यसरी ल्याइँदै छ तातोपानी नाका सञ्चालनमा

यसरी ल्याइँदै छ तातोपानी नाका सञ्चालनमा

लोकसंवाद संवाददाता  |  समाचार  |  बैशाख १५, २०७६

सिन्धुपाल्चोक । चार वर्षदेखि बन्द चीन जोड्ने उत्तरको प्रमुख व्यापारिक नाका तातोपानी आगामी जेठभित्रै सञ्चालनमा ल्याउन सरकारले आन्तरिक तयारी तीव्र बनाएको छ। तातोपानीको लार्चामा निर्माणाधीन अत्याधुनिक सुक्खा बन्दरगाह हस्तान्तरण हुनासाथ नाका सञ्चालनमा आउने उद्योग तथा वाणिज्य मन्त्रालयले जनाएको छ।

‘बन्द नाका व्यापारिक रुपले सञ्चालनमा ल्याउन मन्त्रालयले तयारी थालिसकेको छ,’ मन्त्रालयका प्रवक्ता सहसचिव नवराज ढकालले शुक्रबार नागरिकसँग भने, ‘बन्दरगाह नेपाललाई हस्तान्तरण हुनासाथ नाका सञ्चालनमा आउँछ।’ चीन सरकारको सहयोगमा निर्माण अन्तिम चरणमा पुगेको बन्दरगाह आउँदो मे २० (जेठ ६ गते) भित्र हस्तान्तरण गर्ने जानकारी उसले पठाइसकेकाले नाका सञ्चालनको तयारी थालिएको ढकालले बताए।

२०७२ वैशाख १२ गतेको विनाशकारी भूकम्पपछि यो व्यापारिक नाका बन्द छ। बन्दरगाह हस्तान्तरण भएपछि नाका सञ्चालनमा ल्याउने सहमित यसअघि नै नेपाल–चीनबीच भइसकेको प्रवक्ता ढकालले जानकारी दिए। विभिन्न उच्चस्तरीय भेटमा चिनियाँ अधिकारीले मे ३१ (जेठ १७) बाट नाका औपचारिक रुपमा सञ्चालनमा ल्याउन आफूहरुले तयारी थालेको बताउँदै आएका छन्। आजको नागरिक दैनिकमा खबर छ ।