कर्णाली तरेका थिए । पारीपट्टी गएर कोही साथी छुटेकी भनेर हरेकले गन्ति गर्दा १९ जना मात्रै भेटीए । ‘एकजना साथीलाई कर्णालीले खायो’ भन्दै भाँडहरू रुन कराउन लागे । त्यही बेला कतै जान लागेका यात्रु आइपुगे । उनले गन्ति गर्दा त २० जना नै थिए । हरेकले आफुलाई गन्न बिर्सेकाले नै १९ जना मात्रै पुगेको रहेछ ।  विष्णु लोहनी सरले त्यो पाठ पढाउनु भएको सम्झिदै गर्दा मेरो कक्षाका सबै सहपाठी साथीहरूको झझल्को  आयो ।   

नेपालको नक्शामा अछाम जिल्लाको एक धर्सो दैलेख र सुर्खेत जिल्ला तिर पसेको जस्तो देखिन्छ ।  सानी भेरी, ठुली भेरी, सेती र बुढीगङ्गा मिस्सिन बाँकी भएको कर्णाली नदि अछाम र दैलेख दुई किनारमा राखेर बग्दो रहेछ । कर्णाली तरेपछि म अछाम जिल्लाकै किनारबाट हिडिरहेको छु । 

अछामको रहब गाउँ पञ्चयतको भूभाग हुँदै असारा तर्फ लाग्दा कहिले कर्णालीको सुसेलीले मन्त्रमुग्ध बनाइदिन्थ्यो भने कहिले रेडियोमा बज्ने नारायण गोपाल र अरुणा लामाका स्वर लहरीले भावुक बनाइदिन्थ्यो ।  

कर्णालीको छालछालै (तिरतिरै) झन्डै दिनभरी हिंडे पछि कर्णालीलाई ‘बाइ बाइ’ भन्ने बेला आउँदा साथीहरूले सिकाएको एउटा देउडा गीत सम्झन पुगें । 

‘सित्तो राजा मंगलसेन, चुकिलो दर्नाली
आउना जाना पानी पिन्या, नसुख्या कर्णाली’

स्यालाघाटबाट प्रस्थान गर्दा एकजना स्थानीयले बाटो देखाईदिए । साँझ ६ बजे रहब गाउँ पञ्चयतका प्रधानपन्च हर्कबहादुर बुढाको घरमा पुगियो । उहाँ पनि भोलीपल्ट अछामको तुर्माखाँदमा सञ्चालन हुन गइरहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरूको तालिममा भाग लिने व्यक्ति हुनुहुँदो रहेछ । प्रशिक्षकलाई आफ्नै घरमा भेटे पछि उहाँ पनि एकदम खुशी हुनुभयो । 

बुढाजीसँग रमाइलो कुराकानी गर्दै अगाडी बढ्दै गरेको बेला उहाँले भन्नु भयो, ‘लौ हेर्नोस् तुर्माखाँद ! तु र मु भेट हुने खाँद भएकोले नै तुर्माखाँद भनिएको भन्ने किम्बदन्ती छ ।’

सानो बजार, अलिक माथि विद्यालय । पूर्वपट्टि ठिङ्ग उभिएको जस्तो देखिने सल्लेरी डाँडो । उत्तरी क्षितिजमा बाजुरा स्थित बडीमालिका तर्फका हिउँको टोपी लगाएका चुचुराहरू ।  दैलेख र सुर्खेतका पर्वतमालाहरू तथा माथिबाट देखिने बेसी र फाँटहरू निकै रमणीय देखिन्छ । म प्रकृतिको सौन्दर्यपान गरेर रोमान्चित भएको छु । 

एघार बजे सेती परियोजनाका योजना, अनुगमन तथा मूल्यांकन बिशेषज्ञ उत्तमप्रसाद उपाध्यायसंग भेट भयो । उहाँको पनि अछाममै कार्यक्रम रहेछ ।  मेरो सुर्खेत भएर तुर्माखाँद आउने योजना भएकोले समयमै नपुग्न सक्ने सम्भावनालाई हेक्का राखेर तालिम सञ्चालन भए पछि फर्किने गरी उहाँ आउनु भएको रहेछ ।  हरेकलाई उत्साहित गर्ने उहाँको शैली राम्रो लाग्यो । 

कपाल खौरिएका, टुपी हल्लाईरहेका, दाह्री पालेका, मझौला कदका फूर्तिला अर्का प्रशिक्षक देखा परे बरिष्ठ फिल्ड संयोजक इन्द्र क्षेत्री । एक बिशेषज्ञ,  दुई जना प्रशिक्षक, चौबिस जना सहभागी तथा अन्य केही पर्यबेक्षकहरूको उपस्थितिमा कार्यक्रमको उद्घाटन भयो ।  त्यसपछि मेरो यात्रामा केही दिनको ‘ब्रेक’ लाग्न गयो । समूह विद्यालयका प्रधानाध्यापकहरूको सात दिने अर्को तालिम पनि समापन गरेर हामी मंगलसेन तिर लाग्यौं ।

बाटोमा लालीगुराँसको रुख देखेपछि इन्द्रले भने, ‘सौडी, तमी पर्ख त ! लालीगुराँसको पृष्ठभूमिमा फोटो खिचौं ।’ उनको र मेरो सम्बोधन पनि बडा गज्जबको छ । उनी मलाई छिन छिनमा फरक शब्दले सम्बोधन गर्छन्, ‘सौडी’, ‘साइबो’, ‘सोम्बे’, ‘साथी’, ‘लम्बु’ आदि आदि ।  त्यसैगरी म पनि उनलाई ‘सौडी’, ‘साइबो’, ‘सोम्बे’, ‘साथी’, ‘दारी’ आदि शब्दले बोलाउँछु ।  नजिकको दोस्तीले नै यस्तो हुन गएको हो ।  

‘सौडी, तम्रो दिमाग चाही मान्नु पर्छ... लौ खिचौं फोटो ! ’ केही कदम पछि फर्किदै मैले भनें । फोटोलाई बिशेष बनाउनु पर्छ भनेर नै मैले रुख चढेर खिच्ने प्रस्ताव राखें । रुखमा चढेर एक हातले हाँगो समात्दै अर्को हातले ‘दारी’ को टुपी समातें ।  देख्नेहरू मरी मरी हाँसे । 

बिचमा एकरात बसेर भोली पल्ट अछामको सदरमुकाम मंगलसेन पुगियो । परियोजनाका अछाम इन्चार्ज राममणि दाहालले आफ्नो कार्यालय एबं कोठामा स्वागत गर्नुभयो ।  हँसिला र मिजासिला दाहालको आतिथ्यता तारिफ गर्न लायक थियो ।  

ठुलासेन नामक डाँडाको काखमा रहेको मंगलसेनमा बयलपाटाबाट सदरमुकाम सारिएको रहेछ ।  मंगलसेनका राजाका भाईले बेचेको दरबारमा मुख्य सरकारी कार्यालयहरू रहेछन् । पन्ध्र-सोह्र बर्ष अगाडि कतै बोक्दै, कतै गुडाउँदै ल्याईएको रसियन जीप टुडीखेलको एक छेउमा राखिएको रहेछ । मनमनै सम्झें, ‘मंगलसेनलाई सडक संजालले जोड्न सके कत्ति रमाइलो हुन्थ्यो होला ?’  

मंगलसेनबाट प्रस्थान गरेपछि बयलपाटा, साँफेबगर हुँदै डोटीको सानागाउँ पुगेर बास बसें । चौथो रात दिपायल स्थित सेती नदीको किनारमा रहेको आफ्नै डेरामा पुगें ।  हिडाइले थाकेर तन लखतरान भएतापनि मन चाही फुरुङ्ग परेर नाचिरहेको थियो-सुर्खेत बुलबुल ताल देखी सेती किनारसम्मको पैदल यात्रामा बेजोडको सन्तुष्टि मिलेकोमा । 
साँझपख सेती नदीले सुसेलीरहेको बेला मैले पनि देउडा गीतको एउटा टुक्का सम्झें, 

‘सेतीको किनार, सेतीको किनार
सौराइ लाग्या मन बुझाउँला छोडीजाउ चिनार’