मध्य र पश्चिम तराईमा ‘लु’

मध्य र पश्चिम तराईमा ‘लु’

लोकसंवाद संवाददाता  |  समाचार  |  बैशाख १५, २०७६

वैशाख । एक सातादेखि मध्य तथा पश्चिम तराईका जिल्लामा गर्मी बढेसँगै ‘लु’ (तातो हावा) चल्न थालेको छ। मध्य तराईका जनकपुर, बारा, पर्सा, पश्चिम तराईका बाँके, रूपन्देही, कैलालीलगायत जिल्ला गर्मीसँगै तातो हावा चल्न सुरु गरेको हो। गर्मीका कारण यहाँको जनजीवन प्रभावित भएको छ। दिउँसो ‘लु’ चल्नाले गर्मीमा हिँडडुल गर्न र खुला आकाशमुनि काम गर्न समस्या भएको स्थानीयले बताएका छन्।

नेपालगन्जको तापक्रम साताको पहिलो दिनदेखि नै बढेको छ। साताको पहिलो र दोस्रो दिन ८ र ९ गते ३७ दशमलव ६ डिग्री रहेको अधिकतम तापक्रम बढेर चौथो दिन ३९ दशमलव ५ डिग्री सेल्सियस हुँदै छैटौं दिन ४१ डिग्री सेल्यियससम्म पुगेको छ। यो क्रम बढ्दै साताको अन्तिम दिन शनिबार तापक्रम ४१ दशमलव २ डिग्री सेल्सियससम्म पुगेको जल तथा मौसम विज्ञान विभागअन्तर्गत हावापानी फिल्ड कार्यालय नेपालगन्ज राँझाका फिल्ड इन्चार्ज अखिलेशप्रसाद चौरसियाले जानकारी दिए।

नेपालगन्ज भौगोलिक हिसाबले समुन्द्री सतहदेखि १ सय ५८ मिटर उचाइमा रहेको छ। यहाँको तापक्रम विगत चार÷पाँच वर्षको अन्तरालमा फेरबदल हुँदै आएको छ। सन् २०१३ मा नेपालगन्जको अधिकत तापक्रम ४१ डिग्री सेल्सियस र २०१४ मा ४१ दशमलव ८ डिग्री सेल्सियस कायम रहेको फिल्ड इन्चार्ज चौरसियाले जानकारी दिए। उनका अनुसार २०१५ मा भने यहाँको तापक्रम घटेर ३८ दशमलव ६ डिग्री सेल्सियस कायम रहेको थियो। त्यस्तै २०१६ मा बढेर ४२ दशमलव २ डिग्री सेल्सियस पुगेको थियो। २०१७ मा ४१ दशमलव १ र २०१८ मा ३८ दशमलव ६ डिग्री सेल्सियस तापक्रम मापन गरिएको हावापानी फिल्ड कार्यालय नेपालगन्ज राँझाको फिल्ड कार्यालयले जनाएको छ। आजको नागरिक दैनिकमा खबर छ ।