गाउँगाउँमा अक्सिजनसहितको आइसोलेसन केन्द्र तयार

गाउँगाउँमा अक्सिजनसहितको आइसोलेसन केन्द्र तयार
isolation

लोकसंवाद संवाददाता  |  स्वास्थ्य  |  जेठ ११, २०७८

ओखलढुङ्गा । जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या बढेपछि गाउँ गाउँमा अक्सिजनसहितको आइसोलेसन केन्द्र तयार पारिएको छ । स्थानीय तहले आफ्नो क्षेत्रभित्रका सङ्क्रमित नागरिकलाई राखेर उपचार गर्न अक्सिजनसहितको आइसोलेसन केन्द्र तयार पारेका हुन् । 

जिल्लाको सुनकोशी गाउँपालिकाले च्यानम स्वास्थ्य चौकीमा १० शैय्याको आइसोलेसन केन्द्र सञ्चालनमा ल्याएको छ । समुदायस्तरमा कोरोना सङ्क्रमितको सङ्ख्या दिनहुँ बढ्दै गएपछि सङ्क्रमितलाई पालिकाभित्रै राखेर उपचार गर्ने उद्देश्यले सुनकोशीले अक्सिजनसहितको आइसोलेसन केन्द्र सञ्चालनमा ल्याएको गाउँपालिका अध्यक्ष रुद्रप्रसाद अधिकारीले जानकारी दिनुभयो । 

आइसोलेसन केन्द्रमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएका बिरामीलाई स्वास्थ्यकर्मीको निगरानीमा राखिने गरिएको छ । ‘‘पालिकाले आफ्नै स्रोत र साधनबाट अक्सिजनसहितको आईसोलेसन केन्द्र तयार गरेको छ । सम्भव भएसम्म हामी सबै सङ्क्रमितलाई स्वास्थ्यकर्मीको निगरानीमा राखेर सङ्क्रमण मुक्त बनाउनेछौं’’, अध्यक्ष अधिकारीले भन्नुभयो । लक्षण नदेखिएपनि सङ्क्रमण पुष्टि भएकालाई होम आइसोलेसनमा बस्ने वातावरण नभए समुदायमा फैलिन नदिन आइसोलेसन केन्द्रमै राखिने अध्यक्ष अधिकारीले बताउनुभयो । 

गाउँपालिका—७ च्यानम स्वास्थ्य चौकीमा अक्सिजन सिलिन्डर र दुई वटा कन्सन्टे«टसहितको १० शैय्याको आइसोलेसन केन्द्र तयार गरिएको छ । पालिकाले गाउँमै अक्सिजनसहितको आइसोलेसन तयार गरेपछि स्थानीय खुसी भएका छन् । यसअघि सुनेकाशीका सङ्क्रमितलाई जिल्ला सदरमुकामस्थित ओखलढुङ्गा सामुदायिक अस्पतालको आइसोलेसनमा ल्याउनुपर्ने बाध्यता थियो । 

घरघरै जस्तो कोरोनाको सङ्क्रमित भएको जिल्लाको मोलुङ गाउँपालिकाले रामपुरमा ७ शैय्याको आइसोलेसन तयार गरेको छ । जिल्लामा सबैभन्दा पहिलो बढी सङ्क्रमित भेटिएको  मोलुङमा दुई वटा अक्सिजन कन्सनट्रटेरसहित सात शैय्याको आइसोलेसन बनाइएको गाउँपालिकाका सूचना प्रविधि अधिकृत गोपाल नेपालले बताउनुभयो । उहाँका अनुसार गाउँपालिकाले सङ्क्रमितलाई अस्पताल लैजानुपरेमा तत्काल उद्धार गर्ने उद्देश्यले सवारी साधन तयारी अवस्थामा राखेको छ । 

मोलुङमा ६५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । त्यसमध्ये एकको मृत्यु भइसकेको छ भने एक जना झापाको विएण्डसी अस्पतालमा उपचाररत छन् । अन्य ६३ जना आ–आफ्नै घरमा बसिरहेका छन् । खिजीदेम्बा गाउँपालिकाले पालिकाको केन्द्र खिजीफलाटेमा आइसोलेसन केन्द्र सञ्चालनमा ल्याएको छ । 

कोभिड अस्पताललाई थप व्यवस्थित बनाउने र थप आइसोलेसन व्यवस्थापन गरेर नागरिकलाई सेवा शुरु गरिएको खिजीदेम्बाका प्रमुख प्रशासकीय अधिकृत सुवास पौडेलले बताउनुभयो । खिजीदेम्बाका वडाहरुमा समेत जनप्रतिनिधिको सङ्क्रमितको व्यवस्थापन गर्न थालिएको छ । जिल्लाका अन्य स्थानीय तहले पनि धमाधम आइसोलेसन कक्ष तयार गरिरहेका छन् ।