विपक्षी गठबन्धन आज सर्वोच्च जाँदै

विपक्षी गठबन्धन आज सर्वोच्च जाँदै
court

लोकसंवाद संवाददाता  |  समाचार  |  जेठ १०, २०७८

काठमाडौं । परमादेशमार्फत शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन र प्रतिनिधिसभा विघटनको विपक्षमा रहेका विपक्षी गठबन्धन आज सवोच्च अदालत जाँदैछन् । 

राष्ट्रपति विद्यादेवी भण्डारीले केपी शर्मा ओलीलाई प्रधानमन्त्रीमा निरन्तरता दिएर प्रतिनिधिसभा विघटन गर्ने खेलमा असंवैधानिक रूपमा संलग्न भएको भन्दै विपक्षी गठबन्धनले सामुहिक रिट दिन लागेको हो । 

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमालेको माधव नेपाल पक्ष, जनता समाजवादी पार्टीको उपेन्द्र यादव पक्ष र राष्ट्रिय जनमोर्चाले राष्ट्रपति कार्यालय र प्रधानमन्त्रीलाई विपक्षी बनाएर रीट दायर गर्न लागेका हुन् ।

सो रीटमा संविधानको धारा ७६ को ५ अनुसार प्रतिनिधिसभाका बहुमत सदस्यहरु देउवालाई प्रधानमन्त्री बनाउन तयार रहेकोले वैकल्पिक सरकार गठनको सम्भावना जीवितै रहेको दावी गरिएको छ ।

उनीहरु हिजै (आइतबार) सर्वोच्च अदालतमा जाने तयारीमा रहेपनि एमालेका माधव नेपाल पक्षका सांसदहरूको हस्ताक्षर जुट्न नसकेको र अन्य तयारी पनि नपुगेकाले आज अदालत जान लागेका हुन् । जसका लागि विपक्षी गठबन्धनका लागि सबै सांसदलाई अदालतमै उपस्थित हुन भनिएको छ ।