नौ लाख युवा रोजगारविहीन

नौ लाख युवा रोजगारविहीन

लोकसंवाद संवाददाता  |  समाचार  |  बैशाख १५, २०७६

काठमाडौं । बर्सेनि नयाँ र पुराना गरी श्रम स्वीकृति लिएर ६ लाख युवा वैदेशिक रोजगारीमा जाने गरेको बेला स्वदेशमा बेरोजगार युवाको संख्या नौ लाख रहेको तथ्य फेला परेको छ।

केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको श्रमशक्ति सर्वेक्षण अनुसार नेपालमा नौ लाख आठ हजार युवा बेरोजगार छन्। तीमध्ये पाँच लाख ११ हजार पुरुष र तीन लाख ९७ हजार महिला रहेको विभागले जनाएको छ। श्रम बजारमा उपलब्ध युवाको संख्या भने ८० लाख छ। विभागले श्रम तथ्यांकको पछिल्लो परिभाषा अनुसार एक सातामा एक घण्टा पनि ज्याला पाउने कुनै काम तथा नाफा, नोक्सान बेहोर्ने गरी सञ्चालित कुनै पनि व्यवसायमा संलग्न नभएकालाई बेरोजगारको सूचीमा राखेको छ।

श्रमशक्ति सर्वेक्षण अनुसार बेरोजगारी दर ११.४ प्रतिशत छ। यसअघि सन् २००८ मा बेरोजगारी दर २.८ प्रतिशत र सन् १९९८ मा १.९ प्रतिशत थियो। मुलुकमा १५ वर्षभन्दा बढी उमेरका दुई करोड सात लाख ४४ हजार जनसंख्या छ। त्यसमध्ये ७९ लाख ९४ हजारको संख्यामा श्रमशक्ति बजारमा उपलब्ध छ। यीमध्ये झन्डै ४५ लाख वैदेशिक रोजगारीमा रहेको तथ्यांक छ। बाँकी श्रमशक्तिबाट मुलुकमा रोजगारी पाएका ६२.२ प्रतिशत अनौपचारिक क्षेत्रमा काम गर्छन्। आजको नागरिक दैनिकमा खबर छ ।