हतियार बनाउने २२०० वर्ष पुरानो कारखाना फेलापर्यो

हतियार बनाउने २२०० वर्ष पुरानो कारखाना फेलापर्यो

लोकसंवाद संवाददाता  |  समाचार  |  बैशाख १५, २०७६

काठमाडौं, एजेन्सी 

हतियार बनाउने २२०० वर्ष पुरानो कारखाना फेला परेको छ । पुरातत्वविद्ले उक्त कारखाना पाकिस्तानमा फेला पारेका हुन् । पेशावरको हायाताबाद नजिक उक्त कारखाना फेला परेको हो । 

यो कारखाना इशापूर्वको आखिरी दुई शताब्दीमा पाकिस्तानमा राज गरेको इंडो ग्रीक शासन कालको हुन सक्ने मानिएको छ । त्यसबखत इंडो ग्रीक मूलका मानिसहरु अफगानिस्तानबाट पेशावर आएका थिए। उनीहरुले त्यहाँ १५० वर्ष राज गरेका थिए ।  

पेशावर विश्वविद्यालयका पुरातत्वविद्ले तीन वर्षदेखि हायाताबादमा उत्खनन गरिरहेका छन् । उत्खननमा संलग्न  प्रोफेसर गुल रहीमका अनुसार इंडो ग्रीक कालको केही सिक्काहरु पनि उत्खननका दौरान फेला परेका छन् । 

पाकिस्तानको डान अखबारका अनुसार फलाम पगाल्ने भाँडो, चक्कु तथा खुर्पा जस्ता हतियार  फेला परेको आधारमा यस स्थानमा हतियार कारखाना रहेको अनुमान गरिएको हो । 

पेशावरमा पहिलो पटक इंडो ग्रीक समयको व्यवस्थित हतियार कारखानाको खोजी भएको हो ।

पुरातत्वविद्का अनुसार उक्त कारखाना तीन भागमा बाँडिएको थियो । जसमध्ये  एउटा भागमा फलाम पगाल्ने भट्टी थियो जसमा धनुष, वाण तथा तरवार बनाउने गरिन्थ्यो ।