अफगान सेनाको कारबाहीमा छ जना लडाकूको मृत्यु

अफगान सेनाको कारबाहीमा छ जना लडाकूको मृत्यु

लोकसंवाद संवाददाता  |  विदेश  |  जेठ ९, २०७८

एजेन्सी ।  अफगान सेनाले पूर्वी लोगार प्रान्तमा गरेको हवाई आक्रमणमा कम्तीमा छ जना तालिबानी लडाकूको मृत्यु भएको छ । 
सेनाले गरेको उक्त आक्रमणमा अरु चार जना घाइते भएको अफगान रक्षा मन्त्रालयले पुष्टि गरेको छ । 

सेनाले जारी गरेको विज्ञप्तिमा राजधानी काबुलभन्दा करिब ६० किलोमिटर दक्षिणका मोहम्मद आघा र बाराकी बाराक जिल्लामा अफगान वायुसेनाले शनिबार आक्रमण गरेको र त्यसक्रममा स्थानीय तालिबान नेताको पनि मृत्यु भएको उल्लेख छ । 

तालिबान लडाकू लुकेर बसेको भरपर्दो सूचनाका आधारमा हवाई आक्रमण गरिएको र त्यसबाट कोही पनि निर्दोश व्यक्ति हताहत नभएको सेनाले दाबी गरेको छ । 

अफगानी तालिबान समूहले राजधानी र प्रमुख शहर बाहिरका जिल्लामा पछिल्लो पटक हिंसात्मक भिडन्तहरु जारी राखेका छन् ।  
पछिल्ला विवरण अनुसार अफगानिस्तानका ४०७ जिल्लामध्ये १५ वटामा तालिबानको नियन्त्रण छ भने ४० वटा जिल्लालाई तालिबानले नियन्त्रण लिने प्रयास गरिरहेको छ । 

संयुक्तराज्य अमेरिका र नेटोका फौजले अफगानिस्तान छाड्नै लाग्दा अफगानिस्तानभित्र हिंसाका घटनामा पुनः बढ्न थालेका छन् ।