स्वार्थको भर्‍याङ र अध्ययनको खडेरी ! कर्तव्यको कसीमा बौद्ध दर्शन
असतो मा सदगमय

अधिकारलाई आधुनिक र कर्तव्यलाई प्राचीन अवधारणाको रूपमा लिने गरेको पाइन्छ । अधिकारलाई पश्चिमी र कर्तव्यलाई पूर्विय अवधारण मानिन्छ । विशेषतः पूर्विय समाज प्राचीन समय धर्म वा धार्मिक मूल्य–मान्ययताबाट निर्देशित र परिचालित भएको देखिन्छ । अहिले पनि कानुन र व्यवहारमा धर्मको प्रभाव परिरहेकै छ । तत्कालीन अवस्थामा धर्म भन्नु नै कानुन थियो ।

मानिसले गर्न हुने र गर्न नहुने कार्यहरूको बारेमा विभिन्न धर्मग्रन्थहरूमा विवेचना गरिएको पाइन्छ । जसमा कसले के–कस्तो कर्तव्य निर्वाह गर्नुपर्ने हो, सो नगरेवापत उत्पन्न हुने परिणामको  सम्बन्धमा पनि प्रकाश पारिएको छ । कर्तव्य पालना गरे वापत अधिकार प्राप्त हुन्छ । कर्तव्यमा अडिएमा स्वर्ग र त्यसभन्दा बाहिर गएमा नर्क छिरिन्छ भन्ने पुरानो धार्मिक मान्यता वर्तमानमा पनि कुनै न कुनै तरतम्यता रहिआएको छ । आधुनिक समयमा मानव अधिकारसम्बन्धी दस्तावेजहरूमा अधिकारलाई बढी स्थान देखिएको कर्तव्यलाई गौण मानिएको जस्तो देखिए पनि कर्तव्यविना अधिकार सम्भव छैन । विशेषतः शिक्षित भनिएको समुदायमा अध्ययनको खडेरी, स्वार्थको भर्‍याङ चढ्ने आदि मनोवत्तिले समाजलाई अधोगतितिर लगिरहेको छ । 

विभिन्न धर्महरूमा कसले कस्ता कार्य गर्ने भन्नेबारेमा उल्लेख गरिएको छ । विभिन्न धर्महरूमध्ये बौद्ध धर्मलाई शान्ति र अहिंसाको प्रतिक मानिन्छ । अन्यमा झैँ यस धर्ममा पनि आ–आफ्नो तर्फबाट निर्वाह  गर्नुपर्ने कर्तव्यको बारेमा चर्चा–परिचर्चा गरिएको छ । यहाँ बौद्ध धर्मले अवलम्बन गरेको कर्तव्यको पाटोलाई खोतल्न खोजिएको छ । समाज अहिले बरालिएको परिवशेमा यी कुराहरू उत्तिकै मननीय र सान्दर्भिक पनि देखिन्छन् । 

अतः हामीले बुद्धको भजन फलाकिरहेका छौँ । पूजा गरिरहेका छौँ, बुद्धजस्ता महान् धर्तिमा कोही पनि छैन भनिरहेका छौँ । जम्माजम्मी नगरेको कार्य भनेको असल पक्षलाई व्यवहारमा मात्र नउतारको हो । यतिचाहिँ गरौँ, जुन कार्य उहाँप्रतिको सच्चा सम्मान र आफूले निर्वाह गर्ने कर्तव्य हुनेछ । 

वास्तवमा धर्म र कर्तव्य आपसमा पूरक मानिन्थे । बौद्ध धर्म पनि कर्तव्यको सेरोफेरोमा रहेको पाइन्छ । अधिकारमुखी पद्धति हाबी भइरहेको हालको परिवेशमा तत्कालीन अवस्थामा उल्लिखित कर्तव्यहरू अहिले पनि उत्तिकै सान्दर्भिक देखिन्छन् । जसमा आमाबाबुप्रति छोराछोरीको, छोराछोरीप्रति आमाबाबुको, गुरुप्रति शिष्यको, शिष्यप्रति गुरुको कर्तव्य के हुने भन्ने सम्बन्धमा उल्लेख छ । त्यसै गरी स्वास्नीप्रति लोग्नेको, लोग्नेप्रति स्वास्नीको, मित्र अमात्यप्रति, मित्र अमात्यको, नोकर र सहयोगीप्रति मालिकको, मालिकप्रति नोकर सहयोगीको कर्तव्य सम्बन्धमा व्यवस्था गरिएको छ । जसलाई निम्नानुसार उल्लेख गरिएको छ । 

आमाबाबुप्रति छोराछोरीको कर्तव्य

(१) भरणपोषण गर्नु (२) कृतज्ञ भएर काम गरिदिनु (३) कुलवंश रक्षा गर्नु (४) अंशभाग रक्षा गर्नु र (५) पुन्यानुमोदन गर्नु ।

छोराछोरीप्रति आमाबाबाको कर्तव्य

(१) पापबाट बचाउनु(२) पून्य कार्यमा लगाउनु  (३) शिल्प विद्या सिकाउनुु (४) समयमा विवाह गराइदिनु र (५) अंशभाग दिनु ।

स्वास्नीप्रति लोग्नेको कर्तव्य

(१) सम्मान गर्नु (२) अपमान नगर्नु (३) अतिचार नगर्नु (४) ऐश्वर्य प्रदान गर्नु र (५) अलङ्कार प्रदान गर्नु ।

लोग्नेप्रति स्वास्नीको कर्तव्य

(१) कामकाज राम्ररी गर्नु (२) परिजन (सहयोगी) वशमा राख्नु (३) अतिचारिणी नहुनु (४) सम्पत्तिको रक्षा गर्नु र(५) निलालसी भई काम गर्नु ।
नोकर र सहयोगीप्रति मालिकको कर्तव्य

१) शक्ति अनुसार काम दिनु (२) भोजन ज्याला दिनु (३) रोगी हुँदा सेवा गर्नु (४) उत्तम खाद्य वस्तु दिनु र (५) समय–समयमा छुट्टी दिनु ।

मालिकप्रति नोकर सहयोगीको  कर्तव्य

(१) मालिकभन्दा अगाडि उठ्नु (२) मालिकभन्दा पछाडि सुत्नु (३) दिएको मात्र लिनु (४) राम्ररी काम गर्नु र (५) मालिकको कीर्ति प्रशंसा गर्ने हुनु ।

गुरुप्रति शिष्यको कर्तव्य

(१) उथ्थान (तत्परता) गर्नु  (२) उपस्थान (सेवा) गर्नु (३) सुश्रुषा गर्नु र (४) परिचय गर्नु (सत्कारपूर्वक शिल्प गर्नु) ।

शिष्यप्रति आचार्यको कर्तव्य
(१) सुविनय बनाउनु  (२) राम्ररी शिल्प विद्या सिकाउनु (३) आफ्नो विद्यालाई स्थायित्व गराउन शिल्प श्रृतविद्या सिकाउनु (४) मित्र अमात्यको सुप्रतिपादन गर्नु र (५) दिशाको सुरक्षा गर्नु  

मित्र अमात्यप्रतिको कर्तव्य

(१) दान दिनु (२) प्रिय वचन बोल्नु (३) अर्थचर्या गर्नु (४) समान व्यवहार गर्नु (५) विश्वासपात्र हुनु । 

मित्र अमात्यको कर्तव्य

(१) प्रमादमा रक्षा गर्नु (२) सम्पत्तिको रक्षा गर्नु (३) भयभित हुँदा रक्षक बन्नु (४) आपतकालमा नछाड्नु र (५) अन्यले पनि सत्कार गराउनु ।

श्रमण बाह्मणप्रति गृहस्थको कर्तव्य

(१) मैत्रीयुक्त चित्तले सेवा गर्नु (२) मैत्रीयुक्त वचन बोल्नु (३) मैत्रीयुक्त कायिक कर्म गर्नु (४) दान गर्नु र (५) श्रद्धाले स्वागत गर्नु ।

श्रमण बाह्मण्को गृहस्थप्रति कत्र्तव्य

(१) पापबाट बचाउनु (२) धर्ममा लगाउनु (३) अनुकम्पा गर्नु (४) अश्रृत विद्या सुनाउनु (५) श्रुत विधामा दृढता जगाउनु र (६) सुगति मार्ग बनाउनु ।
                                                                                (भदन्त सम्यक् सम्बोधि प्राणसूत्र, सम्यक संस्कार, सुखी हेतु नेपाल, बुद्ध विहार, भुकृटीमण्डप, पृ. १२८–१३०, २०६०)

अहिले व्यापारी वर्ग आलोचित बनिरहेको छ । सामान्य अवस्था होस् वा महामारी एकथरीले लुट्नुलाई आफ्नौ आदर्श मानेका छन् । जसरी हुन्छ, कमाउनु, थुपार्नु, सत्ता वा नेतृत्वको आडमा कुकृत्यलाई अनुमोदन गराउनु वा ढाकछोप गर्नु दैनिकीजस्तो बन्न पुगेको छ । बुद्धले व्यापारमा गर्दा वा जिविका गुजाराको लागि कस्ता वस्तुहरू बेचबिखन गर्नुहुँदैन ? ती वस्तुहरूको बिक्री गर्नु कर्तव्यबाट च्यूत हुनु हो भन्ने लगायतका विविध पक्षमा आफ्नो दृष्टिकोण पस्केका छन्, जुन अहिले पनि उत्तिकै सान्दर्भिक, मननीय एवम् व्यवहारिक छन् । व्याख्या गर्ने क्रममा गलत जिविकाको बाटो अवलम्बन नगर्न सही मार्ग समाती व्यवसायिक धर्म अवलम्बन गर्दै वा जीवन गुजारा गर्न उनले प्रेरित गरेका छन् ।

जसअन्तर्गत व्यापारमार्फत गरिने पाँच किसिमका कमाइ बुद्धको हेराइमा अयोग्य मानिन्छन् । बौद्ध वाङ्मयमा उल्लेख भएअनुसार सम्यक् आजीविका अन्तर्गत मुख्यतः पाँच विषयहरू पर्दछन् । ती हुन्— (१) सत्थ वणिज्जा अर्थात काटमार गर्ने शस्त्र–अस्त्र बनाई वा बनाउन लगाई त्यसको क्रय–बिक्रय गर्नु र गराउनु हुन्नँ, (२) दास वणिज्जा अर्थात् सत्वप्राणीहरू विशेषतः मानिसहरू क्रय–बिक्रय गर्नु र गराउनु हुन्नँ, (३) सत्त वणिज्जा अर्थात् हिंसा गर्न वा हिंसा गरी मासु क्रय–बिक्रय गर्नु र गराउनु हुन्नँ, (४) मज्ज वणिज्जा अर्थात् अम्मल–पदार्थ जाँड, रक्सी, गाँजा, अफिमजस्ता कनुै पनि नशालु पदार्थहरू क्रय–बिक्रय गर्नु र गराउनु हुन्नँ, (५) बिष वणिज्जा अर्थात् कुनै प्रकारको विषालु पदार्थ बनाई वा बनाउन लगाई त्यसको क्रय–बिक्रय गर्नु र गराउनु हुन्नँ । ( मानन्धर नानीमैया (अनु), मग्गङ्ग दीपनी (काठमाडौँ गंगा लक्ष्मी धाख्वासहित, २०४२), पृ. ५४) यस अतिरिक्त व्यापारका क्रममा गरिने ठगीलाई पनि बुद्धले अपराध मानी निषेधमा जोड दिएको पाइन्छ । जसभित्र तराजुको ठगी, ढकको ठगी, घूस, वञ्चना, कृतघ्नता, कुटिलता, छेदन, वध, बन्धन, डाका, लूटपाटको जीविकालाई समावेश गरिएको छ । (उपाध्याय बलदेव, बौद्ध दर्शन मीमांसा, चौखम्बा विद्याभवन, वाराणसी, पृ. ५१, १९९९)

बौद्ध दर्शनले व्यक्तिका कर्तव्यलाई मात्र खोतलेको छैन । शासक एवम् व्यवसायिक वर्गका कर्तव्यलाई पनि उत्तिकै प्राथमिकताका साथ उल्लेख गरिएको छ । धर्म र न्यायको आधारमा राजाले फैसला गर्नुपर्ने, निर्णय हतारमा होइन, निकै सोचविचारका साथ गर्नुपर्छ, अन्यथा सही निर्णय  हुन नसकी न्याय मर्न सक्छ भन्नेमा जोड दिएको छ । जातक कथामा यस्ता प्रशस्तमात्रामा यसबारे चर्चा गरिएको छ । 

अतः हामीले बुद्धको भजन फलाकिरहेका छौँ । पूजा गरिरहेका छौँ, बुद्धजस्ता महान् धर्तिमा कोही पनि छैन भनिरहेका छौँ । जम्माजम्मी नगरेको कार्य भनेको असल पक्षलाई व्यवहारमा मात्र नउतारको हो । यतिचाहिँ गरौँ, जुन कार्य उहाँप्रतिको सच्चा सम्मान र आफूले निर्वाह गर्ने कर्तव्य हुनेछ ।