विवाहमा छुवाछूत र भेदभाव प्रकरण : माफी माग्दै सामूहिक भोज गर्ने सम्झौता

विवाहमा छुवाछूत र भेदभाव प्रकरण : माफी माग्दै सामूहिक भोज गर्ने सम्झौता

लोकसंवाद संवाददाता  |  समाचार  |  बैशाख १५, २०७६

रूपन्देही । रूपन्देहीको शुद्धोधन गाउँपालिकामा कथित गैरदलित समुदायले विवाह भोजमा सहभागी नभई जातीय भेदभाव गरेको घटनाको मिलापत्र भएको छ। दक्षिणा दिएर भोज नखाई फर्केका कथित गैरदलितहरूले पीडित परिवारसँग माफी माग्दै सामूहिक भोज गर्ने सम्झौता गरेपछि विवाद टुंगिएको हो।

वैशाख ५ गते शुद्धोधन गाउँपालिका–५ फर्साटिकरस्थित आरती विकको विवाहको निम्तो मान्न आएका राजनीतिक तथा सामाजिक अगुवाहरुले दक्षिणा दिएर भोज नखाई जातीय भेदभाव गरेका थिए। यस विषयमा समाचार प्रकाशन भएपछि यो घटनामा संलग्नलाई कारबाहीको माग चर्को रूपमा उठेको थियो। गाउँपालिकाको न्यायिक समितिले शुक्रबार रातिसम्म दुवै पक्षलाई छलफलमा राखेर भोज नखाई फर्केका गैरदलितले माफी माग्दै अब आइन्दा यस्ता घटना हुन नदिने र आफू पनि छुवाछूतविरुद्धको अभियानमा सामेल हुने सम्झौता गरी घटनालाई मिलापत्रमा टंग्याइएको हो।

गाउँपालिकाका अध्यक्ष किसुनचन्द्र चौधरी, उपाध्यक्ष एवं न्यायिक समिति संयोजक शान्तादेवी ज्ञवाली, जनप्रतिनिधि, जातीय छुवाछूत तथा भेदभाव अध्ययन अनुगमन समितिका सदस्य तथा दलित अधिकारकर्मीको रोहबरमा जातीय भेदभाव गरिएको ठहर गरिएको हो। जातीय छुवाछूत कानुनी रूपमा दण्डनीय रहेको तर समाजमा मेलमिलाप कायम गर्नुपर्ने र दुवै पक्षका रायका आधारमा न्यायिक समितिले मिलापत्र गराएको अध्यक्ष किसुनचन्द्रले बताए। उनले गाउँपालिका छुवाछूतमुक्त घोषणा भइसकेको तर व्यवहारमा त्यस्तो नदेखिएकाले अबदेखि यस्ता घटना हुन नदिने प्रतिबद्धता जनाएको बताए। आजको नागरिक दैनिकमा खबर छ ।