जिल्ला अस्पताललाई अक्सिजन कन्सन्ट्रेटर र सिलिण्डर हस्तान्तरण

जिल्ला अस्पताललाई अक्सिजन कन्सन्ट्रेटर र सिलिण्डर हस्तान्तरण

लोकसंवाद संवाददाता  |  स्वास्थ्य  |  जेठ १३, २०७८

बैतडी । बैतडीको दशरथचन्द नगरपालिकाले जिल्ला अस्पताललाई एक थान अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गरेको छ । अस्पतालमा अक्सिजनको अभाव भएको खबर बाहिर आएपछि अक्सिजन कन्सन्ट्रेटर खरिद गरेर अस्पताललाई हस्तान्तरण गरेको नगरपालिकाले जनाएको छ ।

कोरोनाका बिरामीको उपचारका लागि सहज होस् भनेर अक्सिजन कन्सन्ट्रेटर खरिद गरेर अस्पताललाई हस्तान्तरण गरेको नगरपालिकाका उपप्रमुख मीना चन्दले बताउनुभयो । 

अस्पतालका प्रमुख डा वसन्तराज जोशीका अनुसार अस्पतालमा अहिले १४ थान अक्सिजन कन्सन्ट्रेटर रहेकामा नौवटा कोरोनाका बिरामीको उपचारमा प्रयोग भइरहेका छन् ।

यसैबीच नेपाल इञ्जिनीयर्स एशोसिएशन सुदूरपश्चिम प्रदेश कार्यकारिणी समितिले जिल्ला अस्पताल बैतडीलाई १५ थान अक्सिजन सिलिण्डर भरेर हस्तान्तरण गरेको छ । अस्पतालका खाली सिलिण्डर नेपालगञ्जबाट भरेर अस्पताललाई हस्तान्तरण गरिएको हो । एशोसिएशनले भरेर पठाएका सिलिण्डर दशरथचन्द नगरपालिकाका इञ्जिनीयर जयसिंह बोहराले अस्पतालका प्रमुख डा वसन्तराज जोशीलाई हस्तान्तरण गर्नुभएको हो ।

अस्पतालमा हाल साना–ठूला गरेर ३१ वटा अक्सिजन सिलिण्डर छन् । पछिल्लो समय अस्पतालमा कोरोनाका सङ्क्रमितको सङ्ख्या घट्दै गएकाले तत्कालका लागि अक्सिजनको अभाव नरहेको अस्पतालले जनाएको छ । अस्पतालमा हाल चार जनामात्रै कोरोनाका बिरामी भर्ना छन् ।  जिल्लामा हालसम्म कोरोनाका कारण १४ जनाको मृत्यु भएको छ भने ७०० सक्रिय अवस्थामा रहेका स्वास्थ्य कार्यालयले जनाएको छ ।
 
राससका बैतडी समाचारदाता विनोदसिंह विष्टले आफ्नो जन्मदिनमा गरिने फजुल खर्च कटाएर शहीद दशरथचन्द स्मृति प्रतिष्ठानको अगुवाइमा जारी सहयोग सङ्कलन अभियानमा सहयोग गर्नुभएको छ । जिल्ला अस्पताल बैतडीमा अक्सिजन अभाव रहेको भन्दै प्रतिष्ठानले सहयोग सङ्कलन अभियान सञ्चालन गरेकोमा दुई हजार ८२९ प्रतिष्ठानको खातामा विष्टले जम्मा गर्नुभएको हो 

जेठ २ गतेदेखि सञ्चालन गरिएको अभियानमा हालसम्म आठ लाख ६२ हजार ९५९ सङ्कलन भइसकेको प्रतिष्ठानले जनाएको छ । उक्त सङ्कलित रकम अक्सिजन आपूर्तिलगायतमा खर्च भइरहेको उक्त अभियानमा संलग्न अभियान्ता महेश भट्टले बताउनुभयो ।