प्राधिकरणले भन्यो बाढी, पहिरो र डुबानको जोखिम क्षेत्रका बस्ती सार्नु, हिमाल आरोहणका लागि गएको टोलीलाई फिर्ता बोलाउनु

प्राधिकरणले भन्यो बाढी, पहिरो र डुबानको जोखिम क्षेत्रका बस्ती सार्नु, हिमाल आरोहणका लागि गएको टोलीलाई फिर्ता बोलाउनु

लोकसंवाद संवाददाता  |  समाचार  |  जेठ १३, २०७८

काठमाडौं । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शक्तिशाली चक्रवातका कारण पुग्नसक्ने क्षतिबाट बच्न आग्रह गरेको छ । बस्ती नजिक बाढी, पहिरो, डुबान जोखिम आंकलन गरी सुरक्षाकर्मी एवम् गाउँपालिकासँगको समन्वयमा सुरक्षित स्थानमा सर्न प्राधिकरणले आग्रह गरेको छ ।

पर्वतारोहणका लागि हिमालतिर गएको टोलीलाई तुरुन्त फिर्ता बोलाउन पनि प्राधिकरणले आग्रह गरेको छ । नदी, खोला किनार एवम् पहिरो आसपास बसोबास गर्ने बासिन्दा सतर्क अवस्थामा रहनुपर्नेबारे सञ्चार माध्यममार्फत सचेत गराउनु पर्ने बताउँदै प्राधिकरणले आफ्नो आसपासको ठाउँमा बाढी, पहिरो, डुबान, कटानको जोखिम देखिए सुरक्षा निकाय, पालिका एवम् जिल्ला विपद् व्यवस्थापन समितिलाई खबर गर्न भनेको छ ।

“पहाडमा भू–क्षय र पहिरो एवम् तराईमा बाढी आउन सक्ने सम्भावना दृष्टिगत गरी हरेक जिल्लामा सुरक्षा निकाय, विपद् व्यवस्थापनमा संलग्न सरकारी एवम् गैरसरकारी निकाय र विषयगत क्षेत्रलाई उच्च सतर्क अवस्थामा राख्नु पर्छ,” प्राधिकरणले प्रेस नोट जारी गर्दै भनेको छ, “सम्भावित वर्षा एवम् बाढीबारे थाहा पाउन जल तथा मौसम विज्ञान विभागको टोल फ्री नम्बर ११५५ मा फोन गर्नुपर्छ ।”

तत्काल खोज, उद्धार र राहतको लागि राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रको टोल फ्री नम्बर ११४९ मा फोन गर्न आग्रह गरेको प्राधिकरणले विपद्को समयमा जेष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, महिला, बालबालिकाको विशेष ध्यान दिन पनि अनुरोध गरेको छ ।  

प्राधिकरणले चक्रवातका कारण बाढी, पहिरोको जोखिम बढेको भन्दै आजबाट शनिबारसम्म सतर्क रहन भनेको छ ।

“देशमा धेरैजसो भागमा पानी पर्ने सम्भावना देखिएको छ । पश्चिमी बंगालको खाडीमा विकसित भएको जलवायुको प्रभाव र शक्तिशाली चक्रवात यास् समुद्रबाट जमिनतर्फ प्रवेश गरिसकेको छ । र उक्त चक्रवात उत्तर–उत्तरपश्चिम सर्ने क्रममा छ,” प्राधिकरणले भनेको छ, “ त्यसले केही दिन नेपालको मौसममा असर पर्ने हुँदा आवश्यक सतर्कता अपनाउन हुन सबैमा अनुरोध छ ।”