कोरोना सङ्क्रमितलाई निःशुल्क पोषणयुक्त खाना

कोरोना सङ्क्रमितलाई निःशुल्क पोषणयुक्त खाना

लोकसंवाद संवाददाता  |  समाचार  |  जेठ १३, २०७८

डोटी । कोरोना सङ्क्रमिणका बिरामीले पोषणयुक्त खानेकुरा नपाउँदा ज्यान जाने गरेको खबर आइरहेका बेला जिल्लामा कार्यरत सम विकास केन्द्र ९इडिसी० नामक एक गैरसरकारी संस्थाले यहाँका कोरोना सङ्क्रमितलाई पोषणयुक्त खानाको व्यवस्था गरेको छ । 

उक्त संस्थाले जिल्ला अस्पतालको आइसोलेशनकक्षमा भर्ना भएका कोरोना सङ्क्रमितलाई २१ दिनसम्म पोषणयुक्त खाना खुवाउने व्यवस्था मिलाएको छ । संस्थाले यही जेठ ११ गतेदेखि कोरोना सङ्क्रमितलाई पोषणयुक्त खाना खुवाउन थालेको कार्यक्रम संयोजक केशव परियारले बताउनुभयो । 

विदेशी दातृ निकाय एक्शन एड नेपालसँगको सहकार्यमा उक्त संस्थाले आइसोलेशनमा भर्ना भएका सङ्क्रमित तथा उनीहरुका कुरुवाका लागि खानाको व्यवस्था मिलाएको जिल्ला अस्पतालले जनाएको छ । अस्पतालभित्र रहेको क्यान्टिन र सम विकास केन्द्रबीच सम्झौता भएअनुसार क्यान्टिन सञ्चालकले प्रत्येक दिन रु ५० को बिहानको नास्ता, फलफूल तथा रु १३० को बिहानको खाना दिने गरेका छन् ।

यसैगरी रु ५० को दिउँसोको नास्ता, फलफूल तथा साँझको रु १३० को खाना गरी बिरामी र प्रत्येक बिरामीका एक कुरुवासमेतलाई उक्त खानेकुरा प्रदान गरिँदै आएको छ । संस्थाले यही जेठ ३१ गतेसम्म आइसोलेशनमा जे–जति सङ्ख्यामा बिरामी आए पनि ती बिरामी र उनीहरु प्रत्येकका एक कुरुवाको खाना तथा नास्ताको व्यवस्था मिलाइएको छ ।

बडिकेदार गाउँपालिका अध्यक्ष चन्दलाई पत्नी शोक

बडिकेदार गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर चन्दलाई पत्नी वियोग परेको छ । अध्यक्ष चन्दकी श्रीमती डम्मरीदेवी चन्दको ६२ वर्षको उमेरमा बडिकेदार–५ लानाकेदारेश्वरको तिखेढुङ्गास्थित आफ्नै निवासमा आज बिहान निधन भएको हो । लामो समयदेखि फोक्सोमा समस्याका कारण उहाँको स्वास्थ्य अवस्था सामान्य रहे पनि आज बिहान ५ः०० बजे एक्कासी समस्या बल्झिएर करिब साढे ७ः०० बजेको समयमा उहाँको निधन भएको गाउँपालिकाले जनाएको छ ।