लिललाई लिग वानको उपाधि, पिएसजी उपविजेतामै सिमित

लिललाई लिग वानको उपाधि, पिएसजी उपविजेतामै सिमित
football

लोकसंवाद संवाददाता  |  खेलकुद  |  जेठ १०, २०७८

काठमाडौं । लिलले फ्रेन्च लिग वानको उपाधि जितेको छ । गएराति भएको खेलमा एन्गर्सलाई २-१ले पराजित गर्दै लिलले उपाधि उचालेको हो । साविक विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी)लाई १ अंकले पछि पार्दै लिल च्याम्पियन बनेको हो । 

खेलको दशौं मिनेटमा जोनाथन डेविडको गोलबाट लिलले अग्रता लिएको थियो । पहिलो हाफको इन्ज्युरी समयमा बुराक यिल्माजले गोल गर्दै लिलको अग्रता दोब्बर पारे । त्यसपछि इन्ज्युरी समयमा एन्जेलो फुगीलिनीले गोल गर्दै एन्जर्सलाई खेलमा फर्काउने कोसिस गरेपनि २-१ले विजयी हुँदै लिलले उपाधि उचाल्यो । योसँगै लिलले चौथो पटक लिग वानको उपाधि उचालेको हो ।

साविक विजेता पिएसजी भने उपाधिबाट वञ्चित भएको छ । गएराति भएको खेलमा पिएसजीले  ब्रेस्टमाथि २-०को जित निकालेको थियो । तर, १अंकले पछि पर्दा च्याम्पियन बन्न सकेन । लिलले लिगको ३८ खेलमा ८३ अंक जोडेको छ भने पिएसजीको ८२ अंक छ ।