नेपालमा पहिलो दृष्टिविहीन शिक्षक जङ्गबहादुर बोगटी प्रति किसुनजीको त्यो सम्मान

फर्किलान् र ती दिनहरू

नेपालमा पहिलो दृष्टिविहीन शिक्षक जङ्गबहादुर बोगटी प्रति किसुनजीको त्यो सम्मान

हरिविनोद अधिकारी  |  साहित्य  |  जेठ ८, २०७८

अहिले , यी हरफहरू लेख्दा कोरोनाको भाइरसले स्वरूप परिवर्तन गर्दै विश्वभर नै मृत्युको ताण्डव मच्चाइरहेको छ । प्रत्येक हप्ता आफ्ना क्षेत्रमा प्रतिष्ठित, प्रिय र मान्यवरहरूको मृत्युले समाजमा हलचल मच्चिएको छ र यो क्रम विश्वभर फैलिएको छ । कोरोनाका विभिन्न रूप देखिन थालेको छ । विश्वभर विभिन्न कोरोनाका लागि  खोपहरू अनुसन्धान गरिएको छ र प्रयोग पनि भइरहेको  अवस्था छ । खोप लगाएकाहरू केही मात्रामा सुरक्षित रहेका देखिन्छन् भन्ने अनुसन्धाताहरूको धारणा देखिन्छ । अमेरिकामा त खोपको पूरा डोज लगाएकाहरूले मास्कको प्रयोग गर्ने नगर्ने ऐच्छिक जस्तो बनेको छ भनेर पनि समाचारहरू आएका छन् ।

वल्डोमिटरको दैनिक तथ्याङ्कले पनि संयुक्त राज्य अमेरिकामा सङ्क्रमणको दर कम हुँदै गएको र मृत्युको दर पनि एकदम घटेको देखिन्छ , चीनमा धेरै महिनादेखि नै  मृत्युको डर नदेखिएको  तथ्याङ्कले देखाउँछ र मास्कको प्रयोगमा त्यहाँ पनि कमी आएको समाचारले जनाएका छन् र पनि चीनले आफ्नै देशमा विकसित गरेर खोपलाई व्यापक रुपमा जनतामाझ पु¥याएको अनुमान गर्न सकिन्छ । आजभोलि सामाजिक सञ्जाल, खास गरी फेसबुकमा , आफन्त र चिने जानेकाहरूका लागि श्रद्धाञ्जलीका भाषाहरुमात्र देखिन्छन् र त्यसले देखाउँछ मृत्युको वितण्डाले विभिन्न उमेर समूह र समुदायमा मच्चाएको छ र अझ बीभत्सता त कहाँ देखिन्छ भने सास फेर्न नसकेर प्राण वायुको एक घुट्को पाए बाँच्थे भन्नेहरूले अक्सिजनको एक पित्को सुँघ्न नपाएर मृत्यु वरण गरेको हेर्न परिवारजन बाध्य छन् र मृत्युपश्चात् बेलैमा आफन्तको शव व्यवस्थापन हुन नसकेको तितो अनुभवले पनि सामाजिक सञ्जाल भरिएका छन् । मृत्यु पक्कै पनि सहज कुरो होइन किनभने त्यो गएको व्यक्ति फेरि कहिल्यै भेटिँदैन र सदाका लागि ऊ बिछोड भएर जान्छ , त्यो पनि महामारीबाट ।  न त्यो विषाणु देखिन्छ, न सरेको देखिन्छ । सायद यसैलाई कोरोनाको समुदायमा प्रवेश भएको  मानिन्छ होला । 

पहिलो झमटमा हामी डरायौँ र पनि आयो नेपालमा बिस्तारै । कोरोनाबाट  हामी सुरक्षित हुन सक्छौँ भन्ने आशा पलाएको थियो तर कोरोना आयो नेपाललाई गाँज्यो र अहिले दोस्रो लहरले त ताण्डव नै मच्चाएको छ । मृत्युको खेललाई सामान्य बनाएको छ । हामी नेपाली अघिल्लो लहरमा एकै दिन ३०जनाको अकाल मृत्यु हुँदा आज सबैभन्दा बढीको ज्यान गएको भनेर टाउकोमा हात राख्दै थियौँ भने अहिले केही समयदेखि १५०जना, २०० जना, २२५ जना, २४६ जना भनेर मृतकको  सङ्ख्या गनिरहेका छौँ र मलाई सङ्क्रमण कतिबेर होला भनेर त्रासले बाँचेका छौँ किनभने अहिलेभन्दा पनि अझ सङ्क्रमण हुन सक्ने कुरामा वैज्ञानिकहरू त्रसित छन् र पनि समाजलाई जोगाउनका लागि त्यो भविष्यवाणीको त्रासदी बाँड्न बाध्य छन् । उनीहरूले नगर्नू भनेका काम हामी बारम्बार गरिरहेका हुन्छौँ र हाम्रो सङ्क्रमणसँग हामीलाई सेवा गर्ने स्वास्थकर्मीहरु पनि ती मृत्युवरण गर्नेहरूको लाममा लागिरहेका छन् भन्दा लाग्छ, ती सच्चा मानव सेवकहरूका हामीलाई बचाउन खोज्दाखोज्दै आफैँ सहादत दिइरहेका छन् हाम्रालागि र पनि सङ्क्रमण बढ्दो छ नेपालमा । तेस्रो लहरको भय बढ्दो छ । त्यसपछि के होला, कतिको ज्यान जाला ? डरभित्रै बाँच्दै छौँ ।

कोभिड—१९को ठ्याक्कै ओखती अझसम्म पत्ता लागेको छैन । विश्वभर एउटै तरिका छ- यसो गरे ज्वरो बिसेक होला कि ? यसो गरे फोक्सोमा अक्सिजन पुग्ला र सास फेराउन सकिएला कि ? यसो गरे रोगसँग लड्ने प्रतिरोध क्षमता बढाउन सकिएला कि ? भन्ने क्रममा नै विभिन्न देश र अनुसन्धान लागिरहेका छन् र यही क्रममा संस्थाहरूले खोपको आविष्कार गरेका हुन् । खोप लगाउनेहरूमा रोगसँग लड्ने क्षमता बढेको पाइयो पनि भनिएको छ र त्यस्तै देखिएको पनि छ । नेपालमा थोरै सङ्ख्याले खोप पाएको र करिब १३लाख ज्येष्ठ नागरिकहरू भने पहिलो डोज पाएर पनि अर्को डोजका लागि प्रतीक्षारत रहेको अवस्था छ । नेपालमा अहिलेसम्म एस्टेजिनिकाको कोभसिल्ड र भेरोसिलको मात्र खोप उपलब्ध भएको छ । संसारमा अहिलेसम्म फाइजर, मोडर्ना, जोन्सन एन्ड जोन्सन, एस्ट्रेजिनिका, स्पुतनिक-५, सिनोफर्माका उत्पादन जस्तै भेरोसिल र अरु पनि त्यस्तै उत्पादनहरू आविष्कार भएका छन् । 

भविष्य अन्योलग्रस्त छ, वर्तमान घरमा बन्दाबन्दीमा बितेको अवस्था छ ।  नेपालका ७७ जिल्लामा ७४ जिल्लामा निषेधाज्ञा लागेको छ र पनि कोरोनाको कहरमा बढोत्तरी हुँदै छ । त्यस्ता बेलामा सम्झने भनेको आफन्तसँगको आगामी भेटघाटको कामना हो, घरमा भएका र घरबाहिर रहेका परिवारका सदस्यहरूको स्वस्थताको चिन्ता नै हुँदो रहेछ । 

एउटा दृष्टिविहीनले सायद नेपालमा पहिलो पटक आफ्ना क्षमताले रोजगारी पाएको पनि उहाँले नै होला , त्यसपछि त दृष्टिविहीनहरूका लागि शिक्षा, व्यावसायिक तालिम अनि रोजगारी सहज बनेको पाइन्छ । यसरी ब्रेल लिपि जानेर पनि साधारण तथा व्यावसायिक विषयहरू दृष्टिसहितका साथीहरूसँग एउटै कक्षामा बसेर पढ्ने र त्यो अपूर्व दृश्य हेर्न कतिपय जिल्लाहरूबाट र उपत्यकाका विद्यालयहरूबाट पनि शैक्षिक भ्रमण आउँथे ।

अनि पुराना यादहरू सम्झेर हिजोका दिनहरूका बारेमा समीक्षा गरेर बस्ने काम हुँदो रहेछ । त्यो अतीत फेरि यस्तो हो कि समयसँगै बितेर गयो, समयको प्रवाहसँग विलीन पनि भयो । आफ्ना बारेमा आफैँले मात्र सम्झने हो र त्यसको व्याख्या गर्ने पनि आफैँले मात्र हो । अरूलाई पनि कति कुरा थाहा हुन्छ तर कुरोको चुरो त आफैँलाई मात्र थाहा हुन्छ ।

लामो जीवनमा धेरै कुरा देखियो, भोगियो र तिनको केही धमिलो यादहरू जेहेनमा अङ्कित होलान् । जब जब कुनै यादमा पुगिन्छ, अनि त्यही ठाउँमा पुगिन्छ, त्यही समयमा पुगिन्छ र आफूलाई ती घटना र अनुभवसँगै आत्मसात् गराउनु पर्ने हुन्छ । कतिको नाम याद हुँदैन अब , कतिको मिति बिर्सिएको हुन्छ , केही यादहरू,  विभिन्न यादहरू र केही मनमा उठेका कुराहरू तरेली तरेली परेर जेहेनमा आउने गर्छन् । मैले लेबोरेटरी व्यावसायिक माध्यमिक विद्यालय , कीर्तिपुरमा प्रवेश गरेर झन्डै २२ बसै शिक्षण सेवामा बिताएँ । हामी छोटकरीमा त्यो विद्यालयलाई ल्याब स्कुल भनिन्थ्यो सायद अझै पनि त्यसै भनिन्छ होला किनभने लेबोरेटरी भनेर लामो गरी भनिँदैन । भन्नुपर्ने त त्यही हो । 

जब म ल्याब स्कुल आएँ , मैले थाहा पाएँ कि त्यो स्कुल अमेरिकी सरकारले साधारण शिक्षाका तालिम लिन आउने शिक्षकहरूका लागि मानवीय प्रयोगशाला थियो । शिक्षाका सिद्धान्त सिकाएपछि त्यसको व्यवहारमा , विद्यालयका उमेरका विद्यार्थीहरूमा देखिन संवेगात्मक अवस्थाको बारेमा जानकारी दिने ठाउँ रहेछ । पहिले त्यो स्कुल चेतभवनमा चलेको रहेछ , त्यो बेलामा त्यसलाई डेमोस्ट्रेसन स्कुल पनि भनिँदो रहेछ । अर्थात् शिक्षाको प्रयोगशाला भनेको त शैक्षिक सिद्धान्त, भावी शिक्षकलाई दर्शनका रुपमा , बाल मनोविज्ञानका रुपमा शिक्षण अभ्यासमार्फत सिकाइने रहेछ । अमेरिकी शिक्षाविद् जोन डिबी वा जोन डिबेका सिद्धान्तलाई विद्यालयलाई शैक्षिक प्रयोगशालाको रुपमा तयार गरिएको मान्ने चलन रहेछ र मैले पनि सुनेको थिएँ -नेपालका केही विद्यालयहरू अमेरिकी सरकारले सहयोग गरेर शिक्षक प्रशिक्षण केन्द्रहरू खोलेकोमा ल्याब स्कुलचाहिँ सबैभन्दा शैक्षिक सामग्री भएको र दृष्टिविहीनहरूका लागि पनि एकीकृत विद्यालयको रुपमा स्थापना गरेको हो । अझ धेरैलाई थाहा पनि नभएको एउटा तथ्य हो —एसिया प्रशान्त क्षेत्रमै दृष्टिविहीनहरूका लागि दृष्टिसहितका विद्यार्थीहरूसँगै एउटै कक्षामा पढाउने चलन नेपालको ल्याब स्कुलमा नै पहिले भएको हो । दृष्टिविहीन विद्यार्थीहरूका लागि अक्षर खोपेर पढाउने चलन रहेछ जसलाई ब्रेल लिपि भन्दा रहेछन् । लुइ ब्रेलले दृष्टिविहीनहरूको चेतनालाई मसीको अक्षरविना पनि छामेर अक्षरको संवेदना प्राप्त गर्ने मनोविज्ञानको प्रयोग हुँदो रहेछ । दृष्टिविहीनहरुले एउटा मोटो कागजमा सुइरोले खोपेर अक्षर लेख्दा रहेछन् र त्यही अक्षर छामेर आफूले लेखेका अक्षरहरूको उच्चारण गर्दा रहेछन् । त्यसैले पनि एउटा कुरा त स्पष्ट नै भयो कि भाषाको लिपि भनेको एउटा साङ्केतिक चिन्ह मात्र हो रहेछ । भविष्यमा पनि त्यस्ता लिपिहरू संसारमा आउलान् र संसारमा प्रचलित लिपिहरू अहिले पनि चित्रमय देखिन्छन् । कुनै सङ्केतलाई अक्षरको उच्चारण मान्ने हो । भ र म, घ र ध, प र फ, उस्तै देखिन्छन् तर उच्चारण उस्तै हुँदैन । अर्थात् प्रत्येक अक्षर एउटा सङ्केत हो र उच्चारण पनि सङ्केतका आधारमा गरिन्छ । कतिपय भाषामा जे लेखिन्छ ,त्यही बोलिँदैन र कतिपय भाषामा भने जे लेखिन्छ, त्यही बोलिन्छ । ब्रेल लिपिमा पनि सकेसम्म अर्थपूर्ण उच्चारणका लागि जोड दिइन्छ । त्यहाँ ६ ओटा थोप्लालाई समीकरणका रुपमा प्रयोग गरिन्छ । भनिन्छ, जुत्ता सिउँदा सुइराले रोप्नेक्रममा लुइ ब्रेलले ब्रेल लिपिको आविष्कार गरेका हुन् । 

म ल्याब स्कुलमा आउँदा नेपाली भाषामा ब्रेल लिपि तयार गर्ने बझाङका स्थायी निवासी जङ्गबहादुर बोगटीजीले ब्रेल लिपि र बेत बाँससम्बन्धी व्यावसायिक शिक्षा शिक्षण गर्नुहुन्थ्यो । उहाँ एउटा ऐतिहासिक व्यक्तित्व हुनुहुन्थ्यो भन्ने त मलाई थाहा थियो तर उहाँलाई देखेको मैले सर्वप्रथम ल्याब स्कुलमा नै हो र उहाँले सयौँ नेपालीहरूलाई प्रज्ञा चक्षु प्रदान गर्नुभयो । 

उहाँसँग जोडिएका धेरै कथाहरू छन् -उहाँका सङ्घर्षका, सफलताका र मनका बहका । तर उहाँ अनवरतरुपमा ब्रेल लिपि, त्यही लिपिमार्फत चेतना वितरणमा लागिरहनु भयो । जीवन पर्यन्त पनि उहाँले शिक्षण पेसा नै अँगाल्नु भयो । सुरुमा उहाँ घरेलु उद्योगमा व्यावसायिक शिक्षाको प्रशिक्षक हुनुहुँदो रहेछ । एउटा दृष्टिविहीनले सायद नेपालमा पहिलो पटक आफ्ना क्षमताले रोजगारी पाएको पनि उहाँले नै होला , त्यसपछि त दृष्टिविहीनहरूका लागि शिक्षा, व्यावसायिक तालिम अनि रोजगारी सहज बनेको पाइन्छ । यसरी ब्रेल लिपि जानेर पनि साधारण तथा व्यावसायिक विषयहरू दृष्टिसहितका साथीहरूसँग एउटै कक्षामा बसेर पढ्ने र त्यो अपूर्व दृश्य हेर्न कतिपय जिल्लाहरूबाट र उपत्यकाका विद्यालयहरूबाट पनि शैक्षिक भ्रमण आउँथे । अहिले पो समावेशी वा समाहित वा समवेत वा एकीकृत शिक्षाको अवधारणा आयो , सायद त्यसको पहिलो श्रेय जङ्गबहादुर दाइलाई नै दिनुपर्छ किनभने जसले जसरी विद्यालय स्थापना गरे पनि उद्योग मन्त्रालयबाट ल्याब स्कुल आएर आजन्म शिक्षक हुनु उहाँको शिक्षाप्रतिको सम्मान र प्रज्ञा चक्षुहरुप्रतिको कर्तव्य पूरा गर्ने पावन उद्देश्य पनि देखिन्थ्यो । 

२०२१ सालमा स्थापना भएको ब्लाइन्ड सेक्सन आज पनि यथावत् छ ल्याब स्कुलमा । अहिले त नेपाल भर विशेष शिक्षा परिषद् वा समाहित शिक्षामार्फत नेपालभर फैलिएको छ र आधारभूत विद्यालयहरूमा प्रत्येक अपाङ्गता भएको विद्यार्थीले शिक्षा पाउनु पर्ने मौलिक हकभित्र नै परेको छ संविधानमा । 

त्यही क्रममा २०४७ सालको सायद संविधान आएपछि होला, एक दिन कृष्णप्रसाद भट्टराईजीलाई मलाई भेटाई दे न अधिकारी भनेर भन्नुभयो जङ्गबहादुर दाइले । अनि मैले बालुवाटारमा गएर उहाँका लागि समय मागेँ र  प्रधानमन्त्री निवासमा नै हुनुहुँदो रहेछ , अनि उहाँले को को मान्छे भनेर मलाई सोध्नुभयो । मैले तपाईँहरूले २०१६सालमा एक जना दृष्टिविहीनलाई रोजगारी दिनु भएको रहेछ सिंह दरबारमा र त्यो मानिस कोही पनि सहयोगी नलिई सिंह दरबारमा ओहोर दोहोर गर्ने रहेछन् । अनि उनका लागि कुनै पासको पनि जरुरत थिएन रे त ?

अनि किसानजीले झट्ट भन्नुभयो- उनै जङ्गबहादुर जी हो बझाङका ? मैले भनेँ - हो किसानजी उहाँ नै हो तपाईँलाई भेट्न चाहनु हुन्छ । उहाँको नाम जङ्गबहादुर बोगटी हो , बिसी मल्ल सरको जिल्लाको । उहाँ अहिले पनि ल्याब स्कुलमा दृष्टिविहीन बाल बालिकाहरूलाई ब्रेल लिपि र बेत बाँस पढाउनु हुन्छ । सक्रिय जीवनमा हुनुहुन्छ । अनि किसानजीले उहाँलाई भोलिपल्ट बिहान नै ल्याउन मलाई अह्राउनु भयो । मैले पनि विद्यालयमा गर्वका साथ भनेँ विद्यालयमा. जङ्गबहादुर दाइलाई त किसानजीले बिर्सनु नै भएको छैन रहेछ । एकान्तमा मलाई जङ्गबहादुर दाइले सोध्नुभयो—ए अधिकारी भाइ, तिमीले मेरो प्रशंसा साँच्चै प्रधानमन्त्रीले भनेर गरेको कि तिमीले भनेर मात्र किसानजीले मलाई चिनेको ? मैले भने —पहिले किसानजीले चिन्नुभयो अनि मैले अझ स्पष्ट पारेको हो दाजु । अनि भोलिपल्ट बिहान विद्यालयकै जिपमा मैले उहाँलाई लिएर गएँ । किसानजी धोती कमिज लगाएर प्रधानमन्त्री निबासको आँगनमा कुरा गर्दै हुनुहुन्थ्यो र मैले उहाँलाई साथमा लिएर गएको देखे पछि परैबाट भन्नुभयो —ओ जङ्गबहादुर जी, नमस्कार है । धेरै वर्षपछि भेट भयो हगि? जङ्गबहादुर दाइ छक्क पर्नुभयो प्रधानमन्त्रीको सम्मान पाएर र करिब ३० वर्षपछि पनि चिनेकोमा । भला कुसारी भयो अनि चिया खाजा खाएर हामी ल्याब स्कुल फर्कियौँ । 

त्यसले के देखाउँछ भने कुनै पनि व्यक्तिले आफ्नो परिचय आफैँले बनाएको हुन्छ । किसानजीलाई के पनि थाहा रहेछ भने जङ्गबहादुर दाइले भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरुको कोटामा देहरादुनमा ब्रेल लिपि र व्यावसायिक तालिम लिनु भएको थियो । सायद त्यो बेलामा आपसमा धेरै छलफल हुन्थ्यो नेताहरूमा र बिपीले पनि त्यो मानिसलाई रोजगारी दिने कुरामा सल्लाह दिनु भएको थियो तत्कालीन शिक्षा मन्त्री परशुनारायण चौधरी र उद्योग मन्त्री रामनारायण मिश्र जीलाई । त्यो बेलामा एक जना मात्र दृष्टिविहीनले रोजगारी पाएको , त्यो पनि भारतबाट तालिम लिएर आएको नेपाली भन्ने धाक पनि रहेछ नेपालमा । 

उहाँले प्रधानमन्त्रीसँग भएका भलाकुसारीका बारेमा पछिसम्म पनि कुरा गर्नु हुन्थ्यो । मैले र बझाङका नेताहरुले दाइलाई  राष्ट्रिय सभामा मनोनीत गराउने पनि कोसिस गरेका थियौँ तर के मिलेन, उहाँको इच्छा थियो पहिलो दृष्टिविहीनले नेपालको सँसदमा प्रवेश गर्ने । अहिले त अपाङ्गता भएका व्यक्तिहरूका लागि आरक्षण पनि छ , त्यो बेलाको संविधानमा रहेको  थिएन । 

त्यही बेलामा हाँस्य व्यङ्ग्यका बेजोड कलाकार केशवबहादुर मानन्धर पनि ल्याब स्कुलमा सङ्गीत शिक्षकको रुपमा नै हुनुहुन्थ्यो , त्यस्तै सङ्गीत तथा नृत्य शिक्षकका रुपमा, सुकराम महर्जन अनि नृत्य र कलाका लागि हुनुहुन्थ्यो चन्द्रावती तुलाधर । उहाँहरूले मन्टेसरी शिक्षाको आधारमा तालिम लिनु भएको रहेछ । 

म ल्याब स्कुल आउँदा पनि अमेरिकी विद्यालय व्यवस्थापनको धेरै चलन बाँकी थियो । प्रत्येक शैक्षिक सत्रको पहिलो हप्ता वर्षभरिको शैक्षिक योजना तयार गरिन्थ्यो शिक्षकद्वारा । शिक्षक धेरै कुरामा स्वतन्त्र थिए । उनीहरूका लागि शैक्षिक सामग्री वितरण गरिन्थ्यो । पहिलो हप्तामा वर्षभरिको योजना बनाइन्थ्यो, तीन त्रैमासिक परीक्षाका लागि प्रश्नपत्रहरु पहिले नै तयार गरिन्थ्यो र मूल्याङ्कन शाखामा तालाबन्दी गरेर राखिन्थ्यो । त्रैमासिक परीक्षाका बेलामा तोकिएको पाठहरू पढाइसक्नै पथ्र्यो । शिक्षक र विभागीय प्रमुखको जबाफदेहीमा प्रश्नपत्रहरु तयार हुन्थे । प्रत्येक कक्षामा योजनाबमोजिम कक्षा सञ्चालन भएको छ कि छैन भनेर सहायक प्रधानाध्यापकसँग त्यो योजना हुन्थ्यो र कहिलेकाहीँ त पाठ पढाएको पनि हेरिन्थ्यो योजनाअनुसार भएको छ कि छैन । यदि योजनाअनुसार भएको छैन भने प्रत्येक महिनाको अन्त्यमा हुने स्टाफ बैठकमा आफैँले मैले योजना अनुुसार यस कारणले प्रगति गर्न सकेको छैन भनेर स्वघोषणा गर्नुपथ्र्यो । यदि आवश्यक भए बिहान वा साँझमा कोचिङ कक्षाको व्यवस्था गरिन्थ्यो । 

त्यो बेलामा काठमाडौँ उपत्यकामा फागुनमा शैक्षिक सत्र सुरु हुन्थ्यो अनि हामी फागुन ७  गते प्रजातन्त्र दिवस मनाउनु भन्दा अघिल्लो दिन शैक्षिक सत्रका लागि विद्यार्थीहरूलाई बोलाउँथ्यौँ किनभने भोलिपल्ट अनिवार्यरुपमा टुँडिखेलमा गइन्थ्यो किनभने प्रजातन्त्र दिवसलाई भव्यताका साथ मनाइन्थ्यो किनभने राजा पनि आफूलाई प्रजातन्त्रवादी भएको  देखाउन चाहन्थे । 

म ल्याब स्कुल आउँदा नयाँ शिक्षा योजना लागेको पनि ५ वर्ष भइसकेको थियो तर लेखा व्यावसायिक विषयमा चाहिँ मैले पढाएका विद्यार्थीहरूले पहिलो पटक एस एल सी दिएका थिए । ४०० पूर्णाङ्कको व्यावसायिक विषय हुन्थ्यो । हाम्रो विद्यालयमा लेखा, सचिवालय विज्ञान, गृह विज्ञान तथा दृष्टिविहीनहरूका लागि मात्र बेत बाँस थियो । पछि दृष्टिविहीनहरूका लागि अरु विषय पनि लिन दिइयो तर सामग्रीको उपलब्धता र सबै दृष्टिविहीन विद्यार्थीहरू होस्टेलमा नै आवासीयरुपमा बस्ने भएकाले राती विना बत्तीमा पनि काम गर्न सकिने भएकाले त्यही  विषय नै लिन्थे । मैले आज पनि सम्झने विद्यार्थीहरू हुन् गोविन्द आचार्य , दीपक कोइराला, कुमार थापा, नरबहादुर लिम्बू, अमृत राई , विजय शैलेन्द्र ढकाल , प्रमेन्द्र ढकाल बाबुकृष्ण महर्जन, शान्ति सिंह आदि । अरु पनि धेरै विद्यार्थीहरू थिए र आज पनि ती विद्यार्थीहरू सामाजिक जीवनमा प्रतिष्ठित छन् । शान्तिजी त त्यही अध्यापन गर्दागर्दै निधन भएको थियो । 

प्रत्येक महिना शिक्षक बैठक हुन्थ्यो । त्यहाँ प्रशासन, विद्यार्थी , शिक्षक तथा शैक्षिक क्रियाकलापको समीक्षा हुन्थ्यो र कतिपय बेलामा त्यो बैठक सँसद जस्तै गरमागरम अनि लामो पनि हुन्थ्यो । खास गरी शैक्षिक समस्याका बारेमा खुलेर छलफल हुन्थ्यो । शिक्षक प्रतिनिधि त्यही बैठकबाट निर्वाचन गरेर पठाइन्थ्यो । त्यहाँ नै मूल्याङ्कन समिति, बस समिति, अतिरिक्त क्रियाकलाप समिति, र आवश्यकता परे अरु पनि समिति शिक्षकहरूबाटै छानिन्थ्यो । त्यहाँ प्राथमिक, निम्न माध्यमिक तथा माध्यमिक अनि पुरुष तथा महिला मिलाएर राखिन्थ्यो । त्यसैले मैले सुरुमै भनेको थिएँ , अमेरिकी विद्यालय व्यवस्थापनको केही झझल्को बाँकी नै थियो । मलाई लाग्छ, जब विद्यालयमा त्यो व्यवस्थापकीय चलन संस्कृति बन्छ , त्यसले निरन्तरता पाई नै रहँदो रहेछ । साँच्चै भन्ने हो भने स्टाफ बैठकमा खुलेर छलफल हुन्थ्यो र मिनी सँसद जस्तै हुन्थ्यो । विषय त सहायक प्रधानाध्यापकले राख्नु हुन्थ्यो तर हाम्रा प्रस्तावहरू गोप्य राखेर हात उठाएर भन्ने गर्थ्यौ। बहस जमेर हुन्थ्यो । कति पटक यस्तो पनि भएको थियो—कति दिनसम्म प्रशासनका मानिसहरू हामीसँग रिसाउँथे पनि किन हाम्रो कुरा उठाएको भनेर । वास्तवमा मैले सम्झन लागेको के हो भने शिक्षकहरू स्वतन्त्र थिए । सायद त्यस्तै वातावरणले नै विद्यार्थीहरूमा स्वतन्त्रताको सन्देश दिन शिक्षक सक्षम हुने हो । त्यो विद्यालयको सबैभन्दा राम्रो विशेषता थियो तलब सरकारी स्केलभन्दा कम दिइँदैन थियो । म २०३६ साल वैशाखमा जाँदा अस्थायी थिएँ , असार १ गते देखि स्थायी भनेर असार ६गते जिल्ला शिक्षा समितिले निर्णय गरेर असार १५गते पत्र पठाएको थियो । 

एउटा प्रसङ्ग —स्थायी र अअस्थायी र अस्थायीको । म त ल्याब स्कुल जाँदा जिल्ला शिक्षा कार्यालयले सरुवा गरेर गएको थिएँ र जिल्ला शिक्षा समितिको बैठकले मलाई स्थायी बनाएको  थियो ,स्थायी नियुक्ति पाए पछि २०३६साल साउन देखि कर्मचारी सञ्चय कोषका लागि तलबबाट १० प्रतिशत र त्यति नै रकम थपेर जम्मा हुन थाल्यो । २०३७सालको चैत्रदेखि ल्याब स्कुललाई निजी क्षेत्रमा धकेलियो र विद्यार्थीहरूको फिसबाट मात्र विद्यालय चलाउनु पर्ने बाध्यता आयो । त्यस बेलामा पनि अन्धा शाखा भनिन्थ्यो दृष्टिविहीनहरूका लागि व्यवस्थित गरिएको शाखालाई , त्यसका लागि विशेष शिक्षा परिषदबाट रकम आउँथ्यो , नत्र अरु सबै रकम विद्यार्थीहरूबाटै उठाएर विद्यालयको खर्च चलाइन्थ्यो । होस्टेल पनि भएकाले आम्दानीको श्रोत त्यो पनि थियो तर होस्टेल चलाउनु पनि त थियो । म जाने बित्तिकै जस्तो एस एल सीको परिणाम आएको थियो र विद्यालयबाट बोर्डमा फस्ट सायद विजयकृष्ण श्रेष्ठ भएका थिए । उनकै दाजु उत्तमाकृष्ण अघिल्लो साल ल्याबबाटै बोर्डमा प्रथम भएका थिए । म गएको साल अर्थात् २०३६सालको एस एल सीमा बोर्डमा छैटौँ भएका थिए चक्रराज पाण्डे र विद्या पराजुली । अहिले तिनै चक्रराज पाण्डे ग्रान्डी अस्पतालका कार्यकारी प्रमुख छन् । 

निजी विद्यालय हुनका लागि त्यो बेलामा पुराना विद्यालयहरू  जस्तै सिद्धार्थ वनस्थली, आदर्श विद्यामन्दिर , भानुभक्त मेमोरियल, सेन्ट मेरिज, सेन्ट  जेभियर आदि विद्यालयहरूले सरकारलाई निजीमा लैजान दबाब दिएका थिए रे भन्थे तर होस्टेल हुनेलाई निजी बनाउने भन्ने मानक बनाएर निजी गराएका थिए । हामी सरकारी नियुक्ति पाएका शिक्षकहरूको के व्यवस्था हुने भन्ने कुनै कुरो थिएन । हामी पढाइरहेका थियौँ, प्रत्येक महिना तलब लिइरहेका थियौँ र अन्योलग्रस्त भविष्य थियो । त्यही बिचमा जति सरकारी शिक्षकहरू थिए तिनको त सेवा सुरक्षा हुनुपर्ने भनेर कराएका हौँ तर पहुँच पुग्नेको सुरक्षा भयो, नत्र अन्योल नै रह्यो । बहुदल आएपछि सबैलाई छनोट गर्न दिइयो त्यही विद्यालयमा बस्ने भए राजीनामा देऊ र सुविधा लेऊ । नत्र खटाएको विद्यालयमा जाऊ । कतिले राजीनामा दिएर सुविधा लिए र ल्याब स्कुलका कतिपय हामीले भने विद्यालयमा खटाउन मन्जुरी दियौँ र ल्याबमा नै बेतलबी काजमा बस्यौँ । अर्थात् त्यही विद्यालयमा अस्थायी, स्थायी , अन्योल अनि काजमा बसियो । अनि २०५७सालमा म र सुनिता गुरुङ मिस त्यहाँबाट हिँड्दा चक्रबहादुर कपाली सर र योगेन्द्रप्रसाद साह मात्र बाँकी हुनुहुन्थ्यो । पछि उहाँहरू पनि अन्यत्र जानु भयो या त्यहीँ बस्नु भयो । 

म त्यही विद्यालयमा हुँदै माध्यमिक दोस्रो श्रेणीमा बढुवा भएको थिए । त्यही बेलामा सुनिता मिसले भने फाराम भर्नु भएन र बढुवा भएन तर अम्बिका शाक्य मिसले भने फाराम भर्नु भयो । तर जब जिल्ला शिक्षा कार्यालयले आफ्नो नम्बर दिने बेला भयो , अम्बिका मिसको कुनै कागजात फेला परेन स्थायी गरेको वा नियुक्तिको । नियुक्ति त उहाँको शिक्षा मन्त्रालयले विराटनगरको बालिका विद्यालयमा पठाएको भेटियो तर स्थायी गरेको केही पनि भेटिएन । कारण थियो उहाँ स्थायी हुनु भएकै रहेनछ । कारण थियो अस्थायी, अस्थायी र स्थायी भन्ने शब्दले गर्दा । मैले उहाँलाई धेरै सहयोग गरेँ मोरङको जिल्ला शिक्षा कार्यालय, काठमाडौँको जिल्ला शिक्षा कार्यालयको अभिलेखहरू हेरेर । विराटनगरबाट सरुवा भएर आउँदा नै उहाँलाई स्थायी लेखेर पठाएकोले काठमाडौँमा सञ्चय कोष कट्टी गर्दा विद्यालय स्थायी सम्झेर नै व्यवहार गरेको देखियो । त्यो बेलामा काठमाडौँमा जिल्ला शिक्षा अधिकारी भरत सिम्खडा सर हुनुहुन्थ्यो र उहाँ मलाई आदरका साथ दाइ भन्नुहुन्थ्यो । अम्बिका मिसलाई मैले सोधेँ—तपाईँको कुनै स्थायी गरेको पत्र छ त ? उहाँले भन्नुभयो मलाई त विराटनगरबाट रमाना हुँदै स्थायी शिक्षिका भनिएको छ । मैले उहाँ विराटनगर गएको र त्यहाँबाट काठमाडौँ सरुवा भएर आउँदा सम्मको जिल्ला शिक्षा आयोग, जिल्ला शिक्षा समितिका अभिलेखहरू हेर्न सहयोग मागेँ । मेरा साथीहरू बलराम केसी त्यो बेलामा अधिकारी हुनुहुन्थ्यो । त्यो बेलामा अम्बिका शाक्यका बारेमा सरुवा गर्ने बाहेक कुनै अभिलेख देखिएन । बरु रमानामा के भएको रहेछ भने नेपाली भाषी अधिकारीले मैथिली भाषी टाइप गर्ने कर्मचारीलाई भनेका रहेछन्—अस्थायी शिक्षिका अम्बिका शाक्य । अनि टाइप गर्नेले स्थायी शिक्षिका अम्बिका शाक्य लेखेछन् । अहिले पनि हाम्रो मधेसतिर अस्थायी भनेपछि अस्थायी बुझिन्छ अनि अस्थायी भनेपछि स्थायी बुझिन्छ । अस्थायी भनियो तर लेखियो स्थायी । त्यो कुराको सम्भावना देखिए पनि हामीले फाराम भर्दा त अम्बिका मिसको फाराम भरिएन नै तर उहाँको करिब १९ वर्षको सेवा अवधिको के गर्ने भन्ने र काटिएको सञ्चय कोष के गर्ने भन्ने समस्या आयो । हुन त उहाँ ल्याब स्कुलमा हुनुहुन्थ्यो तर सरकारी सेवा बापतको सुविधा पाउने सम्भावना नहुने भयो । अनि मैले उहाँलाई नेपाल शिक्षक सङ्घको तर्फबाट के सहयोग गरेँ भने  तत्कालीन शिक्षा सचिव जयराम गिरी  सरसँग सहयोग मागेँ अनि उहाँले क्याबिनेटसम्म लगेर अनि पछि मन्त्री स्तरीय निर्णय गराएर नियुक्ति पाएको  मितिदेखि नै स्थायी मान्ने निर्णय गराउनु भयो । त्यस्ता करिब २०० शिक्षकहरूको हामीले अभिलेख दियौँ र सबैको एकै पटक एकमुष्ट निर्णय गरियो । भर्खर विद्यालय किताब खाना खुलेको थियो र तत्कालीन विद्यालय किताब खानाका प्रमुख लोकप्रसाद उपाध्यायले त्यसै अनुसारको समाधानको उपाय खोजेर क्याबिनेट पठाउन शिक्षा सचिवलाई अनुरोध गर्नु भएको थियो हाम्रो अनुरोधमा । शिक्षक सङ्घको अनुरोधमा । पछि अम्बिका मिसको स्थायी शिक्षक भएको पत्र प्राप्त भयो अनि उहाँ ल्याब स्कुलबाट उहाँ सरुवा भएर कान्ति ईश्वरी राज्य लक्ष्मी मावि प्यानलमा जानु भयो र त्यहीँबाट उहाँले सेवा निवृत्त हुनु भएको थियो । अरु अनुभव आगामी बेलामा प्रस्तुत गर्नेछु । क्रमशः