बेगुसरायमा कन्हैया तेस्रो नम्बरमा

बेगुसरायमा कन्हैया तेस्रो नम्बरमा

लोकसंवाद संवाददाता  |  समाचार  |  बैशाख १५, २०७६

भारतमा तीन चरणको निर्वाचनमा अहिलेसम्म ३०३ लोकसभा सिटका लागि मतदान भइसकेको छ । भोलि सोमवार २९ अप्रिलमा चौथो चरणको निर्वाचन हुन गइरहेको छ ।

बेगुसराय। सात चरणमा हुन गइरहेको भारतीय चुनाव मध्यान्तरमा पुगेको छ । भोलि चौथों चरणका लागि ९ राज्यको ७१ लोकसभा सिटका लागि मतदान हुनेछ ।

चौंथो चरणमा विहारमा ५, झारखण्डमा ३, मध्यप्रदेशमा ६, महाराष्ट्रमा १७, उडिसामा ६, उत्तरप्रदेशमा १३, राजस्थानमा १३, पश्चिम बंगालमा ८ र जम्मू–कश्मिरमा १ सिटका लागि मतदान हुनेछ ।

भोलि हुने निर्वाचनमा सबैभन्दा ‘हट केक’ सिट विहारको बेगुसराय बनेको छ । यँहाबाट जेएनयु विद्यार्थी संघ पूर्वअध्यक्ष कन्हैया वामपन्थी उम्मेदवार हुन् । भारतका वामपन्थी बुद्धिजीवीले बेगुसराय पुगेर कन्हैयाको पक्षमा मतदान गर्ने अपिल गरेका छन् ।

बेगुसरायमा प्रतिष्पर्धा त्रिपक्षीय छ । भारतीय जनता पार्टीको तर्फबाट केन्द्रिय मन्त्री गिरिराज सिंह छन् भने महागठबन्धनको तर्फबाट लालुप्रसाद यादवको दल आरजेडीले मुस्लिम नेता तनवीर हसनलाई प्रतिस्पर्धामा उतारेको छ । 

कन्हैया कुमार र गिरिराज सिंह यस क्षेत्रबाट पहिलो पटक चुनाव लड्दैछन् भने तनवीर हसनले २०१४ को निर्वाचनमा बेगुसरायबाट नै चुनाव लडेका थिए । उनले सन् २०१४ को निर्वाचनमा ३६९८९२ मत पाएर दोस्रो स्थानमा चित्त बुझाउनु परेको थियो ।

यसैगरी वामपन्थी उम्मेदवार राजेन्द्र प्रसाद सिंहले करिव एक लाख ९० हजार मत पाएर तेस्रो बनेका थिए । भाजपाका भोलासिंह चार लाख २८ हजार २२७ मत प्राप्त गरी विजयी भएका थिए ।

बेगुसरायका स्थानीय राधव मिश्र भन्छन्, ‘कन्हैया कुमारले सन् २०१४ मा वामपन्थी उम्मेदवारले पाएको एक लाख ९० हजार मत पनि पाउन प्राप्त गर्न पनि गाह्रो छ ।’

बेगुसरायका सिटमा करिव १९ लाख मतदाता छन् । जातीगत मतमा १९ प्रतिशत भूमिहार, १५ प्रतिशत मुस्लिम, १२ प्रतिशत यादव, र ६ प्रतिशत कुर्मी मतदाता रहेका छन् । निर्वाचनमा भूमिहार र मुस्लिम मतदाताको मत निर्णयक हुनेछ । भाजपाका गिरिराज र कम्युनिस्ट उम्मेदवार कन्हैया क्मार दुवै भूमिहार जातिका हुन् ।

कन्हैया कुमारको भूमिका आफू जित्नेभन्दा गिरिराज र तनवीर हसनमध्ये कसको मत बढी काट्नेमा सीमित छ । उनले मुस्लिम मत पाएको खण्डमा गिरिराजको जित निश्चित छ । त्यसैगरी उनले भूमिहार भोट बैंकमा सेंध ल्याउन सके तनवीर जसनको जित हुनेछ । 

– एजेन्सीको सहयोगमा