‘रगत नपाए भक्तपुर जानू’ रेडक्रस सोसाइटी भक्तपुर

‘रगत नपाए भक्तपुर जानू’ रेडक्रस सोसाइटी भक्तपुर

लोकसंवाद संवाददाता  |  समाज  |  जेठ १४, २०७८

भक्तपुर ।  ‘रगत नपाए भक्तपुर जानू’ भन्ने उक्तिका साथ रक्तसञ्चार सेवा सञ्चालन गर्दै आइरहेको नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा भक्तपुरले कोभिड महामारीको अहिलेको अवस्थामा रगतको सहज व्यवस्थापनका लागि ‘आकस्मिक घरदैलो रक्तदान अभियान’ सञ्चालन गरिरहेको छ । 

बढ्दो सङ्क्रमणलाई रोकथाम तथा न्यूनीकरणका लागि गत वैशाख १६ गतेबाट गरिएको निषेधाज्ञादेखि नै ब्लड डोनर्स एसोसिएशन ९ब्लोदान०, जिल्लामा रहेका नेपाल रेडक्रसका उपशाखा तथा अन्य सहयोगी सङ्घसंस्थाको सहयोगमा उपत्यकाका तीनै जिल्लाको समुदायस्तरमै पुगी घरदैलो रक्तदान अभियान शुरु गरिएको नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाका सभापति मनोजकुमार थापा बताउनुहुन्छ । 

सभापति थापाका अनुसार आकस्मिक घरदैलो रक्तदान अभियान सञ्चालनका लागि शाखाका मन्त्री परशुराम पाण्डेको संयोजकत्वमा सात सदस्यीय समिति गठन गरिएको छ । 

निषेधाज्ञाको अवस्थामा पनि दैनिक १५० जनाको हाराहारीमा रगत लिन रक्तसञ्चार केन्द्रमा आउने गरेको अभियानका संयोजक एवम् मन्त्री पाण्डेले बताउनुभयो । उहाँका अनुसार दोस्रोपटक शुरु भएको निषेधाज्ञादेखि अर्थात् गत वैशाख १६ गतेदेखि हालसम्म ६३ स्थानमा रक्तदान कार्यक्रम आयोजना भएका छन् ।