जीवन र विश्व जगतमा प्रलय र महाप्रलय: स्वभाविकतालाई अस्वाभाविकता मानेर  खेपी रहेको अर्को चोट !
जेठ १४, २०७८

हरेक मानिसको कोही न कोही साथी अवश्य हुन्छ। मानिसको मात्र नभई जीव र वनस्पतिको पनि साथी हुन्छ। साथी बिनाको मानिस प्रायः हुँदैन। तर साथी कस्ता कस्ता हुन्छन् भन्ने कुरा निकै महत्त्वपूर्ण हुन्छ। जन्मिने बित्तिकै आमा बुवा पहिलो साथी हुन्छन्। त्यसपछि परिवारका सदस्यहरू निकटका साथी हुन्छन्। क्रमिक रूपले आफन्त, छिमेकी, हितैषी र शुभेच्छुकहरू साथी बन्न आई पुग्छन् । उमेरको उकालो चढ्दै गए पछि सङ्ख्यात्मक रूपमा साथीहरूको ठुलो चौतारो मानिसको जीवनमा स्वाभाविक रूपमा बनी हाल्छ। त्यस चौतारोमा कोही लामो समयसम्म बस्छन् भने कोही छोटो समयमै उठेर हिँडी हाल्छन्। कोही आफ्नो स्वार्थको हतारले र कोही परिस्थितिको बाध्यताले हिँड्छन्। 

शाब्दिक अर्थका रूपमा साथी भनेको एकसाथ रहने, सँगसँगै काम गर्ने, कुनै पनि काममा सहयोग गर्ने, कठिन अवस्थामा मद्दत गर्ने र सुख दुःखमा साथसाथै हिँड्ने प्राणी नै साथी हो। बाल्य अवस्थादेखि वृद्ध अवस्थासम्म पुग्दा कति साथी बन्छन् र कति छुटी सकेका हुन्छन्। एउटा नयाँ साथी बन्नु र भएको साथीसँग साथ छुट्नु नियतिको खेल जस्तै हो। जिन्दगीको कठिन बाटोमा पनि असल साथीहरू कहिल्यै छुट्दैनन् भने खराब साथीहरू कुनै पनि गोरेटोमा पुगेर छुटी हाल्छन्। साथी तिनीहरू मात्र हुन् जो असामान्य परिस्थितिमा बाहेक कहिल्यै छुट्दैनन्।

भगवान् रामका विभीषण, कृष्णका अर्जुन र सुदामा, हनुमानका सुग्रीव, कर्णका दुर्योधन तथा कार्ल मार्क्सका फ्रेडरिक एङ्गेल्स असल साथी थिए। उनीहरू साथी मध्येका ऐतिहासिक उदाहरणीय पात्र हुन्। जसले सधैँ भरि साथ निभाउने कसम खाएर साथी बन्छ, त्यो असल साथी हो। तर जसले स्वार्थ, लोभ, डाह र ईर्ष्या पिएर साथी बन्छ त्यो साथी नै हैन। स्कुल, कलेज, कार्यालय वा आफ्नो व्यावसायिक संस्थामा अनेक साथी बन्छन् र बनाउनु पर्छ तर ती सधैँ स्थायी रहन सक्दैनन्। कतिपय कामको सिलसिलामा बनेका साथीहरू कामसँगै बिदा हुन्छन् । तर मनैदेखि साथी बनेकाहरू सधैँ कायमै रहन्छन्। खास गरी किशोर र युवावस्थामा बनेका साथीहरू मुटुभित्रै गढेर बसेका हुन्छन्। उनीहरूलाई बिर्सन, बेवास्ता गर्न र बिछोडिन निकै कठिन हुन्छ। जब यस्तो अवस्था आउँछ तब मन विचलित हुन्छ। साथीको गुण, धर्म र विशेषता कुनै न कुनै रूपमा सँगै रहनु हो। त्यो भौतिक वा मानसिक जुनसुकै रूपमा पनि हुन सक्छ।

हामी त्यो स्वभाविकतालाई अस्वाभाविकता मानेर अर्को चोट खेपीरहेका हुन्छौँ। बुझेर होस् वा नबुझेर, हामी एउटै चोट खेप्दा हुनेमा दोहोर्‍यार तेहेर्याएर खेप्छौँ। जुन सुकै कुराको पनि साथ छुट्छ। यसमा कुनै शङ्का मान्नु पर्दैन। तर नियतले वा नियतिले भन्ने कुरा चाहिँ राम्ररी बुझ्नु पर्दछ। नियति स्वाभाविक हुन्छ तर नियत हाम्रो बद्नियतले हुन्छ। जीवनमा बद्नियत छाडौँ, नियति हाम्रो हातमा छैन। 

हाम्रो जीवनमा मात्र होइन सम्पूर्ण जगत् र ब्रह्मान्डको जीवनमा पनि साथीको स्वाभाविक निर्भरता रहन्छ। ब्रह्मान्डको साथी भनेको उसको गुण, विशेषता, आयु, रूप र सार हो। जगत् र ब्रह्मान्डका यस्ता चेतन वा अचेतन साथी अर्थात् तिनीहरूका नैसर्गिक गुणहरू हराउँदै गए भने त्यहाँ पनि विचलन सुरू हुन्छ। साथी रुपी यस्ता गुणहरूले आफ्नो साथ छाडे भने जगत्, ब्रह्माण्ड, प्रकृति, सृष्टि र विकासको प्रक्रियासम्म एक प्रकारको विचलन पैदा हुन्छ। हाम्रो वास्तविक जीवन, ब्रह्माण्ड, परमाणु र त्यो भन्दा सानो भागसम्म हुनु पर्ने अनिवार्य गुणको साथ छुट्यो भने एउटा विग्रह सुरु हुन्छ। त्यस्तो विग्रहले प्राणी जीवनलाई यो जगत्को साथबाट छुटाइ दिन्छ भने विश्व जगतको साथबाट धेरै कुरा खोसेर प्रलयलाई निम्ता दिन्छ। जसरी मुनाको साथबाट मदन, लैलाको साथबाट मजनु र रोमियोको साथबाट जुलियट छुटेर उनीहरूको जीवनमा प्रलय आएको थियो। त्यसरी नै असल प्रेमी, शुभेच्छुक, सहयोगी र मद्दतगार छुट्दा हाम्रो जीवनमा पनि प्रलय जान्छ र गइरहेको पनि छ।

दार्शनिक रूपमा विश्व जगत् र मानव जीवनका केही सामान्य नियमहरू प्रायः एकै किसिमका हुन्छन् । ब्रह्मान्डका गुण र विशेषता आदिले उसको साथ छाड्दा जसरी कुनै न कुनै प्रकारको प्रलय आउँछ । त्यसरी नै मानिसको जीवनमा पनि खास किसिमको साथ छुट्यो भने प्रलय सरह बिछोड र पीडा हुन आउँछ। तर त्यसको अस्तित्व, रूप, सार र प्रभाव फरक खालको हुन्छ।  भनिन्छ कि, डाइनासोर भन्ने जीवको अस्तित्व समाप्त हुँदा उच्च तापबाट बच्न पृथ्वीमा खाडल भित्र बस्न सक्ने केही जीवहरू मात्र बाँचेका थिए। सायद उच्च तापको साथ छुटेपछि डाइनासोर यो लोकमा रहन सकेन। तर ताप कम भएको खाडलको साथ पाउने जीवहरू जीवितै रहन सफल भए। आमा बुवाको भौतिक साथ रहेन भने केटाकेटी टुहुरा हुन्छन् । प्रेमी वा प्रेमिकाले छाडे भने प्रेम समाप्त हुन्छ। साथीले धोका दिएमा साथ समाप्त हुन्छ। राजनीतिमा अन्तर्घात भए विजय समाप्त हुन्छ। विचारबाट आत्म विश्वास हरायो भने असफलता मात्र बाँकी रहन्छ। अगाडि हिँड्नेले हात दियो भने सजिलै माथि पुग्न सकिन्छ। पछाडि हिँड्नेले खुट्टा तान्यो भने सजिलै उक्लिन सकिने ठाउँ भए पनि अवश्य लडिन्छ। 

पूरा ब्रह्माण्ड होस् वा सामान्य जीवन प्रायः नियमहरू उस्तै उस्तै हुन्छन्। बाहिरी दुनियाँमा जे देखिन्छ त्यति मात्र अस्तित्व होइन। अस्तित्व देखिने, सुनिने र हेरिने कुरा मात्र हैन। नदेखिने, नसुनिने र नहेरिने कुराको पनि अस्तित्व हुन्छ। कतिपय पूर्वीय र पाश्चात्य दर्शनहरूले अभावलाई पनि पदार्थको रूपमा स्वीकार गरेको कुराबाट यसको पुष्टि हुन्छ। वैशेषिक दर्शनले अभावलाई पनि एउटा पदार्थ मानेको छ। साथै कतिपय पश्चिमी दर्शनले दिमागमा आएको कुनै अभावको विचारलाई पदार्थ मानेको छ।

यता एउटा सामान्य जीवनलाई नै हेरौँ न, मनमा कति अभाव, अपूर्णता र सुख दुःखका विचार आउँछन्। हामी कसैलाई छुटाउँछौँ वा कोही हामीबाट छुट्छ। तब मनमा त्यसको कति अभाव महसुस हुन्छ। साथी, प्रेम, माया, आफन्त र मन परेको कुनै पनि कुरा छुट्यो भने त्यसकै अभावले हाम्रो आँखै अगाडिका सबै कुरा देखेर पनि देखिँदैनन्। केवल देखिन्छ त त्यही अभाव मात्रै। यो कोरोना महामारीकै कुरा गरौँ, कति आफन्त र प्रिय मानिस हामीले गुमाइ सकेका छौँ। यति बेला महामारी देखिँदैन तर गुमाउनु परेकाहरूको अभाव मात्र देखिन्छ। चोट लागे पछि हरदम दुख्छ तर चोट दिने ढुङ्गालाई उतै छाडेर आए पनि सराप्न कहाँ छाडिन्छ र ! मानौँ यी अभावहरू हाम्रा साथी नै हुन् ।

आत्माबाट मनलाई, मनबाट कल्पनालाई, कल्पनाबाट प्रेमलाई र प्रेमबाट साथीलाई त्यागी दिनुस्, जीवनमा ठुलो प्रलय आउँछ। त्यसरी नै विश्व जगतले उसको गुण, गुणबाट सृष्टि, सृष्टिबाट क्रमिक विकास, विकासबाट संवृद्धि र सम्बृद्धिबाट भौतिकता त्यागी दियो भने महाप्रलय आउँछ। जीवन र जगत् साना ठुला प्रलयहरूको उत्पादन हो । यो प्रकृतिको नियम पनि हो । कुनै पनि आवश्यक गुण र विशेषताको साथीले छाडि दिए पछि यस्तो प्रलय रूपी परिवर्तनको चोट लाग्नु स्वाभाविक हुन्छ। तर हामी त्यो स्वभाविकतालाई अस्वाभाविकता मानेर अर्को चोट खेपीरहेका हुन्छौँ। बुझेर होस् वा नबुझेर, हामी एउटै चोट खेप्दा हुनेमा दोहोर्‍यार तेहेर्याएर खेप्छौँ। जुन सुकै कुराको पनि साथ छुट्छ। यसमा कुनै शङ्का मान्नु पर्दैन। तर नियतले वा नियतिले भन्ने कुरा चाहिँ राम्ररी बुझ्नु पर्दछ। नियति स्वाभाविक हुन्छ तर नियत हाम्रो बद्नियतले हुन्छ। जीवनमा बद्नियत छाडौँ, नियति हाम्रो हातमा छैन।